राजनीति


मसालले भन्यो : चुनावमा स्वतन्त्र संगठनको उदय हुनु अमेरिकी योजना

मसालले भन्यो : चुनावमा स्वतन्त्र संगठनको उदय हुनु अमेरिकी योजना

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १५:३१, काठमाडौँ

नेकपा (मसाल) ले अहिलेको चुनावमा अमेरिकी वा भारतीय साम्राज्यवादले आफ्ना साम्राज्यवादी हितहरूमा मद्दत पुग्ने गरेर विभिन्न उम्मेदवारलाई जिताउन वा हराउन भूमिका खेलेको आरोप लगाएको छ। नेपालमा स्वतन्त्र राजनीतिक संगठनको निर्माणमा अमेरिकी साम्राज्यवादको भूमिका रहेको मसालको ठहर छ। 

हालै सम्पन्न मसालको केन्द्रीय समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन जारी प्रेश वक्तव्यमा महामन्त्री मोहनविक्रम सिंहले यस्तो बताएका हुन्।

‘अहिलेको चुनावमा अमेरिकी वा भारतीय साम्राज्यवादले पनि आफ्ना साम्राज्यवादी हितहरूमा मद्दत पुग्ने गरेर चुनावमा विभिन्न उम्मेदवारलाई जिताउन वा हराउन भूमिका खेलेको देखिन्छ’ मसालले भनेको छ, ‘त्यस सिलसिलामा अमेरिकाको आफ्नै पक्षधर ‘स्वतन्त्र’ राजनीतिक सङ्गठनको निर्माणका लागि खेलेको भूमिका विशेष रूपले उल्लेखनीय छ।’ 

स्वतन्त्र पार्टीको नाममा गत निर्वाचनमा उदाएको रवि लामिछाने नेतृत्वको पार्टीले चुनावमा अप्रत्यासित सफलता हासिल गरेको छ।

यस्तै, मसालले ‘स्वतन्त्र’ पार्टीको नेपाली कांग्रेसभित्रको प्रतिपक्षसित पनि घनिष्ठ सम्बन्ध भएको जनाएको छ। कांग्रेसको प्रतिपक्ष अर्थात शेखर–गगन समूहलाई मसालले आफ्नै पार्टीका देउवा पक्षधर उम्मेदवार तथा गठबन्धनका उम्मेदवारलाई हराउन लागिपरेको बताउँदै आएको छ।

यस्तो छ, वक्तव्य

१) यही २०७९ साल मंसिर २४, २५ र २६ गते नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक सम्पन्न भयो। त्यो बैठकले यही सालको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मूल्याङ्कन गर्दै आगामी कार्यक्रम र नीति समेत पारित गरेको छ। त्यो बैठकले कतिपय महत्वपूर्ण सङ्गठनात्मक विषयहरूमा पनि निर्णयहरू गरेको छ। त्यो बैठकले एउटा तात्कालिक राजनीतिक प्रस्ताव पनि पारित गरेको छ, जो बेग्लै जारी गरिने छ।

२) चुनावको मूल्याङ्कन गर्दै बैठक यो निष्कर्षमा पुगेको छ कि हालै सम्पन्न चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको छ। देशमा प्रतिगमनको मुख्य उद्देश्य गणतन्त्र र धर्मनिरपेक्षता समेतलाई समाप्त गर्नु हो। त्यसका लागि राजावादीहरूले करिव डेढ दशकदेखि अभियान चलाउँदै आएका छन्। अहिले ओलीको नेतृत्वमा एमाले पनि त्यो प्रतिगामी अभियानमा सामेल भएको छ। भारतीय साम्राज्यवादले त्यो प्रतिगामी अभियानलाई, खास गरेर धर्मनिरपेक्षता र गणतन्त्रलाई समाप्त गर्ने अभियानलाई समर्थन गरेको छ। त्यसैले अहिले प्रतिगमनको खतरा अत्यन्त गम्भीर रूपमा देखापरेको छ। चुनावमा उनीहरू खासगरी एमालेले बहुमत प्राप्त गर्न सफल भएको भए देश प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना थियो। तर पाँच दलीय गठबन्धन वा चुनावी तालमेलका कारणले एमाले बहुमतमा आउन सकेन। त्यो प्रतिगमनको ठुलो हार हो। तैपनि गठबन्धन बहुमत प्राप्त गर्न सफल भएन। त्यसको परिणामस्वरूप देशमा राजनीतिक अस्थिरता उत्पन्न भएर गम्भीर प्रकारका दुष्परिणामहरू हुने तथा प्रतिगामी र साम्राज्यवादी शक्तिहरूलाई चलखेल गर्ने मौका मिल्न सक्ने छ। त्यसैले प्रतिगमनलाई पराजित गर्न सफल हुँदाहुँदै पनि गठबन्धन बहुमतमा नआएको वास्तविकता प्रति केन्द्रीय समितिको बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ।

३) अहिले पाँच दलीय गठबन्धनले बहुमत प्राप्त गर्नको लागि आवश्यक जनाधार र वस्तुगत परिस्थिति विद्यमान थियो। ओलीको नेतृत्वमा एमालेले अपनाएका प्रतिगामी कारबाहीहरूका कारणले जनतामा उनीहरूप्रति तीव्र असन्तोष थियो। त्यसैले जनताले ओलीलाई बहुमतमा आउन दिएनन्। तर गठबन्धनको पक्षमा सुनिश्चित बहुमत सम्भावना भएर पनि स्वयं गठबन्धनभित्रको अन्तर्घात र प्रतिघातका कारणले बहुमत प्राप्त हुन सकेन। खास गरेर नेकाभित्रको प्रतिपक्षको अन्तर्घात तथा स्थानीय रूपमा माओवादीभित्रका कतिपय परस्परका असन्तोष र अन्तर्विरोधका कारणले पनि गठबन्धनका कतिपय उम्मेदवारको हार हुन गयो। स्पष्ट छ कि उनीहरूको हार नभएको भए गठबन्धनलाई स्पष्ट रूपले बहुमत मिल्दथ्यो र सजिलैसित त्यसको सरकार बन्न सक्दथ्यो।

४) माओवादीका कतिपय स्थानीय नेता वा कार्यकर्ताहरूले गठबन्धन वा स्वयं आफ्नै सङ्गठनका प्रतिनिधि सभा वा प्रदेश सभाका उम्मेदवारलाई हराउन जुन भूमिका खेले त्यसका पछाडि स्थानीय तहका अन्तर्विरोध, महत्वाकाङ्क्षा वा कुण्ठाका कारणले नै त्यस्तो भएको कुरा बुझ्न गाह्रो पर्दैन र त्यो गौण पक्ष हो। तर नेकाभित्रबाट भएको अन्तर्घात निश्चित नीति र योजनाअन्तर्गत नै भएको छ। त्यसका दुईटा कारणहरू रहेका छन्। प्रथम, संस्थापन पक्षका उम्मेदवारहरूलाई हराएर पार्टीको नेतामा चुनिन आफ्नो बहुमत गराउन। द्वितीय, नेकाको कम्युनिस्टहरूसित एकता हुनु वा हुन नदिनु। उनीहरूले चुनावभन्दा पहिलेदेखि गठबन्धनको विरोध गर्दै आएका थिए र त्यही नीतिअन्तर्गत उनीहरूले चुनावमा गठबन्धन पक्षका वा आफ्नै पार्टीका पनि संस्थापन पक्षका उम्मेदवारहरूलाई हराउने नीति अपनाएका थिए। मुख्यतः त्यही कारणले नै अहिले गठबन्धन पक्षलाई सरकार बनाउनका लागि बहुमत प्राप्त हुन सकेन।

५) अहिलेको चुनावमा अमेरिकी वा भारतीय साम्राज्यवादले पनि आफ्ना साम्राज्यवादी हितहरूमा मद्दत पुग्ने गरेर चुनावमा विभिन्न उम्मेदवारलाई जिताउन वा हराउन भूमिका खेलेको देखिन्छ। त्यस सिलसिलामा अमेरिकाको आफ्नै पक्षधर ‘स्वतन्त्र’ राजनीतिक सङ्गठनको निर्माणका लागि खेलेको भूमिका विशेष रूपले उल्लेखनीय छ। त्यो सङ्गठनको नेकाभित्रको प्रतिपक्षसित पनि घनिष्ठ सम्बन्ध भएका कुराहरू सार्वजनिक भएका छन्। त्यसले गर्दा ने।का।को प्रतिपक्षले पनि अमेरिकाको कम्युनिस्ट विरोधी रणनीतिअन्तर्गत नै कम्युनिस्टहरूसितको गठबन्धनको विरोध गरिरहेको वा गठबन्धन पक्षधर उम्मेदवारहरूलाई हराउने नीति त अपनाएको होइन रु त्यो गम्भीर प्रश्न उठेको छ।

६) अहिलेको चुनावको सन्दर्भमा नेपालमा तीव्र गतिले फैलिदैं गएको इसाई धर्मका पछाडि खाली धार्मिक आस्थाले मात्र काम नगरेर अमेरिका र पश्चिमी साम्राज्यवादको रणनीतिक योजनाअन्तर्गत उनीहरूको गतिविधि बढिरहेको त होइन रु त्यो गम्भीर आशङ्का उत्पन्न भएको छ। हामीले आस्थाका आधारमा कुनैपनि धर्म अपनाउने कुरालाई विरोध गर्दैनौँ र धार्मिक स्वतन्त्रताको सिद्धान्तलाई समर्थन गर्दछौं। तर कुनैपनि धर्मलाई प्रतिक्रियावादी वा साम्राज्यवादी उद्देश्यका लागि उपयोग गर्ने कुराको विरोध गर्दछौँ। त्यही प्रकारले हामीले नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दु धर्मलाई हतियार बनाउने कार्यको विरोध गरिरहेका छौं भने नेपालमा साम्राज्यवादी उद्देश्यको पूर्तिको लागि इसाई धर्मलाई उपयोग गर्ने कुराको पनि विरोध गर्दछौँ। अहिलेको चुनावमा अमेरिकाद्वारा संचालित राजनीतिक दलको पक्षमा इसाई धर्मलाई जसरी व्यापक रूपमा उपयोग गरियो, त्यो नेपालको राष्ट्रियताका लागि गम्भीर खतरा हो। हामीले नेपालका सबै इसाई धर्मालम्बीहरूले, जानेर नै साम्राज्यवादी स्वार्थको पक्षमा काम गरिरहेका छन् भन्दैनौँ। तर इमानदारितापूर्वक आफ्नो आस्थाका आधारमा इसाई धर्म अपनाएका व्यक्तिहरूलाई पनि साम्राज्यवादी शक्तिहरूले आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्ने काम गरिरहेका छन्। अहिलेको चुनावमा त्यो कुरा प्रष्ट भएको छ।

७) बैठकले अहिलेको चुनावमा पार्टीले अपनाएको गठबन्धनको नीतिलाई सही ठह¥याएको छ। पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको नीति नअपनाएको भए प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने थिएन। हाम्रो यो मत छ कि चुनावपछि पनि प्रतिगमनको खतरा गम्भीर रूपमा रहेको छ। त्यसकारण त्यो गठबन्धनलाई अहिले पनि कायम राख्नुपर्दछ भन्ने हाम्रो स्पष्ट मत छ। तर प्रतिगामी वा साम्राज्यवादी शक्तिहरू तथा स्वयं नेकाभित्रको प्रतिपक्षले त्यो गठबन्धनलाई तोड्नका लागि लगातार प्रयत्न गरिरहेका छन्। त्यो अवस्थामा त्यो कसरी र कुन बेलासम्म कायम रहन्छ त्यो भन्न मुस्किल पर्दछ।
 
८) यो हाम्रो निश्चित मत छ कि अहिलेको विशिष्ट अवस्थामा गठबन्धनको सरकार नै उपयुक्त हुने छ। तर कैयौँ कोणबाट नेका र एमालेको गठबन्धन सरकारको गठनका लागि पनि प्रयत्न भइरहेको कुरा थाहा भएको छ। विभिन्न प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरूले त्यसका लागि प्रयत्न गरिरहेका छन्। हाम्रो यो निश्चित मत छ कि त्यस प्रकारको सरकार नेपालका लागि घातक हुने छ र हामीले त्यस प्रकारको कुनै पनि सरकारको गठनको विरोध गर्दछौँ।

९) गठबन्धनभित्रका विभिन्न राजनीतिक दलहरू तथा अहिलेको गठबन्धन सरकार वा भोलि बन्ने गठबन्धन सरकारसित सङ्घीयता, एमसीसी, नागरिकता विधेयक आदि विभिन्न प्रश्नहरूमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू भएको आम रूपमा थाहा भएको कुरा हो। गठबन्धन वा सरकारसित मतभेद भएका प्रश्नहरूमा आगामी दिनहरूमा संसदमा वा बाहिर पनि आवश्यकता अनुसार सङ्घर्ष गर्दै जाने कुराको हामीले जानकारी गराउन चाहन्छौँ।

१०) बैठकले गणतन्त्र, राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि देशव्यापी रूपमा सङ्घर्ष गर्ने कार्यक्रम बनाएको छ। उक्त कार्यक्रमका लागि हामीले जनताको व्यापक समर्थनको लागि अपिल गर्दछौँ।

११) अहिलेको चुनावमा हामीले प्रत्यक्षतर्फ बागलुङ र प्युठानमा प्रतिनिधि सभाका लागि र अर्घाखाँचीमा प्रदेश सभाका लागि उम्मेदवारहरू उठाएका थियौं। तर प्युठान र अर्घाखाँचीमा हाम्रो हार भयो भने बागलुङमा हाम्रो जीत भएको छ। प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरूले हाम्रा उम्मेदवारहरूलाई पराजित गर्नका लागि पूरै शक्ति लगाएका थिए। तैपनि बागलुङमा का चित्र बहादुर केसीको जित भएको छ भने प्युठानमा का दुर्गा पौडेललाई ३५ हजार भन्दा बढी र अर्घाखाँचीमा का‍ सागर केसीलाई १९ हजारभन्दा बढी भोट प्राप्त भएको छ। चुनावका ती परिणामहरूबाट, एकातिर, त्यहाँ हाम्रो बलियो जनाधार भएको र, अर्कातिर, गठबन्धन पक्षधर शक्तिहरूले पनि चुनावमा हामीलाई महत्वपूर्ण सहयोग गरेको कुरा प्रस्ट हुन्छ। त्यसका लागि हामीले सबै मतदाताहरूलाई धन्यवाद दिन चाहन्छौँ। का। चित्रवहादुर केसीको विजय प्रतिक्रियावादी वा साम्राज्यवादीहरूका लागि राम्रो जवाफ हो। उहाँको विजयबाट संसदभित्र र देशको राजनीतिमा पनि सशक्त भूमिका खेल्लका लागि मद्दत पुग्ने छ भन्ने हामीलाई विश्वास छ।

१२) अहिलेको चुनावमा भएका प्युठान र अर्घाखाँचीका पराजयका पछाडि गठबन्धनभित्रका अन्तरघात वा विभिन्न प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरूका कारणले काम गर्नुका साथै स्वयं हाम्रो सङ्गठनभित्रका विभिन्न सङ्गठनात्मक वा कार्यशैली सम्बन्धी कमजोरीहरूले पनि काम गरेका छन्। बैठकले ती सबैबारे पनि गम्भीरतापूर्वक मूल्याङ्कन ग¥यो र तिनीहरूमा सुधारका लागि आवश्यक कदम उठाउने पनि निर्णय गरेको छ।

१३) चुनावको बेलामा अन्य पक्षहरूद्वारा अन्तरघात भएका कुराहरू व्यापक रूपमा आएका छन्। तर त्यस प्रकारका अन्तर्घातहरू हाम्रो पार्टीबाट अन्य पक्षहरूप्रति पनि कतै भएका त छैनन् रु हाम्रो पार्टीले आफ्नोतर्फबाट भएको कुनै पनि सहमति वा प्रतिबद्धतालाई इमानदारितापूर्वक पालना गर्नुपर्ने कुरामा विश्वास राख्दछ। त्यो अवस्थामा हाम्रो पार्टीको कुनै सदस्यद्वारा त्यस प्रकारको अन्तघात गरिएको भए त्यसबाट अन्य पक्षलाई कुनै क्षति पु¥याउनभन्दा बढी हाम्रो आफ्नै चरित्र र अनुशासनलाई नै गम्भीर क्षति पु¥याउने छ। त्यसैले हाम्रो पार्टीले हाम्रातर्फबाट त्यस्तो कुनै कमजोरी भएको पत्ता लागेमा तिनीहरूबारे इमानदारीपूर्वक छानबिन गर्ने र आवश्यकता अनुसार कारबाही पनि गर्ने छ।

१४) केन्द्रीय समितिको बैठक यो निष्कर्षमा पुगेको छ कि चुनावमा हामीलाई जुन कम सफलता प्राप्त भएको छ, त्यसको मुख्य कारण हाम्रो सङ्गठन र जनाधार कम हुनु नै हो। देशव्यापी रूपमा हाम्रो सङ्गठन कमजोर भएको हुनाले हामीले देशव्यापी रूपमा उम्मेदवारीको दाबी गर्न सकेनौँ र उम्मेदवारहरू उठाउन पनि सकेनौँ। देशव्यापी रूपमा हाम्रो सङ्गठन कमजोर हुनुका साथै जुन भएको सङ्गठनमा पनि वैचारिक स्पष्टता र अनुशासनमा पनि कमी भएको हुनाले हाम्रो पार्टीले देशको राजनीति, आन्दोलन वा चुनावमा समेत प्रभावशाली भूमिका खेल्न नसकेको कुरालाई बैठकले गम्भीरतापूर्वक स्वीकार गरेको छ। त्यसकारण उक्त विषयहरूमा प्रभावशाली भूमिका खेल्नुपर्ने आवश्यकतामा केन्द्रीय समितिले जोड दिएको छ।

१५) आगामी २०८१ सालमा लेनिनको शताब्दी स्मृति दिवस, पार्टीको स्थापनाको ७५ औ दिवस वा हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशनको मिति समेत पर्दछ। उक्त तीनवटै कार्यक्रमलाई एक वर्षसम्म मनाउनका लागि पार्टीले ठोस कार्यक्रम बनाउने बैठकले निर्णय गरेको छ। त्यो कार्यक्रम बनाउनका लागि पार्टीका महामन्त्री का। मोहनविक्रम सिंहको अध्यक्षतामा एउटा कार्यदल समेत बनेको छ।

मिति २०७९ मंसिर २७
मोहनविक्रम सिंह
महामन्त्री

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .