राजनीति


मानुषीलाई अघि बढाउन समानुपातिक–प्रत्यक्ष दुवै निर्वाचनबाट पछि हट्दै हिसिला

मानुषीलाई अघि बढाउन समानुपातिक–प्रत्यक्ष दुवै निर्वाचनबाट पछि हट्दै हिसिला

हिसिला यमी र मानुषी यमी भट्टराई।


नेपालखबर
असोज ४, २०७९ मंगलबार १५:१५, काठमाडौँ

राजनीतिक दलहरुले समानुपातिकतर्फको प्रारम्भिक बन्द सूची निर्वाचन आयोगमा बुझाउने क्रमसँगै आगामी आम निर्वाचनमा उम्मेदवारीका लागि दौडधुप सुरु भइसकेको छ। 

तर, विगतमा पटक–पटक मन्त्री र संसद–संविधान सभाको सदस्य भइसकेकी एकजना शीर्ष नेतृ भने आगामी निर्वाचनका लागि समानुपातिक वा प्रत्यक्षतर्फ कतैपनि उम्मेदवार बन्ने दौडमा छैनन्। 

सबैजना टिकटका लागि हानथाप गरिरहेका बेला टिकटको दौडमा नरहेकी ती नेतृ हुन्, हिसिला यमी। उनी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) उपाध्यक्षको जिम्मेवारीमा छिन्। 

डा. बाबुराम भट्टराई यसपटक पनि गोर्खा–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि र छोरी मानुषी यमी भट्टराईले काठमाडौँ–७ बाट प्रतिस्पर्धा गर्ने तयारी गरेपछि हिसिला आगामी निर्वाचनमा प्रतिस्पर्धाको दौडबाट पछि हटेकी हुन्। 

शान्ति प्रक्रिया सुरु भएपछि पटक–पटक मन्त्री बनेकी हिसिला २०६४ को संविधान सभा निर्वाचनमा माओवादीबाट काठमाडौँ–७ बाट निर्वाचित भएकी थिइन्। तर, २०७० मा सोही क्षेत्रबाट पराजित भएकी उनी २०७४ को निर्वाचनमा भने प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरिनन्।

आम निर्वाचनपछि पार्टी एकता गर्ने गरी डा. भट्टराई नेतृत्वको ‘नेसपा’ ले आगामी निर्वाचनमा माओवादी केन्द्रकै ‘गोलाकारभित्रको हसिया–हथौडा’ चुनाव चिन्ह लिने सहमति गरिसकेको छ।  आन्तरिक सहमति अनुसार ‘नेसपा’ का पाँच नेतालाई समानुपातिक सूचीमा समेटिनेछ। 

तर, बन्दसूचीमा हिसिलाको नाम समावेश छैन। 

‘समानुपातिकतर्फको सूचीमा मात्र होइन, उहाँ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने सम्भावनापनि छैन’ नेसपा स्रोतले भन्यो, ‘माओवादी केन्द्रसँग एकता भएपछि नयाँ पार्टीमा पनि उहाँ सल्लाहकारको भूमिकामा मात्र रहने योजनामा हुनुहुन्छ।’

काठमाडौँ–७ मा यसपटक छोरी मानुषी यमी भट्टराईले प्रतिस्पर्धा गर्ने योजना बनाएपछि डा.भट्टराई–यमी परिवार हिसिला प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने योजनामा पुगेको हो। 

समानुपातिक र प्रत्यक्ष दुबैतर्फ डा. भट्टराई नेतृत्वको ‘नेसपा’ ले निकै कम सिट प्राप्त गर्ने स्थिति हुनुपनि यमी प्रतिस्पर्धा नगर्ने सोचाईमा पुग्नुको दोस्रो कारण हो। 

समानुपातिकतर्फ नेसपाबाट गंगानारायण श्रेष्ठसहित पाँच जना र प्रत्यक्षतर्फ डा. बाबुराम भट्टराई सहित बढीमा ४ जनाले उम्मेदवारी पाउने स्थिति छ। त्यसमध्ये डा. भट्टराई गोर्खा–२ बाट महिन्द्र राय यादवले सर्लाही–२ बाट प्रतिस्पर्धा गर्नेछन्। 

यसबाहेक सत्तागठबन्धनमा सहमति जुटेको खण्डमा नवलपरासी–२ र काठमाडौँ–७ माओवादी केन्द्रको तर्फबाट ‘जसपा’ ले पाउनेछ।  

माओवादी केन्द्रलाई काठमाडौँ–७ दिन कांग्रेस तयार भएपनि मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र श्रेष्ठले समेत त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्न चाहेकाले यो क्षेत्र कसले पाउँछ भन्ने ठेगान छैन। 

मानुषी नै उम्मेदवार भएको स्थितिमा त्यही पार्टीकी हिसिलाले काठमाडौँभित्रको  अन्य कुनै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धाको अवसर पाउने सम्भावना रहँदैन। यो कुरा बुझेरपनि उनले यसपटक प्रतिस्पर्धा नगर्ने मुड बनाएकी हुन्। 

हिसिला प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनेको स्थितिमा डा. भट्टराईको परिवारबाट तीन जनाले उम्मेदवारी पाउने स्थिति बन्छ। यसो हुँदा नकरात्मक सन्देश जानेतर्फ डा. भट्टराई र हिसिला दुबै सतर्क छन्। 

त्यसैले, हिसिला समानुपातिकतर्फपनि उम्मेदवार बन्ने छैनन्।

‘हिसिलाले चाहेको खण्डमा माओवादी केन्द्रको समानुपातिक सूचीमा पर्न कुनै समस्या छैन। तर, एउटै परिवारबाट तीन–तीन जनाको उम्मेदवारी हुँदा आलोचना हुनसक्छ’ स्रोतले भन्यो, ‘अर्काेतर्फ युवा उम्मेदवार भएकाले काठमाडौँ–७ बाट मानुषीको जीतको जति बढी सम्भावना छ, त्यति सम्भावना हिसिलाको हकमा रहँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .