राजनीति


प्रधानमन्त्री शल्यक्रियाअघिको अवस्थामा फर्किन अझै एक साता

प्रधानमन्त्री शल्यक्रियाअघिको अवस्थामा फर्किन अझै एक साता

मणि दाहाल
मंसिर २३, २०७६ सोमबार १२:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १० गते आफ्नो अपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि पहिलोपटक सोमबार साँझ मन्त्रिपरिषदको बैठक बोलाए। तर, उनले सोमबार नै भएको उनकै पार्टी नेकपाको सचिवालय बैठकमा भने सहभागी भएनन्।

प्रधानमन्त्री कार्यालयको सचिवालय र उनको उपचारमा संलग्न डाक्टरहरुका अनुसार ओलीको पछिल्लो अवस्था हेर्दा उनलाई शल्यक्रिया अघिको अवस्थामा फर्किन एक साता लाग्नेछ।

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको उपचारमा संलग्न रहेका एक चिकित्सकका अनुसार शल्यक्रियाको घाऊ निको भएको तर शारीरिकरुपमा कमजोर रहेकाले प्रधानमन्त्रीलाई शल्यक्रियाअघिको अवस्थामा जस्तै हुनका लागि अझै एक साता लाग्ने बताए।

‘शल्यक्रिया गरिएको घाऊ निको भैसकेको छ। तर प्रधानमन्त्री शारिरिक रुपमा कमजोर हुनुहुन्छ । त्यसका लागि आराम आवश्यक छ। शल्यक्रियाअघिको जस्तै अवस्थामा सक्रिय हुनका लागि उहाँलाई अझै एक साता लाग्ने छ,’ ती चिकित्सकले भने। चिकित्सकले प्रधानमन्त्रीको खानपिन लगायतमा कुनै समस्या नभएको पनि बताए।

प्रधानमन्त्री ओलीको मंसिर १० मा शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। अपेन्डिसाइटिस फुटेका कारण प्रधानमन्त्रीको पेटमा समेत संक्रमण भएको थियो। १० दिन अस्पतालको उपचारपछि उनी गत बिहीबार डिस्चार्ज भएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आराम र काम दुवै कुरालाई सन्तुलन मिलाएर अघि बढाएको बताए ।

‘अहिलेको आवश्यकता आराम हो। तर प्रधानमन्त्रीले अत्यावश्यक काम र बैठकहरु पनि गरिहनु भएको छ,’ थापाले नेपालखबरसँग भने। ‘शल्यक्रिया गर्दाको घाउ निको भए पनि शल्यक्रिया अघिकै अवस्थामा भने अझै पुग्नुभएको छैन।’

प्रधानमन्त्री ओलीले केहि हप्ताको अन्तरालपछि सोमबार मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। तर पार्टीको सचिवालय बैठकमा भने स्वास्थ्यकै कारण उपस्थित भएनन्। ‘बैठकमा मात्रै उपस्थित हुन नसक्नु भएको हो। तर, दुवै अध्यक्षहरुबीच छलफल भैरहेको छ,’ थापाले भने।

सचिवालय बैठकको संयोजन गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँगको आइतबार भेट्दा पार्टीको बैठकमा उपस्थित हुनेभए बालुवाटारमैं राख्न प्रस्ताव गरेका थिए। तर, ओलीले स्वास्थ्यको कारण सहभागी नहुने भनेपछि बैठक पार्टी कार्यालय धुम्बाराही मैं राखिएको थियो।

प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले समेत काम गर्न छाडेपछि डायलासिस शुरु गरिएको छ। यसैबीच अपेन्डिसाइटिसको समेत समस्या थपिएको हो।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुको टोली अपेन्डिसाइटिसको घाऊ ठीक भएसँगै उनको मृगौला प्रत्यारोपण गर्ने वा नयाँ मृगौला थप्ने विषयमा परामर्श गरिरहेका छन्।

त्यसका लागि विदेश जाने वा स्वदेशमैं आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञहरुलाई समेत ल्याएर काठमाडौंमैं प्रत्यारोपण गर्ने भन्ने विषयबारे पनि चिकित्सकहरुको सो टोलीले अध्ययन गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .