राजनीति


गोरखा २ का मतदाताले भोलिको प्रधानमन्त्रीलाई भोट हाल्दैछन् : बाबुराम

गोरखा २ का मतदाताले भोलिको प्रधानमन्त्रीलाई भोट हाल्दैछन् : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अघिल्लो हप्ता गृहजिल्ला गोरखामा थिए (तस्बिरः विशाल कार्की)


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार २१:३, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अघिल्लो हप्ता गृहजिल्ला गोरखामा थिए। गोरखा–२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को चुनाव प्रचारको सिलसिलामा उनी गोरखा पुगेका थिए।

संविधान जारी भएको अर्काे हप्ता ९ असोज २०७२ मा तत्कालीन एनेकपा (माओवादी) परित्याग गरेका भट्टराई सो पार्टीमा छँदा पनि प्रचण्डको खुलेर आलोचना गर्थे। माओवादी परित्याग गरेपछि अझ बढी आलोचना गर्नु स्वाभाविक थियो। 

तर, आफू प्रतिस्पर्धी नरहेको निर्वाचन प्रचारका लागि यसपटक गोरखा पुगेका भट्टराईले समकालीन नेताहरुको तुलनामा प्रचण्ड नै ‘बढी गतिशील–प्रगतिशील’ रहेको मात्र बताएनन्, निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने दाबीसमेत गरे।   

पहिलो चरणको चुनाव प्रचार अभियान सकेपछि काठमाडौँ आइपुगेका डा. भट्टराईसँग नेपालखबरले जिज्ञासा राख्यो– प्रचण्डबारे गोरखामा तपाईंले जे भन्नुभयो, त्यो चुनावी प्रचारको लागि मात्रै हो कि प्रचण्डबारे तपाईंको मूल्याङ्कन फेरिएको हो? 

अन्तर्वार्ताको क्रममा डा. भट्टराईले भने, ‘हाम्रो देश र समाजमा अहिले भएको नेतृत्वको जुन पंक्ति छ, तुलनात्मक सापेक्षतामा अलिकति गतिशील मान्छे प्रचण्ड नै हो। यो कुरा यथार्थ हो।’

त्यसक्रममा विगतमा प्रचण्डको आलोचना गरेको कुरा पनि डा. भट्टराईले लुकाएनन्। तर, आफूले गरेका आलोचनाको कारण पनि बताउने प्रयास गरेः 

‘हामीले सँगै काम गरेका छौँ। त्यसैले उहाँको कमीकमजोरीबारे पनि जानकारी छ। तर, हामीबीचको बहस–आलोचना व्यक्तिगत झगडा होइन। त्यो वैचारिक बहस हो। उहाँ नयाँ ढंगले सोच्ने, आँट गर्ने मान्छे हो। उहाँलाई गतिशील भनेको त्यसअर्थमा हो। 

उहाँमा अरु कमीकमजोरी नभएको होइन। मान्छे भएकाले उहाँमा पनि कमीकमजोरी छन्। तर, अहिले भएका समकालीन नेताहरुमध्ये गतिशीलताको दृष्टिले म उहाँलाई नै अगुवा देख्छु। त्यो गुण भएकैले मैले उहाँलाई गतिशील नेता भनेको हुँ। बनावटी कुरा गरेको होइन।’ 

हिजो–अस्ति प्रचण्डको कडा आलोचना गर्नुहुन्थ्यो, अहिले प्रशंसा गरेर आत्मालोचना गर्नुभएको त होइन? 
होइन, होइन। यसरी नबुझिदिनुस्। 

दर्शनशास्त्रमा विपरीत र एकत्व भन्ने छ नि! एकता–संघर्ष–रुपान्तरण भइरहन्छ। म आफूलाई भगवान मान्दिनँ। म त मान्छे हो। मभित्रको सकरात्मक–नकारात्मक कुरा मलाई थाहा छ।

प्रत्येक मान्छेभित्र गुण र अवगुण दुवै हुन्छन्। हामीले गुणलाई मलजल गर्ने सघाउने, मद्दत गर्ने हो। अवगुणलाई संघर्ष गरेर, आलोचना गरेर सच्याउन कोसिस गर्ने हो। 

कसैको आलोचना गर्नु भनेको उसको बदख्वाइँ गरेको होइन। बरु त्यसमा रहेको अवगुणलाई न्यूनीकरण गर्न मद्दत गर्ने भनेको हो। 

प्रचण्डमा अन्तरनिहित कमजोर पक्षको हिजो मैले आलोचना गरेकै हो। अहिले उहाँको सबल पक्षको प्रशंसा गर्नुको अर्थ उहाँको सबल पक्षलाई बढावा दिएर अग्रगमनलाई मद्दत पुगोस् भन्ने हो। यो निरन्तर चल्छ, यसलाई अन्यथा मान्नु हुँदैन।

भिडिओः विशाल कार्की

गोरखा–२ मा प्रचण्डको उम्मेदवारी तपाईंको चाहना हो कि चितवन–३ मा उहाँको असुरक्षाभावको उपज हो? 
मैले केही समय अघिदेखि चुनावी राजनीतिभन्दा केही फरक ढंगले जानुपर्छ भन्ने मन बनाइरहेको थिएँ। यसबारेमा मैले पोहोर–परारदेखि नै बोलिराखेको थिएँ। चुनाव नलड्ने मेरो चाहना पनि थियो।

दोस्रो, प्रचण्डजीसँग कुराकानी हुँदै जाने क्रममा फेरि नयाँ ढंगले समाजवादी ध्रुवीकरण गरेर जान सकिन्छ भन्ने कुराहरु भए। 

त्यसक्रममा उहाँ गोरखाबाट नै किन प्रतिस्पर्धा नगर्ने? किनकि त्यो अलिकति सुरक्षित ठाउँ पनि हो भन्ने भयो। 

फेरि मैले २–३ पटक चुनाव लडेर पूर्वाधार निर्माणको जग बनाएको, तर अझै गर्न बाँकी धेरै कुराहरु रहेको ठाउँ छ। उहाँ जाँदा गोरखाको विकास–निर्माणलाई सघाउन पनि सहज हुन्छ। आफूले काम गरेको ठाउँमा त्यसको निरन्तरताको रुपमा अझ योग्य मान्छे लगेर अझ बढी काम गर्न सकियो भने राम्रो पनि हुन्छ। त्यसले हाम्रो सहकार्यको वातावरण पनि बनाउँछ। 

आलोचना गर्यो भने दुश्मनैजस्तो ठान्ने, मिलेर गयो भने भगवानैजस्तो गर्ने हाम्रो सामाजिक प्रवृत्ति छ। प्रचण्ड र बाबुरामबीचको सम्बन्ध भनेको चाहिँ एकता र संघर्षको सम्बन्ध हो।

हामी फेरि एकताको नयाँ चरणमा जाँदैछौँ। यस्तो स्थितिमा हामीबीचको सम्बन्धबारे ५० वटा लेख लेखेर खण्डन गर्नुभन्दा त्यही एउटा काम (प्रचण्ड गोरखा–१ बाट प्रतिस्पर्धा गर्ने कुरा) ले ‘ए, यिनीहरु नयाँ ढंगले गए’ भन्ने पुष्टि पनि हुन्छ। यही अर्थमा मैले उहाँलाई गोरखा–२ बाट चुनाव लड्न प्रस्ताव गरेको हुँ।

उहाँले पनि यही ढंगले सोचिराख्नु भएको रहेछ। त्यसपछि त्यो निर्णय हुन पुगेको हो।

चुनाव प्रचारकै दौरान तपाईंले ‘उहाँ (प्रचण्ड) निर्वाचनपछिको प्रधानमन्त्री हो’ भन्ने घोषणा गरिदिनुभयो। चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर सत्ता गठबन्धनभित्र सहमति भइसकेको हो र? 
त्यस्तो त होइन। सत्ता गठबन्धनको आन्तरिक छलफलमा म सहभागी पनि छैन। नजिक–नजिकबाट हेरेको मात्र छु। 

तैपनि, सामान्य अनुमान के हो भने आगामी चुनावपछि गठबन्धन सरकार बन्छ। कांग्रेस सबैभन्दा ठूलो दल बन्छ। त्यसपछि माओवादी केन्द्र ठूलो दल हुन्छ। यो कुरा करिब–करिब प्रष्ट छ। 

त्यस्तो अवस्थामा त्यहाँ निश्चित रुपमा सत्ताको साझेदारी हुन्छ। केही आलोपालोका समझदारी पक्कै हुन्छ। त्यसआधारमा प्रचण्डजीको पनि पालो आउँछ। 

त्यसअर्थमा गोरखाली जनताले जसलाई भोट हाल्दै हुनुहुन्छ, त्यो मान्छे भोलि प्रधानमन्त्री बन्ने मान्छे हुनुहुन्छ भन्दा गोरखाली जनता आश्वस्त हुन्छन् भन्ने अर्थमा पनि मैले भनेको हुँ। 

माओवादीबाट प्रचण्डजी र कांग्रेसबाट शेरबहादुरजी वा कसले गर्नुहुन्छ– उहाँहरुले नै आगामी पाँच वर्ष सत्ताको नेतृत्व गर्नुहुन्छ भनेर मैले भनेको हुँ।  

चुनावी परिणाम कस्तो होला? 
राजनीतिक आवश्यकता र औचित्यका हिसाबले पश्चगामी शक्तिहरुलाई अगाडि आउन दिनु हुँदैन। प्राप्त उपलब्धिलाई तिनले भत्काइदिए भने देश झन् अस्थिरतातिर जान्छ। 

जुन जटिल भूराजनीति छ, जो आगामी दिनमा झन् पेचिलो हुँदै जाँदैछ। अस्थिरता भइराख्यो भने देशमा झन् ठूलो खालको संकट आउन सक्छ। त्यसलाई रोक्न पनि अग्रगामी शक्तिहरुको गठबन्धनले जित्नु आवश्यक छ। 

वैचारिक र गणितीय हिसाबले हेर्दा र जनताको भावना हेर्दा पनि यो गठबन्धन नै विजयी हुन्छ र यही गठबन्धनको सरकार बन्छ भन्ने मलाई लाग्छ। 

(डा. भट्टराईसँगको विस्तृत अन्तर्वार्ता बिहीबार (१७ कात्तिक) प्रकाशित हुनेछ) 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .