ad ad

राजनीति


संघदेखि प्रदेशसम्म कांग्रेस खालीहात, देउवाविरुद्ध पार्टीभित्रै घेराबन्दी सुरु

संघदेखि प्रदेशसम्म कांग्रेस खालीहात, देउवाविरुद्ध पार्टीभित्रै घेराबन्दी सुरु

केशव सावद
पुस ११, २०७९ सोमबार १८:३८, काठमाडौँ

सत्ता गठबन्धन जोगाउन नसक्दा नेपाली कांग्रेसले एकातिर संघदेखि प्रदेशसम्मका सबै पदहरु गुमाउनु परेको छ भने अर्कातिर सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्रैबाट घेराबन्दी सुरु भएको छ। छैठौं कार्यकाल प्रधानमन्त्री भएरै छाड्ने सभापति देउवाको हठका कारण कांग्रेसले पोल्टामा परिसकेको राष्ट्रपतिसँगै प्रदेश सरकारमा पाइने सबै पद गुमाएको छ।

राष्ट्रपति र प्रधानमन्त्री पद आफैँले राखेर सर्वशक्तिमान बन्ने ध्याउन्नमा रहेका सभापति देउवाका कारण कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा समेत प्रतिपक्षमा पुग्ने निश्चितप्रायः छ। पार्टीभित्रको दबाब भनेर उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि कांग्रेस अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुख लगायतका पदबाट बञ्चित हँुदैछ। 

नयाँ सत्ता समीकरणसँगै कांग्रेसले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र उपसभामुखलगायतका पद पनि गुमाउँदैछ। सत्ता साझेदार दल माओवादी केन्द्र एकाएक नेकपा एमालेसँगको समीकरणमा गएका कारण अब कांग्रेस सात वटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएको छ। 

अब यी सबै पदहरुमा एमाले नेतृत्वको गठबन्धनमा समेटिएका दलहरुबीच भागबण्डा हुनेछ। प्रदेश–१ को सबैभन्दा ठूलो दल एमालेलाई सरकार बनाउन ७ सिट अभाव थियो। नयाँ समीकरणमा आएको माओवादी केन्द्रसँग यहाँ १३ सिट भएकाले अब सजिलै सरकार बन्नेछ। 

९३ सदस्यीय प्रदेश सभामा एमालेसँग ४० सिट छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ र जनता समाजवादी पार्टी (जसपा) सँग एक सिट छ। आइतबार बनेको नयाँ राजनीतिक समीकरणले प्रदेशसम्म निरन्तरता पाए २९ सिट भएको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुको विकल्प छैन।

एमाले, माओवादी, जसपा र जनमत पार्टी मिलेर सरकार बने कांग्रेस मधेश प्रदेशमा पनि प्रतिपक्षमा बस्न बाध्य हुनेछ। यहाँ एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ। १०७ सदस्यीय प्रदेश सभामा नयाँ समीकरणमा रहेका दलहरुको सिट संख्या ६० पुग्नेछ। मधेश प्रदेशमा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।

बागमती प्रदेशमा राप्रपाको साथ पाए एमाले नेतृत्वकै नयाँ समीकरणको सरकार बन्ने निश्चित छ। ११० सदस्यीय प्रदेश सभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ। १३ सिट भएको राप्रपाको साथ पाए बागमतीमा पनि कांग्रेस प्रतिपक्षमा बस्नु पर्नेछ। यहाँ सरकार गठनका लागि ५६ सिट आवश्यक हुन्छ। 

गण्डकीमा पनि राप्रपाको साथले कांग्रेसबाहेकको प्रदेश सरकार बन्न सक्छ। गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ। ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ। राप्रपासँग २ सिट भएकाले गण्डकीमा सरकार गठनका लागि नयाँ समीकरणमा रहेका दलहरुको बहुमत पुग्छ।

लुम्बिनीमा पनि राप्रपाको साथ पाउँदा सरकार बन्छ। लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ। राप्रपासँग ४ सिट भएकाले प्रदेश सभामा बहुमत पुग्छ। ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ। कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार बन्छ। ४० सदस्यीय प्रदेश सभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ।

कांग्रेस सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिए सुदूरपश्चिममा प्रदेशमा पनि कांग्रेस इतरको सरकार बन्न सक्छ। ५३ सदस्यीय प्रदेश सभामा माओवादीसँग ११ र एमालेसँग १० सिट छ। नागरिक उन्मुक्ति नयाँ समीकरणको पक्षमा उभिने अवस्था आए १९ सिट भएको कांग्रेस सुदूरपश्चिममा पनि प्रतिपक्षी दलको हैसियतमा पुग्ने देखिन्छ। 

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रदेश प्रमुखहरू पनि गुमाउने देखिएको छ। नेपाल सरकारको प्रतिनिधिका रूपमा पाँच वर्षका लागि नियुक्त हुने प्रदेश प्रमुखलाई त्यसअघि नै राष्ट्रपतिले पदमुक्त गर्न सक्ने प्रावधान संविधानको धारा १६३ मा छ। यसअघि पनि संघीय सरकारमा नेतृत्व परिवर्तन भएसँगै कार्यकाल पुरा नगरी प्रदेश प्रमुखहरू पदमुक्त भएका थिए।

अहिलेका सात प्रदेशमध्ये कांग्रेसबाट मधेश प्रदेशमा हरिशंकर मिश्र, गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्। पाँच दलीय गठबन्धन गरेर प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेसले गठबन्धन जोगाउन र सरकार निर्माण गर्न नसकेको आरोपमा सभापति देउवामाथि पार्टीभित्रै आलोचना सुरु भइसकेको छ। 

सभापति देउवाले सत्ता गठबन्धन जोगाउन नसकेपछि कांग्रेसको इतर समूह आक्रोश पोखिरहेको छ। इतर समूहका नेता चन्द्र भण्डारीले गठबन्धन टुटेपछि देउवाले जिम्मा लिनुपर्ने बताएका छन्। राजनीति सेवा, त्याग, समन्वय र सहकार्य पनि भएको स्मरण गराउँदै उनले एकअर्काको अस्तित्व स्वीकार गर्नु पनि राजनीति भएको उल्लेख गरेका छन्। 

‘राजनीति सेवा हो, त्याग, समन्वय र सहकार्य पनि हो, एकअर्काको अस्तित्व स्वीकार गर्नु पनि हो,’ भण्डारीले भनेका छन्, ‘ठगतन्त्र, बेइमानी र धोका मात्र होइन, तिमी कहाँ छौ र तिम्रा सल्लाहकार कहाँ छन्, घटनाको जिम्मा लिनुपर्छ पर्दैन प्रमाणित गर।’ 

उनले संस्कृत भाषामा श्लोक लेखेर कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा लागेकाहरु प्रति घृणा व्यक्त गरेका छन्। यद्यपि, भण्डारीले नाम भने कसैको उम्मेख गरेका छैनन।      

‘स्वार्थान्धे नैव पश्यति’ नीति शास्त्रले त्यसै भनेको होइन, आफ्नो नितान्त वैयक्तिक स्वार्थमा साथी, सहयोगी, पार्टीको विगत, वर्तमान र जनभावना नचिन्ने, कर्तव्यबाट विमुख हुने, समयसापेक्ष सही निर्णय लिन नसक्ने, आफ्नो स्वार्थमा राष्ट्रको भविष्य उपेक्षा गर्ने, इमान र बोलीमा विश्वास नगर्ने समाजको डर नभएका सबैलाई नफरत र घृणा,’ उनले लेखेका छन्। 

इतर समूहमै रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले गठबन्धन टुटेसँगै देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद त्याग्नुपर्ने बताएका छन्। ‘नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।’

अर्का केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले पनि गठबन्धन टुट्नुको कारणबारे पार्टीमा समीक्षा हुनुपर्ने प्रतिक्रिया दिएकी छन्। ‘पार्टी भित्र व्यापक समीक्षा हुन जरुरी छ,’ उनले भनिन्, ‘गठबन्धन गरेर जाने कुरा पनि उचित थिएन। गठबन्धन जोगाउन नसक्नु पनि गलत नै हो।’

इतर समूहका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गठबन्धन कायम राख्न नसकिएपछि समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन्। ‘दम्भ देखाउनु र धोका पाउनु एक सिक्काको दुई पाटा भएका छन्,’ उनले भने, ‘बाँकी छलफल र समीक्षाका लागि कांग्रेस केन्द्रीय समिति बैठक तत्काल बोलाइयोस्।’

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने सत्ता गठबन्धन टुट्नुमा कांग्रेसको कुनै गल्ती नभएको जिकिर गर्दै सभापति देउवाको बचाउमा उत्रिएका छन्। सत्ता गठबन्धन नटिक्नुको कारण समयले चाँडै प्रष्ट्याउने उनको दाबी छ। 

‘नेपाली कांग्रेसले लिएको राजनीतिक अडान ठीक छ र पार्टीको दीर्घकालीन हितमा छ। देशभित्र र विदेशमा रहनु भएका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरु कसैले पनि सानो चित्त गर्नु पर्ने वा निराश हुनु पर्ने कुनै कारण छैन,’ गुरुङले भने, ‘गल्ती नेपाली कांग्रेसको होइन। समयले चाँडै सबै प्रष्ट पार्नेछ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .