ad ad

राजनीति


सत्ता गठबन्धनमा संसदीय सिट बाँडफाँट : ६०/ ४० कि ५२/४८?

सत्ता गठबन्धनमा संसदीय सिट बाँडफाँट : ६०/ ४० कि ५२/४८?

सागर न्यौपाने
साउन २०, २०७९ शुक्रबार २३:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने भ्रमणको लागि जापान गएका छन् । उनी २४ गते स्वदेश फर्कनेछन्।

त्यसअघि बालुवाटारमा शुक्रबार नै बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटसहितका काम मिलाउन ११ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको थियो।

प्रचण्डले जापान उड्नुअघि प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटका लागि तयारी गर्न नेताहरू वर्षमान पुन र देव गुरुङलाई होमवर्कको जिम्मेवारी दिएका छन् ।

शुक्रबार बिहान बसेको सत्तारूढ ५ दलीय गठबन्धनको बैठकले प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटको बाँडफाँट गर्न ११ सदस्यीय समिती/ कार्यदल बनाइसकेको छ।

त्यही कार्यदलमा माओवादीबाट सदस्य छन्  पुन र गुरुङ।
गठबन्धनमा काङ्ग्रेसपछिको ठूलो दल माओवादी केन्द्र हो।

गठबन्धनले गर्ने सिट बाँडफाँटमा माओवादीको हिस्सा टुंगो नलगाइ अन्य तीन दलको मिल्ने सम्भावना छैन।

त्यही भएर प्रचण्डले नेताहरूलाई आफ्नो पार्टीको अवस्थाबारे अध्ययन र विश्लेषण गर्न जिम्मेवारी दिएर जापान उडेका छन् ।

माओवादी नेता गुरुङले स्थानीय तहमा पाएको मत, संगठन र अघिल्लो २०७४ को सिट संख्या सबैलाई आधार बनाएर अध्ययन गर्ने बताए।

'कतिपय ठाउँमा हाम्रो पार्टीमा लहर बढेको छ, केही जिल्ला र क्षेत्रमा हामी पहिलो दल हौं,' गुरुङले नेपालखबरसँग भने, 'सिट बाँडफाँट गर्दा यी सबै विषय हेरिन्छ।'

गुरुङले माओवादीले कतिमा दाबी गर्छ भन्न चाहेनन्। तर माओवादीले यसपटक पहिला जितेको ३६ बाट कम्तिमा १० सिट बढाउने उनको दाबी थियो।

६०/ ४० कि ५२/४८
नेपाली काङ्ग्रेसले एक्लै बहुमत ल्याउने योजनासहित गठबन्धन गर्ने निर्णय गरिसकेको छ। त्यो भनेको १ सय ५ सिट हुन्छ।

तर काङ्ग्रेसभित्र आन्तरिक तयारी भने कम्तीमा ९९ सिट जित्नुपर्छ भन्ने छ। काङ्ग्रेसका प्रभावशाली एक नेताले कम्तीमा ९९ सिट पाउनुपर्ने पार्टीको माग रहेको बताए।

तर गठबन्धनका अन्य चार दलले त्यो मान्ने पक्षमा छैनन्।

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले स्थानीय तहको चुनावमा जस्तो हचुवाको भरमा सिट बाँडफाँट नहुने बताए।

'अहिलेसम्म हामीले सिटका विषयमा छलफल गरेका छैनौं', उनले भने, 'अब बल्ल छलफल सुरु हुन्छ। कसैलाई अन्याय पर्नेगरी सिट बाँडफाँट हुँदैन। औचित्य र बलियो आधार हेरिन्छ।'

राष्ट्रिय जनमोर्चाका नेता तथा सिट बाँडफाँट समितिका सदस्य आनन्द शर्माले पनि पार्टीभित्रको अवस्था हेरेर अनि मात्रै निष्कर्षमा पुगिने बताए ।

अहिलेसम्म नेताहरूले ठ्याक्कै मुख खोल्न नमाने पनि स्रोतका अनुसार काङ्ग्रेसलाई ५२ प्रतिशत दिएर ४८ प्रतिशत ४ दलले लिने सम्भावना उच्च छ।

त्यो भनेको प्रत्यक्षतर्फका १ सय ६५ मा काङ्ग्रेस लाई ८५ सिट दिने र बाँकी ८० सिट माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बाँडफाँट हुन सक्ने स्रोतले बतायो।

समाजवादीका महासचिव भुसाल भने संख्याका विषयमा छलफल हुने र सहमति कायम गरिने बताउँछन्।

अहिले काङ्ग्रेसले केन्द्रीय कार्यसमितिबाट बहुमत लिने भनेर गरेको निर्णय ६० र ४० को मोडेल हो।

९९ काङ्ग्रेसले लिएर बाँकी ६५ सिट चार दललाई बाँड्ने योजनामा चार दलले मान्ने सम्भावना नभएको नेताहरू बताउँछन् ।

गठबन्धनभित्रको तीन दल राष्ट्रिय जनमोर्चाबाहेक सिट संख्या गठबन्धनको विषयमा छलफल भइरहेको छ।

उनीहरुबीच अर्को गठबन्धन बनाएर जाने सम्भावना पनि छ। त्यस्तो अवस्थामा काङ्ग्रेस एक्लैलाई बहुमत पुग्न नदिने मात्र होइन, निर्णायक सिट जित्न सकिने उनीहरुको विश्लेषण छ।

यसबारे पहिले पार्टीमा छलफल गर्ने, देशभरको रिपोर्टिङ लिने र साउन २६ पछि बल्ल गठबन्धनमा छलफल गर्ने तयारी छ।

११ सदस्यीय समितिले साउन मसान्तसम्म सिट बाँडफाँटको प्रस्ताव गठबन्धनलाई पेश गर्नुपर्नेछ।

स्थानीय तहमा जस्तै एमालेले जितेको संख्या बाँडफाँट गर्ने सम्भावना पनि छ। ०७४ मा एमालेले ८१ सिट जितेको थियो। माओवादीले ३७ र काङ्ग्रेसले २३ सिट जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .