राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय अनुसन्धानको क्रममा रहेको कारणले अहिले त्यसबारे बोल्न नपर्ने बताएका छन्।
संघीय संसद् भवनमा शपथ ग्रहण गरिसकेपछि संचारकर्मीसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन्। आफूले निर्वाचन आयोगले मागेको सबै कागजात बुझाएको प्रष्ट्याउँदै अधिकार सम्पन्न निकायले बोलाएको खण्डमा जुनुसुकै बेलामा पनि उपस्थित हुने उनले बताए।
‘मैले निर्वाचन आयोगमा मैले यसबारे सबै कुराहरु बुझाएको छु। आयोगले त्यसमा आफ्नो धारणा राखिहाल्यो। म निर्वाचित भएर आएँ। अब मैले केही कुरा राख्नै परेन,’ संचारकर्मीको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘त्यसपछि सर्वोच्च अदालतमा पुग्यो त्यहाँबाट पनि मलाई शपथ नरोक्नु भनेर आयो। अब यसमा मैले अरु कुरा राख्न परेन।’
साथै, सरकार गठनको विषयलाई सामान्य छलफलको विषय बनाएपनि ठूलो राजनीतिक दलले नै सरकारको नेतृत्व गर्ने उनले बताए।
‘हामीले नेतृत्व गर्नसक्छौं कि भन्ने कुरालाई सामान्य छलफलको विषय त बनाएका छौं। हामी पनि हेर्दैछौं, जनमत धेरै भएको दलले नै सरकार बनाउने हो,’ लामिछानेले भने, ‘संवैधानिक व्यवस्था अनुसार नै अघि बढ्नपर्ने हुन्छ। अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा हामी सचेत हुनुपर्ने हुन्छ। बाँकी हेर्दै जाऔं।’
पासपोर्ट र नागरिकताका विषयमा आएको विवादमा भने आफू अधिकार सम्पन्न निकायले बोलाउँदा सधैं उपस्थित हुने भन्दै प्रश्नबाट तर्किए। ‘अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले उहाँहरुले सोधेको खण्डमा म सधैं उपलब्ध छु। किनभने यो विषयवस्तु नै अनुसन्धानको विषयमा रहेको हुनाले हो,’ उनले भने, ‘म प्रणालीमा विश्वास गर्ने मान्छे हो, मलाई लाग्छ निष्पक्षतापूर्वक छानबिन गर्छ भन्ने कुरामा म विश्वस्त छु।’
प्रतिक्रिया