ad ad

राजनीति


राप्रपा घोषणापत्रमा पृथ्वीनारायणको प्रस्ट, महेन्द्रको अस्पष्ट र वीरेन्द्रको सांकेतिक स्मरण

राप्रपा घोषणापत्रमा पृथ्वीनारायणको प्रस्ट, महेन्द्रको अस्पष्ट र वीरेन्द्रको सांकेतिक स्मरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १३:५०, काठमाडौँ

राजतन्त्र पुन: स्थापनाकाे लक्ष्य लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शाहकालिन तीन राजाहरूको स्मरण गरेको छ। सोमबार (१४ कार्तिक) जारी चुनावी प्रतिबद्दता (घोषणा) पत्रमार्फत् राप्रपाले तीन राजाहरुलाई प्रत्यक्ष–प्रत्यक्षरुपमा स्मरण गरेको हो। 

शासकीय स्वरुप अन्तर्गत ‘अविभावकीय संस्थाको रुपमा राजतन्त्र’ रहनुपर्ने मान्यता अघि सारेको राप्रपाले राजा पृथ्वीनारायण शाहको नाम घोषणापत्रमा प्रष्ट रुपमा उल्लेख गरेको छ भने पञ्चायती व्यवस्थाका सुरुवातकर्ता राजा महेन्द्रको नाम अप्रत्यक्ष रुपमा घोषणापत्रमा समावेश गरेको छ।

राजा वीरेन्द्रको नाम भने चुनाव घोषणापत्रमा स्पष्टरुपमा उल्लेख गरिएको छैन। तर, १२ फागुन २०३१ मा घोषित नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्तावलाई ‘पुनर्जीवित गरिने’ उल्लेख गरेर राजा वीरेन्द्रको योगदानको स्मरण गर्ने प्रयास राप्रपाले गरेको छ। 

आफ्नो राज्याभिषेक (१२ फागुन २०३१) को भोलिपल्ट १३ फागुनमा राजा वीरेन्द्रले विदेशी उच्चपदस्थ अतिथिहरुलाई दिएको विदाई भोजका अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव गरेका थिए। पञ्चायतको अन्त्यकालसम्म यो घोषणाको पक्षमा १ सय १६ राष्ट्रले समर्थन जनाएका थिए। 

‘शान्ति क्षेत्र प्रस्ताव’ सम्बन्धी सन्दर्भमार्फत् राजा वीरेन्द्रको अप्रत्यक्षरुपमा समर्थन गरेको राप्रपाले नेपालको एकिकरणकर्ता पृथ्वीनारायण शाहको नाम भने प्रष्टरुपमा चुनाव घोषणापत्रमा उल्लेख गरेको छ। घोषणापत्रमा छुट्टै खण्ड व्यवस्था गरेर राप्रपाले राजा पृथ्वीनारायण शाहको स्मरण गरेको हो। 

‘बडामहाराजधिराज पृथ्वीनारायण शाह : आदर्श व्यक्तित्व’ शीर्षकको खण्डमा राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वको रुपमा मनाइने व्यवस्था गरिने, पृथ्वी जयन्ती (२७ पुष) सार्वजनिक विदाको व्यवस्था गरिने चुनाव घोषणापत्रमा उल्लेख गरेको छ। 

राजा महेन्द्रलाई भने पूर्व–पश्चिम राजमार्गमार्फत् राप्रपाले अप्रत्यक्षरुपमा स्मरण गरेको छ। यो राजमार्ग निर्माणको आव्हान गरेका राजा महेन्द्रले १ बैशाख २०१९ मा गैँडाकोट (नवलपुर) यसको शिलान्याससमेत गरेका थिए। 

सुरुमा पूर्व–पश्चिम राजमार्ग नामाकरण गरिएको यो मार्गलाई २०२१–२२ ताका महेन्द्र राजमार्ग नामाकरण गरिएको थियो। गणतन्त्र स्थापनापछि यो राजमार्गको नाम ‘पूर्व–पश्चिम लोकमार्ग’ राखिएको छ। 

राप्रपा घोषणापत्रमा ‘पूर्वाधार निर्माण : दीगो पूर्वाधार निर्माण– सम्बृद्धिको आधार’ खण्ड अन्तर्गत ‘तीन वर्षभित्र मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्तति’ गरिने उल्लेख छ। 

राजतन्त्र पुनस्र्थापना भएमा २०६५ मा अपदस्थ पूर्वराजा ज्ञानेन्द्र नै गद्दीमा बस्ने तर्क राप्रपा नेताहरुले गर्दै आएका छन्। तर, अन्तिम शाहकालीन राजा ज्ञानेन्द्रको स्मरण भने राप्रपाले कुनै रुपमापनि गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .