ad ad

राजनीति


रुपन्देही ५ मा एमालेबाट घिमिरे र भट्टराई दुवैको मनोनयन, अधिकारिक उम्मेदवार भोलि टुंगो लाग्ने

रुपन्देही ५ मा एमालेबाट घिमिरे र भट्टराई दुवैको मनोनयन, अधिकारिक उम्मेदवार भोलि टुंगो लाग्ने

नेपालखबर
असोज २३, २०७९ आइतबार २१:१७, बुटवल

रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको लागि एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ। तिलोत्तमाका पूर्वमेयर तथा एमालेका प्रदेश सदस्य बासुदेव घिमिरेले दिउँसो साढे ३ बजे उम्मेदवारी दर्ता गराएका हुन्। उनको दर्ताको क्रम संख्या ११ छ। 

त्यसको १ घण्टा १५ मिनेटपछि पौने ५ बजे एमालेका पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराईले मनोनयन दर्ता गरेका थिए। उनको क्रम संख्या १७ छ।
 
दुवै जनाले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन्। शनिबर साँझ एमालेले घिमिरेलाई चुनाव लड्न आधिकारिक पत्र दिएको थियो। त्यो पत्र बोकेर उनी मनोनयन दर्ता गर्न गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जाँदै थिए। त्यसैबेला केन्द्रबाट उनलाई रोकिन भनियो। 

खिमलाल भट्टराईलाई पार्टीले आधिकारिक उम्मेदवार बनायो। राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक समेत रहेका भट्टराईले सांसद पदबाट राजीनामा दिएर पार्टीको पत्र लिएर आए। एमालेको तर्फबाट उनले पनि उम्मेदवारी दर्ता गराए। दुवैको उम्मेदवारी दर्ता भए पनि एमालेको आधिकारिक उम्मेदवार को भन्ने अझै टुंगो लागेको छैन।
 
घिमिरेले आफूले उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै क्षेत्रीय कमिटी, जिल्ला, प्रदेश तथा केन्द्रीय कमिटीप्रति सामाजिक सञ्जाल मार्फत कृतज्ञता प्रकट गरेका छन्।

यता खिमलाल भट्टराईले पार्टी अध्यक्षको सिधा आदेश र पार्टी कार्यकर्ताको मागबमोजिम आफूले उम्मेदवारी दिएको बताएका छन्।  

भटराईले रुपन्देही ५ बाट उठ्ने लामो तयारी गरेका थिए। अर्कै क्षेत्रका घिमिरेलाई टिकट दिएपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका थिए। 
रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले एमालेको तर्फबाट दोहोरो उम्मेदवारी परेको र को अधिकारिक हो भन्ने बारेमा भोलि टुंगो लाग्ने जानकारी दिए। 

रुपन्देही क्षेत्र नम्बर ५ बाट कांग्रेसका भरतकुमार शाहले मनोनयन दर्ता गरेका छन्। उनी यो क्षेत्रमा बलियो उम्मेदवार मानिन्छन्।

२०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डिलाराम आचार्यलाई १२ हजार बढी मतअन्तरले पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .