ad ad

राजनीति


गठबन्धन सरकार नालायक भयो, यसको कुनै औचित्य छैन : प्रेम सुवाल

प्रचण्डका घरबेटीले अलपत्र पारेका सडकबारे उठाए प्रश्न
गठबन्धन सरकार नालायक भयो, यसको कुनै औचित्य छैन : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७९ आइतबार १२:५२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। 

खराब ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालोबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनले बताएका हुन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माण अलपत्र पारेर बसेको शैलुङ कन्सट्रक्सनलाई अविलम्ब काम पूरा गराउन पनि सरकारसँग माग गरे। 

मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुल्दा पनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश पोखे। 

सांसद सुवालले सरकारमा गइसकेका राजनीतिक दलहरूको सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला, धुवाँधुलो र प्रदूषणको समस्या समाधान गर्न नसक्ने दाबी गरे। 

‘काठमाडौंको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीले समाधान गर्न सक्नु भएन। यो समस्याको समाधान सरकारमा गएका राजनीतिक पार्टीबाट कहिल्यै हुने छैन । यो जनताको अभिमत हो', उनले भने, 'काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देशको विकास हुन सक्दैन। स्वीटजरल्याण्डमा प्रदेशलाई क्यान्टोन भनिन्छ। त्यहाँ अध्ययन, उपचार, रोजगारीका लागि एक क्वान्टोनबाट अर्को क्यान्टोनमा गएपछि अन्तत: आफ्नै क्यान्टोनमा फर्किएर विकास गर्ने व्यवस्था छ। यस्तो व्यवस्था संसारको धेरै देशमा छ। नेपालमा यस्तो छैन । त्यसकारण नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ।'

उनले काठमाडौं उपत्यकाका सडक निर्माणको धेरै वटा ठेक्का ओगटेर अलपत्र पार्ने निर्माण व्यवसाय शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बसेको पनि सम्झाए। 

'शैलुङ कन्स्ट्रक्सनले नै ठेक्का पाएको भक्तपुर–नगरकोट सडकको काम २०७१ जेठ २२ बाट सुरु भएको हो । २०७३ असार ३ गते भित्र सकिनुपर्ने थियो । यो सडक अविलम्ब निर्माण गर्न नेपाल मजदुर किसान पार्टीले तेलकोटदेखि खरिपाटीसम्म प्रदर्शनसहित माग गरेको पनि ५ वर्ष भयो', उनले भने, 'तर सरकारले ७ पटक म्याद थपे । अहिले ७९ प्रतिशत मात्र काम भएको समाचार आएको छ। नगरकोट र दुवाकोटको सडक लगायत अविलम्ब पूरा गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'

यो सरकारको कुनै औचित्य नभएको उनले दोहोर्‍याए। 'सरकार खराब ठेकेदारदेखि डराउने, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालोबजारी, तस्करदेखि डराउने यस्तो सरकारको औचित्य नभएको जनताको गुनासो छ', उनले भने, 'मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनीहरुले गरिबमाथि गरेको अत्याचार हो यो। सरकार नालायक भएपछि अत्याचार बढेको हो। ३२ वर्षयता बहुलवादी दावी गरेकाहरुकै सरकारमा मिटरव्याजी साहुहरूको राज चालेकोमा जनताको ठूलो विरोध छ।'

सांसद सुवालले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै त्यसबारे तत्काल छानबिन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .