ad ad

राजनीति


राष्ट्रपतिमा प्रचण्डबाट सहयोग मिल्ने आश गरेको कांग्रेस झस्कियो

प्रधानमन्त्रीको राष्ट्रिय सहमति प्रस्ताव अलपत्र, कांग्रेससँग कुरा अघि बढेन
राष्ट्रपतिमा प्रचण्डबाट सहयोग मिल्ने आश गरेको कांग्रेस झस्कियो

फाइल तस्बिर


केशव सावद
माघ ६, २०७९ शुक्रबार २०:२२, काठमाडौँ

संवैधानिक निकायका पदहरु राष्ट्रिय सहमतिमै मिलाउनुपर्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै प्रस्तावमा किंकर्तव्यबिमुढ देखिएका छन्। 

प्रतिपक्षमा रहेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समेत विश्वासको मत पाएपछि हौसिँदै माघ ३ गतेको सर्वदलीय बैठकमा गरेको राष्ट्रिय सहमति प्रस्ताव कार्यान्वयनमा किंकर्तव्यविमूढ देखिएका हुन्। 

पुस २६ गते विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको चयनका लागि दलहरुबीच सहमतिमा गर्नुपर्ने प्रस्ताव गरेका थिए।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले सहमतिमै चयन गर्न कांग्रेस पनि सकारात्मक देखिएको थियो। 

‘प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अगाडि बढ्न सकिने कुरा राख्नुभयो,’ बालुवाटार बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले भनेका थिए, ‘सबै दलको र सबै नेपाली जनताको संस्था र नेता भएर बस्नुपर्ने पदहरुमा छलफल गर्न तयार छौँ भनेका छौँ।’

संघीय संसदमा कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा र प्रमुख प्रतिपक्षकै रुपमा रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने बताएको उनको भनाइ थियो। 

तर, प्रधानमन्त्री प्रचण्ड आफैँले राष्ट्रिय सहमति जुटाएर पद बाँडफाँट गर्न दलहरुसमक्ष राखेको प्रस्तावलाई कार्यान्वयनमा लैजान सत्ताबाहिरका दलहरुसँग छलफलै नगरेपछि कांग्रेस झस्किएको छ।

राष्ट्रिय सहमतिमा जोड दिइरहेका प्रधानमन्त्री प्रचण्डले सभामुख चयनअगाडि कांग्रेससँग कुनै छलफल नगरेको मुख्य सचेतक लेखकले बताए। उपसभामुख चयन प्रक्रिया सुरु भइसक्दा पनि राष्ट्रिय सहमतिका लागि प्रचण्डबाट कुनै पहल नभएको उनको भनाइ थियो। 

‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीजीले चारवटा पद राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भनेर प्रस्ताव राख्नुभएको थियो,’ सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति बैठकपछि लेखकले भने, ‘सहमतिका लागि छलफल गर्न हामी तयार छौँ भनेका थियौं। तर, त्यो छलफल हामीसँग सभामुखमा पनि भएन। आज उपसभामुखमा पनि भएको छैन।’ 

सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे विजयी भइसकेपछि बिहीबार पनि संसद भवनबाहिर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चुनावमा सबै दलहरुबीच सहमति भए राम्रो हुने बताएका थिए।

‘सभामुखको निर्वाचन सत्ता साझेदार एकै ठाउँमा उभियौँ। हामी सत्ता साझेदार एकै ठाउँ उभिएर जितायौँ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि उठायो। तर, विजयी बहुमतले घोषणा भयो।’

प्रधानमन्त्रीले राष्ट्रपतिका लागि अझै समय बाँकी रहेको भन्दै समझदारी बने राम्रो हुनेसमेत उल्लेख गरेका थिए। प्रधानमन्त्रीसँग कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर कुरा गरे पनि दुई पक्षबीच संस्थागत रुपमा यसबारे कुनै प्रगति हुन नसेकको हो।

‘राष्ट्रपतिको कुरामा अझै समय बाँकी छ,’ उनले भने, ‘हामी अझै कोसिसमा छौँ। सत्ता साझेदार र अन्य दलबीच पनि समझदारी भए हुन्थ्यो। मैले पनि एउटा कुनै समझदारी बने हुन्थ्यो भनिरहेका छौँ।’

प्रधानमन्त्री प्रचण्ड अझै पनि राष्ट्रिय सहमतिको कुरा गरिरहनु भएको छ नि, के यो सम्भव छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा कांग्रेस मुख्य सचेतक लेखकको भनाइ थियो, ‘अब भविष्यमा हुन्छ कि हुँदैन हामी हेर्छौं।’

राष्ट्रिय सहमति कांग्रेसको नाममा कि अन्य दलको नाममा भनेर पनि सञ्चारकर्मीले उनीसमक्ष जिज्ञासा राखेका थिए। ‘सहमति भनेपछि कुराकानी गर्दा जे पनि होला,’ जवाफमा मुख्य सचेतक लेखकले प्रतिप्रश्न गरे, ‘तर, सबै एउटा दलका नाममा त नहोला नि त। होइन र?’ 

उता एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सहमति भए एमालेकै नाममा सहमति हुनुपर्ने अडानमा देखिन्छन्। बिहीबार संघीय संसदले सभामुख चयन गरिसकेपछि बाहिरिने क्रममा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका थिए। 

‘राष्ट्रपतिमा सहमति हुनुपर्छ। म पनि सहमतिकै पक्षमा छुु,’ ओलीले भने, ‘तर, एमालेले जसलाई राष्ट्रपति पदमा उठाउँछ, त्यमसै राष्ट्रिय सहमति हुनुपर्छ। अरु दायाँबायाँ सहमतिको अर्थ छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .