ad ad

राजनीति


‘माओवादीका मतदाताले गठबन्धनका दललाई मतदान गर्छन्?’

नेताहरू भन्छन्–कार्यकर्ताहरुमार्फत मतदाताहरुलाई स्पष्ट पार्छौं
‘माओवादीका मतदाताले गठबन्धनका दललाई मतदान गर्छन्?’

माओवादी नेताहरु श्रीकृष्ण अधिकारी र डिलाराम आचार्य।


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १०:२०, काठमाडौँ

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनसहित चुनावी मैदानमा होमिएका छन्। गठबन्धनमा भएको सहमति अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलहरुको चुनाव चिन्हमा मतदान गर्न संयुक्त अपिल भइसकेको छ। 

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मतपत्रमा रुख, हँसिया हतौडा वा कलम जे चुनाव चिन्ह छ त्यहीँ मतदान गर्न अपिल गरेका छन्। उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले रुख चिन्हमा मतदान गरिसकेका कारणले हँसिया हथौडामा मतदान गर्न हात नकमाउन समेत आग्रह गरेका छन्। 

गत स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै सहयोग नभएको र सहमति अनुसार मतदान गर्न अनुरोध नगरिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका गठबन्धनका एक घटक माधवकुमार नेपालले त कांग्रेसबाट आफूहरुलाई ‘धोका’ भएको वक्तव्य समेत दिएका थिए। 

आम निर्वाचन आउन एक महिना बाँकी रहँदा अब पुनः गठबन्धनमा आवद्ध हलहरूका मतदाताले एकअर्कालाई मतदान गर्छन् वा गर्दैनन्? भन्ने बहस सुरू हुन थालेको छ। माओवादी केन्द्रका नेताहरु मतदानमा कुनै समस्या नुहुने र राजनीतिक उपलब्धीको रक्षाका लागि गठबन्धनमा इमानदारितापूर्वक मतदान गर्नपर्ने तर्क गर्छन्। 

माओवादीका नेताहरू यस विषयमा के भन्छन्?
कार्यकर्ताहरुमार्फत मतदाताहरुलाई स्पष्ट पार्छौं : डिलाराम आचार्य, सचिव माओवादी केन्द्र

यो राजनीतिक मामिला हो। हामीले हँसियाहथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरु चिन्हमा भोट हाल्न अप्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो। आखिर यस खालको मोर्चाबन्दी जुन बनेको छ, निश्चित राजनीतिक उद्देश्यको निम्ति बनेको छ। यसखालको मोर्चाबन्दी बन्नुको पछाडी प्राप्त उपलब्धीहरु गुम्ने अवस्थामा पुगिसकेपछि हामीले काँग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेका हौं। त्यही गठबन्धनको निरन्तरतामा प्रतिगामी शक्तिहरुको बिरुद्धमा जुन गठबन्धन बनेको छ, यसको पक्षमा हामीले रुख, कलम, गिलास अथवा अरु कुनै चिन्हमा जहाँ हाम्रो गठबन्धन हुन्छ त्यसमा भोट हाल्नको निम्ति हामीले हाम्रा कार्यकर्ताहरुलाई आह्वान गर्छौं। जनताको तहमा गएर हामी यसरी भोट किन हाल्ने ? यसको राजनीतिक उद्देश्य के हो भन्ने कुरामा प्रष्ट पार्दै जान्छौँ। हाल्दैनौँ भनेर त्यस्तो घोषणा गरेको अवस्था त छैन। केही कन्फ्युजनहरु त छन्।

 डिलाराम आचार्य, केन्द्रीय सचिव माओवादी केन्द्र।

तर चुनावको छलफल, वहसको दौरानमा हामी यो सबै कुराहरुलाई क्लियर पारेर लैजान्छौँ। गठबन्धन भइसकेपछि हाम्रो उम्मेदवार कुनै ठाउँमा रुख चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो। कलम चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो। र हाम्रो आफ्नो हँसियाहथौडाको चिन्ह लिएको उम्मेदवार पनि अरु दलको पनि उम्मेदवार हो भनेर जुन गठबन्धनको स्प्रिट छ, त्यो स्प्रिट अनुसार हामीले हाम्रा कार्यकर्ताहरुमार्फत समग्र मतदाताहरुलाई स्पष्ट पार्ने कोशिस गर्छौं। यो कुनै दाउपेचको निम्ति होइन कि देश अगाडी लैजाने कि पछाडी धकेल्ने भन्ने एउटा लडाइँ भएको हुनाले हामीले यस्तो खालको गठबन्धन गरेर गएका छौँ र यो देशलाई एक पाइला अगाडी बढाउने र राजनीतिक रुपले जे उपलब्धी हासिल भएको छ। त्यसलाई जनताको जीवन व्यवहारमा उतार्नको निम्ति यस्तो हातेमालो गर्ने परिस्थिति सिर्जना भएको हो भन्ने कुरालाई नै स्पष्ट पार्दै हामी जनताको बीचमा जान्छौँ।

जनतालाई कन्भिन्स गर्छौं : श्रीकृष्ण अधिकारी, सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष, नेकपा माओवादी केन्द्र
कलम र रुखमा भोट भोट हाल्ने भन्ने कुरो मुद्दाको आधारमा हो। प्रतिगमनको बिरुद्ध अग्रगामीहरुको यो गठबन्धन हो। गठबन्धन एउटा विचारसहितको, उद्देश्य, नीति कार्यक्रम सहितको भएको हुनाले गठबन्धनमा आवद्ध जति दलहरु छन्। जो–जो, जहाँ उम्मेदवार परेका छन्, त्यहाँ हामी निर्धक्कसँग भोट हाल्नुहोस् भनेर हामीले आह्वान गर्छौं जनतालाई। जनताले मान्छन्। किनभने हामी घर–घरमा जान्छौँ। कन्भिन्स गर्छौं। कार्यकर्तालाई कन्भिन्स गर्छौं। यो प्रतिगमन बिरोधी गठबन्धन हो।

श्रीकृष्ण अधिकारी, सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष, नेकपा माओवादी केन्द्र।

प्रतिगमनलाई पराजित गरेर देशमा स्थिरता कायम नगरीकन विकास र समृद्धिले गति नलिने भयो। यो आधारमा हामीले जनतालाई कन्भिन्स गर्छौं र भोट हाल्न आह्वान गर्छौं। गठबन्धन भएको ठाउँमा नै अहिले हाम्रो उम्मेदवार हो। गठबन्धनका उम्मेदवार जहाँ–जहाँ, जो–जो छन् ति अर्को र हाम्रा भन्ने कुरा भएन। त्यो हाम्रो हो। समानुपातिकमा आ–आफ्ना पार्टीका मत माग्ने कुरा छँदैछ। त्यसमा हामी आ–आफ्नो चुनाव चिन्हमा हाल्नुहोस् भनेर भन्छौँ। गठबन्धनमा जहाँ–जहाँ उम्मेदवार परेका छन्। त्यो हाम्रै उम्मेदवार भनेर बुझ्नुपर्छ हामीले।

अहिलेको आवश्यक्ता गठबन्धन : रामप्रसाद न्यौपाने, माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य 
पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ। राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दाखेरी गठबन्धनका साझा उम्मेदवारहरु उठाइएको छ। ती गठबन्धनका साझा उम्मेदवारहरु अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ। यो अहिलेको आवश्यकता हो। खुशी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो। गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ। इमान्दार कार्यकर्ताहरुले गठबन्धनको जुन उम्मेदवार छ उसैलाई भोट हाल्नेछन्। व्यक्तिगत स्वार्थका लागि लाग्ने असन्तुष्ट मानिसहरुको भोट भने तलमाथि हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .