ad ad

राजनीति


जेष्ठ सांसदको रेकर्ड बनाउन युवा जोश देखाउँदै चित्रबहादुर, दोस्रोपटक संसद छिर्ने दौडमा पाठक

जेष्ठ सांसदको रेकर्ड बनाउन युवा जोश देखाउँदै चित्रबहादुर, दोस्रोपटक संसद छिर्ने दौडमा पाठक

वाशुदेव मिश्र
कात्तिक २७, २०७९ आइतबार २१:१, पाेखरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अघिल्लो संघीय चुनावमा उम्मेदवारी नै दिएनन्।

उम्मेदवारी नदिनुको कारण प्रष्ट्याउँदै उनले त्यो बेला भनेका थिए,‘ ठेकेदार, तस्कर, डिलरहरुले करोडौं रुपैयाँको खोलो बगाएर मात्र चुनाव जित्ने भए। हामी जस्तो निष्ठा र सिद्धान्तको कुरा गर्नेले चुनाव जित्न नसकिने भयो।’  

२०५६ र २०६४ को चुनाव जितेका केसी २०७० सालमा समानुपातिकतर्फबाट संसद छिरे। २०७४ सालमा भने जनमोर्चाले समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्न सकेन। केसी रोकिए। 

उनै चित्रबहादुर केसी यो पटक भने बागलुङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उनले संघीयता खारेजीको मुद्दा नछाडेको र गठबन्धनबीच लोकतन्त्र जोगाउने मुद्दा मिलेकाले त्यही मुद्दा लिएर चुनावमा होमिएको जिकिर गर्दै आएका छन्।

संयोग कस्तो भने, अघिल्लो चुनावमा आफैले काँधमा बोकेका एमालेका डा. सूर्य पाठक उनको प्रतिस्पर्धी बनेका छन्। युवा पाठकसँग पौंठेजोरी खोजेका ८२ वर्षीय केसी अहिले युवा जोश देखाउँदै गाउँगाउँ डुलिरहेका छन्।

उनले आइतबार आयोजित एक कार्यक्रममा प्रतिस्पर्धी पाठकले बागलुङको लागि केही नगरेको आरोप लगाए। उनले भने, ‘हिजोको पाँच वर्षमा युवा भएर जितेकाले के गरे खै? उनले नगरेको काम अब हामीले मिलेर गर्नेछौँ।’ 

केसीलाई गठबन्धनको साथ छ। यो साथले केसी हौसिएका छन्। वर्षौंदेखि तिक्ततापूर्ण सम्बन्ध बिर्सेर राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस एक ठाउँमा उभिँदा माओवादी केन्द्रको साथ पनि केसीलाई नै छ।  

‘आज छिस्तीको दुई ठाउँमा गएँ, जनता के भनुन् बरा, उनका अनेकौं माग छन्, पीडा छन्। जति पीडा छन्, ती सबै सांसदको हातमा छ भन्छन्’, नेपालखबरको टेलिफोन कुराकानीकै क्रममा उनले हाँस्दै  भने, ‘जनताले सांसदबाट जति आशा गर्छन् हुँदैन भनेको छु। पहिला झुटा आश्वासन बाँडेका रहेछन्। सांसद विधि विधान बनाउने हैन कि विकासको ठेकेदार हुन् भन्ने छ।’ 

८२ वर्षको उमेरमा संसद छिरे भने केसीले पुनः उखान टुक्का जोडेर बागलुङ लवजमा विकृतिविरुद्ध आवाज उठाउने छन्। चुनाव जिते भने केसी संभवतः अबको प्रतिनिधि सभामा सबैभन्दा जेष्ठ सांसद हुनेछन्। जसले गर्दा उनले सभामुख चयन हुनुअघि संसदको पहिलो बैठक सञ्चालन समेत गर्नेछन्।

उता, एमालेका उम्मेदवार डा. सूर्य पाठक जित दोहोर्याउने ध्याउन्नमा छन्। उनले अपूरा योजनाहरु पूरा गर्ने वाचा गरिरहेका छन्।

‘मैले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निभाएको छु, पाँच वर्षमा भएका ३२४ वटा संसदका बैठकमध्ये २५३ वटामा उपस्थित भएको छु’, उनले भने, ‘आगामी दिनमा जिल्लाको विकासमा झन केन्द्रित हुनेछु।’

राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहको साथ पनि पाठकलाई नै छ। बागलुङको क्षेत्र नम्बर २ को ‘ख’ बाट बागी उम्मेदवारी दिएकी जनमोर्चाकी दुर्गादेवी घर्तीले आफ्नो उम्मेदवारी निष्कृय पार्दै एमालेलाई साथ दिने बताएकी छन् भने अर्का विद्रोही तिलक पुनले पनि आफ्नो समूह एमालेको पक्षमा रहेको घोषणा गरेका छन्।

गण्डकी प्रदेश सांसदबाट हटाइएका कृष्ण थापा समूह अहिले एमालेको पक्षमा छ। अघिल्ला चुनावमा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका केसीभन्दा यसअघिको चुनावमा सोही क्षेत्रबाट जितेका पाठकलाई जनताले पत्याउने एमालेको जिकिर छ।

एमालेको केन्द्रीय सदस्य तथा व्यावसायिक पृष्ठभूमिका पाठकसँग दिल खोलेर खर्च गर्ने हैसियत पनि छ। केसी भने खर्च गर्ने मामिलामा पछाडि छन्।  

अघिल्लो चुनावमा वाम गठबन्धनको साझा उम्मेदवार हुँदा पाठकले ३३ हजार ६४५ र उनकी प्रतिस्पर्धी कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत ल्याएकी थिइन्।

१३ हजार २९ मतान्तरले जितेका पाठकको लागि यो पटक अंक गणितले भने एमालेलाई साथ दिएको छैन। गएको स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मजबुद देखिएको थियो। त्यहाँ सबै पालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए।  

बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्छन्।

ती पालिकामा रहेका ३७ वडामध्ये २९ वडामा गठबन्धन विजयी बनेको थियो। गठबन्धनको पक्षमा ३१ हजार ६३७ र एमालेले २२ हजार ३७६ मत पाएको थियो।

सो क्षेत्रमा केसी र पाठकका अलावा राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, कांग्रेस विपीबाट शिवलाल सापकोटा र स्वतन्त्र चन्द्रबहादुर क्षेत्री मैदानमा छन्।

प्रदेशसभातर्फ गठबन्धनबाट ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री तथा ‘ख’ मा गठबन्धनले कांग्रेसका डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ।

प्रतिनिधिसभाको बागलुङ क्षेत्र नम्बर २ मा माओवादी नेता देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .