ad ad

राजनीति


स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको आग्रह

स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको आग्रह

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १४:४०, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन्। 

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन्।

उनले भनिन्, ‘स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामू विद्यमान ठूलो चुनौती हो। स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालिन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। नेपाल सरकारमा सम्वद्ध संस्थाहरुले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु।’

राष्ट्रपति भण्डारीले कोभिडको कठीन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंशा गरिन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशहरुमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिनहरु नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताए। 

राज्यमन्त्री केसीले भने, ‘निकट भविष्यमा विश्वमा रहेका अत्याधुनिक मेसिनहरु, औजारहरु भित्र्याउने र सेवा विस्तार गरेर त्यसलाई सर्वसुलभ बनाउने मन्त्रालयले योजना बनाएको छ। आम जनतालाई सो सेवा पाउने गरी सबै जिल्ला र प्रदेशहरुको प्रसुती सेवासहितको अस्पतालको व्यवस्था गरिनेछ।’

राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .