ad ad

राजनीति


महादेवको विद्रोहले कास्की २ मा सत्ता गठबन्धनलाई संकट

माधव नेपाललाई भने : म शेरबहादुर देउवाको दास होइन
महादेवको विद्रोहले कास्की २ मा सत्ता गठबन्धनलाई संकट

वाशुदेव मिश्र
कात्तिक ४, २०७९ शुक्रबार १३:४१, पोखरा

कास्कीका कांग्रेस नेता महादेव गुरुङसँग अनेकौँ किस्सा जोडिन्छन्। 

बीपी कोइरालाको संगत गरेका, शैलजा आचार्यको ‘आदर्श’पच्छ्याएका महादेवलाई कांग्रेसहरुले भन्ने गर्छन्,‘अडान लिन्छन्, नेतासँग आफ्नो कुरा राख्न सक्छन् र आइपर्दा विद्रोह रोज्छन्।'

उनै महादेव युवा हुँदा यी घमण्डी पनि थिए। चित्त नबुझ्दा प्रतिवाद गरिहाल्थे। जिल्ला विकास समिति कास्कीको सभापति हुँदा उनी त्यही चरित्रका कारण राष्ट्रिय चर्चामा रहे। 

२०४६ सालको परिवर्तनपछि जिविस सम्हालेका उनले पोखरा-पामे सडक निर्माणको उद्घोष गरे। 

फेवा किनाराबाट बनाइने बाटोले ताल पुरिने भन्दै विरोध भयो। महादेव कास्कीको दक्षिण-पश्चिमी क्षेत्रका बासिन्दाको ‘लाइफ लाइन’ हुनसक्ने त्यो सडक रोक्ने पक्षमा थिएनन्। 

तर उक्त योजनाविरुद्ध नारा जुलुस भयो। तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग त्यही विषयमा उनी भनाभनमा उत्रिए। उनले सिडिओमाथि नै ‘हातपात’ गरे। त्यो विवादले उनी चर्चामा आए। उनकै अडानले बाटो बन्यो। 

अहिले फेवा किनार हुँदै पामे जाने बाटोले त्यस क्षेत्रका जनताको जीवनमा परिवर्तन ल्याएको छ। 

यी सडक बनाउने महादेवको ‘राजनीतिक राजमार्ग’ भने अहिले असहज बनेको छ। 

आगामी मंसिर ४ गतेको चुनावमा उनलाई सुरुमा प्रतिनिधिसभाको समानुपातिक सूचीमा राखियो। 

तर, महादेवकै शब्द सापट लिने हो भने, पार्टी सभापति शेरबहादुर देउवाले उनको नाम देख्नासाथ नाक खुम्च्याए। 

यो पटक उनको नाम काटियो। पार्टीले आफूमाथि अन्याय गरेको महसुस गरेसँगै उनले विद्रोहको बाटो रोजे।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए। उनले रोजेको त्यस क्षेत्रमा गठबन्धनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता श्रीनाथ बराललाई उठाएको छ।

एमालेबाट यसअघि नै चुनाव जितेकी विद्या भट्टराई मैदानमा छन्। उम्मेदवारी दर्तासँगै उनी चर्चामा छन्। उम्मेदवारी फिर्ता लिने दिनसम्म उनलाई पार्टी सभापति देउवाले उनीसँग सम्पर्क गरेनन्।

‘असोज २६ गते मलाई पार्टी सभापति( शेरबहादुर देउवा) को फोन आयो। मैले आफ्नो कुरा राखेँ’,महादेवले भने, ‘म अन्यायविरुद्ध मैदानमा ओर्लिएकाले पछि नहट्ने कुरा सुनाएँ।’ 

महादेवलाई कांग्रेसले २०४८ सालको चुनावमा कास्की क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको थियो। 

तर,नतिजा एमालेका सोमनाथ अधिकारी‘प्यासी’को पक्षमा गयो। महादेव १ हजार ५६५ मतान्तरले पराजित भए। 

२०५६ मा महादेवले बदला लिए। तत्कालीन कास्की क्षेत्र नम्बर २ का उम्मेदवार महादेवले एमालेका तुलबहादुर गुरुङलाई ४ हजार ३ सय १७ मतान्तरले हराए। 

महादेव पर्यटन राज्यमन्त्री भए। २०७० सालको चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँदा नतिजा फरक आयो।

कास्की क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका महादेव एमालेकी सीता गिरीसँग २ हजार २९१ मतले पराजित भए। 

कांग्रेमा महादेव अवसर पाउने नेतामै गनिन्छन्। गिरिजाप्रसाद कोइरालानिकट महादेव कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी थिए। 

तर, उनी सफल भएनन्। पार्टीभित्र ‘कर्नर’मा पारिँदै गएको महसुस भएसँगै उनी अहिले पक्का विद्रोही बनेका छन्। 

नेपाली कांग्रेसले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्ने सदस्यहरुलाई कारवाही नगर्ने निर्णय गरेको छ।

तर महादेवले विद्रोह रोजेपछि यहाँ गठबन्धनका उम्मेदवारलाई असर गर्ने देखिएको छ। त्यसैले महादेवलाई मनाउन दौडधूप चलेको छ। तर, महादेवले अडान छाडेका छैनन्। 

संयोग कस्तो भने कार्यकर्ता प्रशिक्षण लागि शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेताहरु पोखरामा छन्। 

कांग्रेस सभापति देउवा स्वयम्ले महादेवलाई भेट्न खोजे। तर, उनले अब सभापति देउवालाई नभेट्ने जवाफ फर्काए। 

बरु, उनले शुक्रबार बिहानै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरे। 

माधव नेपालले प्रतिगमनलाई परास्त गर्नकै लागि उम्मेदवारी निष्क्रिय पार्न महादेवसँग आग्रह गरे। राजनीतिमा आउने अन्य अवसरबारे ध्यान दिन सुझाए।

जवाफमा महादेवले भने,‘तपाईं (माधव नेपाल) आफैँले अन्यायमा परेपछि विद्रोह रोज्नुभयो, तपाईं विद्रोही नेता हो, मेरो विद्रोहको कारण तपाईंले बुझ्नुभएको छ। ५२ वर्ष बिताएको कांग्रेस छाडेर मैले रोजेको विद्रोहको कारण बुझिदिनुहोला, यो पैसा र पदको लागि गरिएको विद्रोह होइन। म शेरबहादुरको दास होइन र विद्रोह मेरो बाध्यता हो।’

उनले माधव नेपालसामु पनि देउवालाई नभेट्ने अडान लिए। सत्तारुढ अर्का नेता प्रचण्डसँग भेट्ने चाहना नभएको पनि सुनाए।

पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको चुनावी क्षेत्रमा उनको निधनपछि उपनिर्वाचन हुँदा धर्मपत्नी विद्या भट्टराई २४ हजार ३९४ मतले विजयी हुँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार १९१ मत प्राप्त गरेका थिए।

गत स्थानीय चुनाव हेर्ने हो भने अंकगणित र समीकरण दुवै बदलिएको छ। हिजोको माओवादी,एकीकृत समाजवादी र कांग्रेस एकातिर र अर्कोतिर एमाले छ। 

पोखराको मेयर एकीकृत समाजवादीका धनराज आचार्यले नै जितेका छन्। तर विद्या भट्टराई अहिले पनि त्यो निर्वाचन क्षेत्रमा बलियो देखिएकी छन्। महादेवको ‘बागी’ उम्मेदवारीले गठबन्धनलाई झन् संकटमा पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .