ad ad

राजनीति


कांग्रेसले दुईतिहाइ र कम्युनिस्टले ४ सिट जितेको पहिलो संसदीय चुनावको कथा

कम्युनिस्टलाई मकैको घोगा, स्वतन्त्रलाई तराजु र घन्टा
कांग्रेसले दुईतिहाइ र कम्युनिस्टले ४ सिट जितेको पहिलो संसदीय चुनावको कथा

केशव सावद
भदौ १५, २०७९ बुधबार २०:०, काठमाडौँ

अमेरिकी लेखक नरम्यान डी पल्मरले दक्षिण एसियाको राजनीतिलाई विश्लेषण गरेर सन् १९७५ मा ‘इलेक्सन एन्ड द पोलिटिकल डेभलपमेन्ट : द साउथ एशियन एक्ससिरियन्स’ नामक पुस्तक लेखेका थिए।

पुस्तकमा निर्वाचनबाट उपलब्ध जनसमर्थनका कारण देशको शासन सञ्चालनका लागि जनताको वैधानिक समर्थन प्राप्त हुने मान्यता रहेका कारण स्वतन्त्र र स्वच्छ निर्वाचन नै प्रजातन्त्रको आत्मा मानिएको छ।

यही उद्देश्य अनुरुप नेपालमा पनि २००७ सालको जनक्रान्तिपछि हुकुमी जहाँनियाँ राणा शासनको ठाउँमा प्रजातान्त्रिक  शासन सञ्चालन गर्ने लक्ष्य राखेर नै निर्वाचित जनप्रतिनिधिद्वारा देशको मुल कानुन, संविधानको निर्माणको प्रतिवद्धता उच्च राजनीतिक तहबाट समेत गरिएको भुवनलाल प्रधानद्वारा लिखित पुस्तक ‘नेपालको जनक्रान्ति’ मा उल्लेख छ।  

तर, दरबारको असहयोग र राज्य सञ्चालनमा प्रत्यक्ष रुपमा राख्न खोजेको नियन्त्रणको शाही महत्वकांक्षा अनुरुप मनोनित समितिद्वारा संविधानको मस्यौदा लेखाउने कार्य भएको थियो।

यद्दपि, प्रख्यात संविधानविज्ञ बेलायती विद्धान सर आइभर जेनिङसको सल्लाहमा प्रजातन्त्र पक्षधर नेपाली कांग्रेसका प्रतिनिधिहरु पनि सम्मिलित उक्त संविधान मस्यौदा समितिद्वारा तयार गरेको संविधानले संवैधानिक राजतन्त्र र संसदीय प्रजातान्त्रिक व्यवस्थाको मार्ग अवलम्वन गर्ने निक्र्यौल गरेको थियो।

संविधानको मस्यौदा निर्माणका लागि २०१४ चैत ३ गते लोकसेवा आयोगका का.मु. अध्यक्ष भगवतीप्रसाद सिंहको अध्यक्षतामा पाँच सदस्यीय संविधान मस्यौदा समिति गठन भएको थियो।

समितिमा कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र होराप्रसाद जोशी, गोर्खा परिषदका तर्फबाट रणधीर सुब्बा र नेपाल ल क्याम्पसका प्रिन्सिपल रामराज पन्त सदस्यमा मनोनित गरिएका थिए।

४५ दिन लगाएर निर्वाचन, मतपरिणाम घोषणा गर्न एक महिना
तत्कालीन राजा महेन्द्र शाहले २०१५ साल फागुन १ गते संविधान जारी गरेका थिए। संविधानको धारा १८ देखि २२ सम्म संसद र संसद गठनबारे गरिएको व्यवस्थाअनुसार २०१५ चैत २८ गते नेपालमा पहिलो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।

‘नेपालको निर्वाचन इतिहास–१’ पुस्तकअनुसार उक्त प्रतिनिधिसभाको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भएर विभिन्न चरणमा सम्पन्न गर्ने क्रममा ४५ दिनमा पूरा भएको थियो। निर्वाचनको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो।

पहिलो संसदीय चुनावमा १०९ सीट मध्ये दुई तिहाई बहुमत पाएको नेपाली कांग्रेसले ७४ सीट जितेको थियो । कम्युुनिस्ट पार्टीले ४ सीट मात्रै जितेको थियो ।

कांग्रेसपछि प्रमुख प्रतिपक्षी दल बनेको नेपाल राष्ट्रवादी गोरखा परिषदले १९ सीट जितेको थियो । त्यस्तै संयुक्त प्रजातन्त्र पार्टीले ५ सीट जितेको थियो भने नेपाल प्रजा परिषद (कोदालो) ले २ सीट र नेपाल प्रजापरिषद (हलो) ले एक सीट जितेका थिए । स्वतन्त्र उम्मेदवारले ४ सीट जितेका थिए ।

चुनावमा भाग लिएका ९ दलमध्ये तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभाले शून्य सीटमा चित्त बुझाउनुपरेको थियो ।

नेपाली कांग्रेसले त्यसबेला देशभरिबाट ६ लाख ६६ हजार ८९८ मत पाएको थियो भने कम्युनिस्ट पार्टीले पाएको मत १ लाख २९ हजार १४२ थियो ।

गोर्खा परिषदले ३ लाख ५ हजार ११८ मत पाएको थियो भने संयुक्त प्रजातन्त्र पार्टीले १ लाख ७७ हजार ४०८ मत पाएको थियो । कम्युनिस्ट पार्टी मत र सीट दुबै  हिसाबले चौथो शक्ति बनेको थियो ।

विसं. २०१५ को संसदीय चुनावमा मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो। निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए।

‘प्रतिनिधिसभामा १०९ जना सदस्य रहने व्यवस्था गरिएको थियो,’ पुस्तकमा लेखिएको छ, ‘प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन २५ वर्ष पूरा भएको हुनु पर्ने र २१ वर्ष पूरा भई मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था थियो।’

निर्वाचन आयोगको अभिलेखअनुसार नेपालमा प्रजातन्त्रको अभ्युदयपछि २०१५ सालमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कुल

‘नेपालको निर्वाचन इतिहास–१’ पुस्तक अनुसार एक निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो। मतगणनाको परिणाम सबैभन्दा पहिले निर्वाचन क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व) र अन्तिम निर्वाचन क्षेत्र नम्बर ८७ (बागलुङ उत्तर क्षेत्र) को घोषणा भएको पुस्तकमा उल्लेख छ।

उक्त निर्वाचनमा सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर ७४ (जुम्ला दक्षिण) मा ५६ हजार ९३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ६७ (बैतडी पूर्व–दक्षिण) २३ हजार ४६७ थिए।

निर्वाचनमा सबैभन्दा बढी मत निर्वाचन क्षेत्र नम्बर १ मा (२७ हजार ३९४) र सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ७६ मा (६ हजार ८७) खसेको थियो।

२०१५ सालको चुनावमा भाग लिने चर्चित नेताहरुमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल श्रेष्ठ, सुवर्ण शमशेर जबरा, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, द्वारिकादेवी ठकुरानी, बेनीबहादुर कार्की लगायत थिए ।

पराजित किशुनजी सभामुख, एकमात्र महिला मन्त्री
२०१५ मा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा सन्तनेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। भट्टराई नेपाल राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवार विश्वनाथ सुवेदीसँग पराजित भएका हुन्।

निर्वाचन क्षेत्र नम्बर १०४ बाट उम्मेदवार बनेका भट्टराईले २ हजार ८०८ मत प्राप्त गरेका थिए। प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उनलाई सभामुखमा नियुक्त गरिएको ‘नेपालको निर्वाचन इतिहास–१’ उल्लेख छ।

पहिलो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। प्रतिनिधिसभाका १०९ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७४ सिट जितेको थियो। दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा १९ सदस्यीय प्रथम जननिर्वाचित मन्त्रिमण्डल गठन भएको थियो।

निर्वाचनमा कांग्रेसले द्वारिकादेवी ठकुरानीलाई मात्र महिला उम्मेदवार बनाएको थियो। उनी निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट निर्वाचित भएकी थिइन्। ठकुरानी नेपालकी प्रथम महिला मन्त्री हुन्। उनलाई पहिलो जननिर्वाचित मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनाइएको थियो।

पहिलो प्रमुख निर्वाचन आयुक्त सुवर्ण शमशेर
२०१५ मा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा सुवर्ण शमशेर ‘प्रमुख निर्वाचन अधिकृत’ थिए। उनलाई २००८ साल कार्तिक २६ गते नै तत्कालीन राजा त्रिभुवनले प्रधान निर्वाचन कमिशनरमा नियुक्त गरेका थिए। प्रधानमन्त्री मोहन शमशेरको पालामा भएको नियुक्तिमा प्रद्युम्नलाल राजभण्डारीलाई निर्वाचन कमिशनर बनाइएको थियो।

‘नेपालको निर्वाचन इतिहास–१’ अनुसार २०१३ मा निर्वाचन कमिशनले गरेको कार्य अवैधानिक भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको तर्फबाट सरकारी वकिलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

तर, अदालतले ‘निर्वाचन कमिशनले गरेको यावत कार्यलाई जनप्रतिनिधित्व ऐन, २०१५ अन्तर्गत भएको मान्नु पर्दछ’ भन्ने फैसला गरेपछि २०१५ जेठ २१ गते मतदाता नामावली सार्वजनिक गरिएको थियो।

निर्वाचन कमिशनले २००८ सालदेखि नै मतदाता सूची तयार गर्न सुरु गरेको थियो। ‘नेपालको निर्वाचन इतिहास–१’ मा २००८ कार्तिक १ गते २१ वर्ष वा सोभन्दा बढी उमेर भएका र २००७ साल मार्ग मसान्तभित्र नेपाल राजयभित्र कमसेकम ६० दिन बसेका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिएको उल्लेख छ।

निर्वाचन आयुक्त सुवर्ण र कांग्रेस नेता सुवर्ण एकै व्यक्ति हुन्?
तत्कालीन राजा त्रिभुवनले प्रधान निर्वाचन कमिशनरमा नियुक्त गरेका सुवर्ण शमशेर र कांग्रेस नेता सुवर्ण शमशेर फरक–फरक व्यक्ति हुन्। पत्रकार तथा इतिहासका अध्येता जगत नेपालले दुवै सुवर्ण शमशेर एउटै कालखण्डका ऐतिहासिक जिम्मेवारी वहन गरेका अलग–अलग व्यक्ति भएको बताएका छन्।

उनअनुसार कांग्रेस नेता सुवर्ण भीम शमशेरका र प्रथम प्रधान निर्वाचन कमिशनर सुवर्ण वीरशमशेरका सन्तान हुन्। नेपालमा प्रजातन्त्रको जग बलियो बनाउन दुवै सुवर्णको ऐतिहासिक भूमिका रहेको नेपालको भनाइ छ।

कम्युनिस्टलाई मकैको घोगा, स्वतन्त्रलाई तराजु र घन्टा
निर्वाचन आयोगले कम्तिमा २२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने राजनीतिक दललाई छुट्टै निर्वाचन चिह्न दिने निर्णय गरेको थियो। आयोगका अनुसार उक्त निर्णय बमोजिम कम्तिमा २२ निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउने भनेर सूचना दिने दलहरुलाई निर्वाचन चिह्न दिइएको थियो।

नेपाली राष्ट्रिय कांग्रेसले २२ निर्वाचन क्षेत्रमा चुनाव लड्ने गरी ‘छाता’ चुनाव चिह्न पाएको थियो। तर, चुनाव लड्दा २० क्षेत्रमा मात्रै उम्मेदवार खडा गरेको ‘नेपालको निर्वाचन इतिहास–१’ मा उल्लेख छ।

नेपाली कांग्रेसले त्यसबेला पनि रुख चिह्न लिएको थियो । कम्युनिस्ट पार्टीको भने हँसिया हथौडा वा सूर्य चिह्न नभएर मकैको घोगा र हँसिया चिह्न थियो । नेपाल राष्ट्रिय कांग्रेसले छाता र तराई कांग्रेसले लंगौटी लगाएको मानिसको टाउकोमा गहुँको बिटा बोकेको चिह्न पाएको थियो ।

नेपाल प्रजा परिषदका दुई गुटले हलो र धान भरेको डालो चिह्न पाएका थिए । गोर्खा परिषदले झपडी र प्रजा परिषदले धानको बाला चिह्न पाएका थिए ।  प्रजातान्त्रिक महासभाले हात चिह्न पाएको थियो ।

निर्वाचनमा १२ वटा स्वतन्त्र निर्वाचन चिह्न दिइएको थियो। ती चिह्नमा घडी, चरा, माछा, औंला, हात्ती, तराजु, घण्टा, सारंगी, धारा, घोडा, डुंगा र फूल थिए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .