ad ad

राजनीति


मंसिर ४ : यसरी छानिँदैछन् आठ सय २५ जनप्रतिनिधि

मंसिर ४ : यसरी छानिँदैछन् आठ सय २५ जनप्रतिनिधि

उम्मेदवारहरुको भाग्य र भविष्यको जाँच गर्न तयार मतपेटिका। तस्बिर : रासस


केशव सावद
मंसिर २, २०७९ शुक्रबार १८:५३, काठमाडौँ

मुलुक संघीयतामा गइसकेपछि संसदको दोस्रो निर्वाचन मंसिर ४ गते हुँदैछ। 

देशभर एकसाथ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

मंसिर ४ गते संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्।

जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्। 

अर्कातिर मतदाताले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट छान्दैछन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २ हजार ४१२ र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार प्रतिष्पर्धामा छन्। 

जसमध्ये १ हजार ५४५ दलीय र ८६७ स्वतन्त्र उम्मेदवार छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा २ हजार १८७ पुरुष र २२५ महिला छन्।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारी दिएकामध्ये १ हजार १२ पुरुष र १ हजार १८७ महिला उम्मेदवार रहेका आयोगले जनाएको छ। 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष, २८० महिला र १ जना अन्य उम्मेदवार हुन्। 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये २ हजार १३० दलीय र १ हजार ८४ स्वतन्त्र उम्मेदार हुन्। 

हुम्लामा मतपेटिका र कर्मचारी लैजाँदै हेलिकोप्टर। तस्बिर : रासस

प्रदेशसभामा समाुनपातिकतर्फ ३ हजार ७८० उम्मेदवार रहेका छन्। जसमा २ हजार १९७ पुरुष र १ हजार ५११ महिला उम्मेदवार हुन्। 

आयोगले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएकालाई समावेशी समूहअनुसार पनि तथ्यांक निकालेको छ। 

आयोगको तथ्यांकले ४१ दशमलव १६ प्रतिशत खसआर्य, २६ दशमलव ५८ प्रतिशत आदिवासी जनजाति  २० दशमलव ९८ प्रतिशत मधेशी समुदायका उम्मेदवार छन्। 

यस्तै प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनेका मध्ये ४ दशमलव ०२ प्रतिशत दलित समुदायबाट, ३ दशमलव ४० प्रतिशत मुस्लिम समुदायबाट र २ दशमलव ८६ प्रतिशत थारु सुमुदायबाट उम्मेदवार छन्। 

आयोगले निर्वाचनका लागि ७७ जिल्लामा १० हजार ८९२ मतदान स्थल, २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान स्थल तोकेको छ। 

आयोगले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताहरु मतदान प्रक्रियामा सहभागी हुने जनाएको छ। 

जसमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला, १८५ अन्य र ४ लाख ५० हजार अस्थायी मतदाता हुन्। 

आयोगले निर्वाचनका लागि २ लाख ४६ हजार ९६० कर्मचारीहरु खटाउँदै छ। आयोगले निर्वाचनको सुरक्षाका लागि ७४ हजार ८४९ नेपाली सेना, ७१ ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ राष्ट्रिय अनुसन्धान विभा र १ लाख १५ हजार म्यादी प्रहरी खटिने जनाएको छ। 

आयोगका अनुसार २ वटा अन्तराष्ट्रिय र ४४ राष्ट्रिय पर्यवेक्षक संस्थाहरुले निर्वाचनको पर्यवेक्षण गर्दैछन्। 

म्याग्दीमा मतदान केन्द्र जान तयार सुरक्षाकर्मी। तस्बिर : रासस

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छापेको छ। जसमध्ये ३ करोड ९९ लाख ६२ हजार ५ सय प्रत्यक्षतर्फ र ४ करोड ६ लाख ५ हजार समानुपातिकतर्फका मतपत्र छापिएका हुन्। 

आयोगले दुवै तहका निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको अधिकतम हद पनि तोकेको छ। 

आयोगले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले निर्वाचन क्षेत्रअनुसार २५ देखि ३३ लाख र सामानुपातिकतर्फका उम्मेदवारले बढीमा दुई रुपैयाँ चर्ख गर्न पाउने गरी अधिकतम् हद तोकेको छ। 

प्रत्यक्षतर्फका प्रदेशसभा सदस्य उम्मेदवारले निर्वाचन क्षेत्रअनुसार १५ देखि २३ लाख र समानुपातिक तर्फका उम्मेदवारले बढीमा १ लाख ५० हजार खर्च गर्न पाउने बताएको छ।    

यसपालिको निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी हुन ८७ दलहरु निर्वाचन आयोगमा दर्ता भएका थिए। 

जसमध्ये ६१ दलहरु पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी छन्। निर्वाचन आयोगमा ४७ दलहरुले समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता गराएको आयोगले जनाएको छ। 

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन्। जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष र १६ लाख ६७ हजार ७१ महिला मतदाता हुन्। 

प्रदेश १ मा २२ जना अन्य मतदाता पनि छन्। आयोगले यहाँ १ हजार ८७९ मतदान स्थल र ४ हजार ९९ मतदान केन्द्र निर्धारण गरेको छ। 

मधेश प्रदेशसभा १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला तथा ७० जना अन्य गरी ३३ लाख ८६ हजार  ६२८ मतदाता छन्। 

मधेश प्रदेशका लागि आयोगले २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र्र तोकेको छ। 

देशको संघीय राजधानी रहेको बागमती प्रदेशमा कूल मतदाताको संख्या ३४ लाख ७१ हजार ४९२ छ। जसमध्ये १७ लाख ३८ हजार ८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता हुन्। 

मतदान केन्द्र सुरक्षाका लागि तयार म्यादी प्रहरी। तस्बिर : रासस

बागमतीका १३ जिल्लाका लागि आयोगले १ हजार ८१२ मतदान स्थल र ४ हजार १४३ मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ। 

गण्डकी प्रदेशका ११ जिल्लाका लागि आयोगले १ हजार २८३ मतदान स्थल र २ हजार ३३९ मतदान केन्द्र तोकेको छ। यहाँ १८ लाख १७ हजार ५२१ मतदाता छन्।

जसमध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य मतदाता छन्। 

लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता छन्। यहाँका कूल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ छन्। आयोगले यो प्रदेशका १२ जिल्लाहरुमा १ हजार ६५० मतदान स्थल र ३ हजार ८६२ मतदान केन्द्र तोकेको छ। 

कर्णाली प्रदेश सबैभन्दा कम मतदाता भएको प्रदेश हो। यहाँ ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ अन्य गरी कूल १० लाख ८ हजार ४०३ मतदाता छन्। यो प्रदेशमा ९३३ मतदान स्थल र १ हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। 

सुदूरपश्चिमका ९ जिल्लामा कूल मतदाताको संख्या १६ लाख ५८ हजार ४ छ। जसमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य मतदाता हुन्। यहाँ १ हजार १६१ मतदान स्थल र २ हजार १४६ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .