आकर्षक वक्तृत्व र लेखनमा माहिर छन्, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा झापा–१ का उम्मेदवार समेत रहेका शर्माको अभिव्यक्तिको आफ्नै शैली र स्वाद छ। कांग्रेसले शनिबार जारी गरेको चुनाव संकल्प पत्र (घोषणा पत्र) को प्रारम्भमा महामन्त्री शर्माको त्यही स्वाद र शैली देखिएको छ।
अक्सर राजनीतिक दलका चुनाव घोषणा पत्र लामो–पट्यारलाग्दो भूमिकासहित सुरु हुन्छन्। पुरा नहुने बाचा त हरेक दलले जारी गर्ने घोषणा पत्रको विशेषता नै हो। त्यसैले राजनीतिक दलका घोषणा पत्रको अध्ययन आम मतदाताका लागि त्यति रुचिकर हुने गर्दैन।
तर, नेपाली कांग्रेसले आम निर्वाचन–२०७९ का लागि जारी गरेको ‘संकल्प पत्र’ को सुरुवात बुँदागत प्रस्तुति र भाषा प्रयोगका कारण अन्य घोषणा पत्रहरुभन्दा पृथक छ, पाठकहरुको ध्यान सहजै आकर्षित गर्नसक्ने क्षमताको छ।
नेपाली कांग्रेसले असोज पहिलो साता महामन्त्री शर्माको नेतृत्वमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ घोषणा पत्र तयारी समिति गठन गरेको थियो। समितिले घोषणा पत्रको ‘प्रारम्भिक मस्यौदा’ तयार पार्ने जिम्मेवारी भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको उपसमितिलाई दिएको थियो।
वाग्ले नेतृत्वको उपसमितिले चुनाव घोषणा पत्र तयार पारे पनि त्यसको सुरुवाती ‘श्रद्धा र सम्मान’ खण्ड भने महामन्त्री शर्माले तयार पारेका हुन् भन्ने कुरा प्रयोग भएको भाषा हेर्दा सहजै अनुमान गर्न सकिन्छ। यो खण्डमा समावेश १२ वटा बुँदालाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
यो खण्डको सुरुवात ‘अभिवादन’ शीर्षकको बुँदाबाट सुरु हुन्छ। यो बुँदामा भनिएको छ, ‘नेपाली कांग्रेस देशभित्र र संसारभरि फैलिएर रहनुभएका सम्पूर्ण नेपाली आमा–बुबा, दिदी–भाइ तथा दाजु–बहिनीहरूमा लोकतन्त्रप्रतिको निष्ठा, समर्पण र संघर्षलाई हार्दिकतापूर्ण अभिनन्दन गर्दै जय नेपालको न्यानो अभिवादन गर्दछ।’
‘श्रद्धान्जली’ र ‘सम्मान’ लाई दोस्रो र तेस्रो बुँदामा राखिएको छ। ‘नेपाली कांग्रेस सात दशकभन्दा लामो लोकतान्त्रिक संघर्ष यात्राका विभिन्न कालखण्डमा गौरवपूर्ण सहादत प्राप्त गर्ने प्रातःस्मरणीय योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ संकल्प पत्रमा क्रमैसँग भनिएको छ, ‘नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको आदर्श र चेतनालाई जीवित राख्न कठोर संघर्ष, कारावास, निर्वासन र आन्तरिक विस्थापनको पीडा व्यहोरेका लाखौं नेपालीको अदम्य साहस र समर्पणलाई स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दछ।’
‘स्मरण’ शीर्षकको चौथो बुँदामा बी.पी. कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाजस्ता नेपाली कांग्रेसका शीर्ष नेताहरुप्रति उच्च श्रद्धा व्यक्त गर्दै नेपालको लोकतान्त्रिक संघर्ष यात्राका विभिन्न चरणमा महत्वपूर्ण योगदान गर्नु हुने थिरबम मल्ल, दुर्गानन्द झा, योगेन्द्रमान शेरचन, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई लगायतका सहिद एवं नेताहरुप्रति सम्मान र उनीहरुको योगदानको स्मरण गरिएको छ।
संकल्पपत्रको पाचौँ बुँदामार्फत् २००७ को क्रान्ति, २०४६ र २०६२–०६३ को जनआन्दोलन, नेपालको शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान सभाबाट संविधान निर्माणपछि तीनै तहको निर्वाचन र प्रतिनिधि सभा पुनःस्थापना पश्चात स्थानीय निर्वाचन सम्पन्न गरी नेपालको राजनीतिलाई नयाँ गति प्रदान गर्न पार्टीले खेलेको उदार, समन्वयकारी र नेतृत्वदायी भूमिकाको स्मरण गर्दै संविधान निर्माणको त्यो ऐतिहासिक क्षणप्रति ‘गौरव’ प्रकट गरिएको छ।
छैटौँ बुँदाको रुपमा रहेको ‘आत्मसात’ शीर्षक अन्तर्गत महिला, आदिवासी–जनजाति, मधेशी, दलित, मुस्लिम, थारू, पछाडि परेका विकट भौगोलिक क्षेत्र, अपाङ्गता भएका, भूमिहीन, कमैया, बादी समुदायलगायत देशका विभिन्न जाति, वर्ग, लिङ्ग र क्षेत्रले आफ्नो विशिष्ट भाषिक, जातीय र साँस्कृतिक पहिचान, प्रतिष्ठा र संघीय एवं समावेशी शासन प्रणालीका लागि गरेको शान्तिपूर्ण संघर्ष लोकतन्त्रलाई जीवन्त, गतिशील र प्रभावकारी बनाउने दिशाका महत्वपूर्ण पाइलाको रूपमा उल्लेख गरिएको छ।
सातौँ बुँदामार्फत् कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिको स्वामित्व लिएको मात्र छैन, सत्तापक्ष र प्रतिपक्षको रुपमा रहँदा भएका गल्तीहरु दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएको छ।
‘अठोट’ शीर्षकको आठौँ बुँदामा संविधानको रक्षा र कार्यान्वयन तथा त्यसकै जगमा मुलुकको समुन्नति तर्फको अग्रगमन नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको मनन (उल्लेख) गर्दै पार्टीको सात दशकभन्दा लामो इतिहास गौरवपूर्ण रहेको, यसको आदर्श एवं विचारको श्रेष्ठता कायम गर्न सकेको उल्लेख गरिएको छ। र, हजारौँ जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार स्वयंसेवी कार्यकर्ताको ऊर्जा र जनताको अनवरत स्नेह र समर्थनको आत्मविश्वासका साथ पुनः एकपटक नेपाली राजनीतिमा देखिएका ज्वलन्त मुद्दाहरुको सम्बोधन गर्ने अठोट गरेको छ।
संघीय लोकतन्त्रको सीमाभित्र ‘बहुलता र विविधता बीचको एकता आम नेपालीको सच्चा राष्ट्रियता’ भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपाल निमार्णको आफ्नो ध्येयलाई पूरा गर्ने ‘प्रण’ नवौँ बुँदामार्फत् कांग्रेसले गरेको छ।
‘प्रतीज्ञा’ शीर्षकको दसौँ बुँदामा संसदभित्र विकल्प नभएसम्म कुनै बहानामा संसद् अवरुद्ध र प्रतिनिधि सभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ। नेकपा र एमालेभित्रको अन्तरद्वन्द्वका कारण प्रधानमन्त्री छँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटकको संसद् विघटनलाई लक्षित गर्दै कांग्रेसले सदन अवरुद्ध र विघटन नगर्ने प्रतिज्ञा गरेको हो।
‘विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमान्दारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, विधिको शासन र मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति कटिबद्ध छ,’ यो बुँदामा भनिएको छ, ‘संविधानको मर्म बमोजिम सरकारलाई संसदप्रति जवाफदेही बनाउँदै संसदभित्रबाटै विकल्प भएसम्म दलहरूभित्र हुनसक्ने द्वन्द्व वा संसदमा उत्पन्न हुनसक्ने गतिरोध वा अरु कुनै वहानामा संसद् अवरुद्ध हुन नदिई संसदलाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ।’
‘आह्वान’ शीर्षकको एघारौँ र बाह्रौँ बुँदामार्फत् आफूले सुरुवात गरेको अभियानमा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई नेपाली कांग्रेसले आग्रह गरेको छ भने अन्तिम (बाह्रौँ) बुँदामार्फत कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको आगामी निर्वाचनमा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ।
‘नेपाली कांग्रेस सबै नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय स्वाभिमान उच्च हुन्छ भन्ने मान्यताका साथ आम नेपालीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको समुन्नत नेपाल, सम्मानित नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानमा सहभागी हुन देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–बुबा, दिदी–भाइ तथा दाजु–बहिनीहरूमा हार्दिक आह्वान गर्दछ’ घोषणा पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपाली आमा–बुबा, दिदी–भाइ तथा दाजु–बहिनीहरूमा हार्दिक अपिल गर्दछ।’
‘प्रारम्भिक मस्यौदा’ तयारी उपसमितिका संयोजक डा. वाग्लेका भनाइमा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसले जारी गरेको घोषणा पत्रमा थपघट गरी आम निर्वाचन–२०७९ को ‘संकल्प पत्र’ तयार पारिएको हो।
‘यो संकल्प पत्र हामीले सामूहिक रुपमा तयार पारेका हौँ,’ डा. वाग्लेले भने, ‘त्यसका लागि हामीले स्थानीय तह निर्वाचनको घोषणा पत्रलाई आधार बनाएका छौँ।’
कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र जारी गर्ने जिम्मेवारी अर्का महामन्त्री गगन थापालाई दिएको थियो। तर, त्यो (स्थानीय तह) निर्वाचनमा जारी गरिएको घोषणा पत्रको सुरुवात यसपटकजस्तो बुँदागत र आकर्षक थिएन। दुई अनुच्छेद रहेको त्यो घोषणा पत्रको सुरुवातमै कांग्रेसले जनताबाट मतको अपेक्षा गरेको थियो।
आगामी निर्वाचनका लागि जारी संकल्प पत्रमा भने कांग्रेसले ठाडो भाषामा मत माग्नुको साटो संकल्प पत्रको पहिलो खण्डको अन्तिम (बाह्रौँ) बुँदामार्फत् ‘निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न’ आम जनतालाई आग्रह मात्र गरेको छ।
महामन्त्री शर्माले प्रयोग गर्ने भाषाको ‘फ्लेवर’ आउने यो पहिलो खण्डबाहेक अन्य खण्ड भने, उपसमिति संयोजक वाग्लेले भनेझैँ स्थानीय तह निर्वाचनमा जारी घोषणा पत्रलाई थपघट गरेजस्तै भेटिन्छ।
Shares
प्रतिक्रिया