ad ad

राजनीति


‘फुटेज’को अध्ययन सकियो, अब जनार्दन शर्मा चोखिन बाँकी

‘फुटेज’को अध्ययन सकियो, अब जनार्दन शर्मा चोखिन बाँकी

नेपालखबर
साउन १०, २०७९ मंगलबार २१:५५, काठमाडौँ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले फुटेजको अध्ययन सकेको छ। अब शर्मालाई चोख्याउने गरी प्रतिवेदन तयार पार्न लागिएको छ।

गत १४ जेठ राति बजेट निर्माण गर्दा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गरेको विषयमा छानविन गर्न गठित संसदीय विषेश छानविन समितिले प्रतिवेदन नबुझाउँदासम्म माओवादी नेता शर्माको सिंहदरबार पुनरागमन रोकिएको छ । समितिले क्लिन चिट दिएमा पुनः अर्थमन्त्री बन्ने शर्माको योजना छ ।

अर्थमन्त्रालयमा रहेको सीसीटीभी फुटेज डिलिट भएको भन्दै प्रहरीको फरेन्सिक ल्यावमा पठाएर रिकभर गराइएको थियो । तर, रिकभर भएको सीसीटीभीमा अर्को व्यक्ति मन्त्रालय छिरेको प्रमाण नभेटिएको समितिका एक सदस्यले दाबी गरे।

समितिले मंगलबार (१० साउन) मा प्रहरीले दिएको फरेन्सिक ल्यावको रिपोर्ट सहितको फुटेज हेरेको थियो । सुरुमा समितिका सदस्यले मात्र हेरेको रिपोर्ट नबुझेपछि प्रहरीकै फरेन्सिक विज्ञ बोलाएर दिउँसो हेरिएको थियो ।

‘फरेन्सिक रिपोर्टबाट अर्थमन्त्रीले नयाँ व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको देखिएन,’ एक समिति सदस्यले नेपालखबरसँग भने,’ हामीले जेठ १४ र १५ गते दुबै दिनको फुटेज हे¥यौं ।’

ती सदस्यका अनुसार दुई घण्टाभन्दा बढीको फुटेज हेरिएको थियो । फरेन्सिक विज्ञले ब्रिफिङ गरेका थिए ।

‘अर्थमन्त्रालयमा नयाँ गाडी आएको÷ गएको, मन्त्रीको कोठामा नयाँ व्यक्ति प्रवेश गरेको केही पनि देखिएन,’  ती सदस्यले थपे,’ अब हामी शर्माको संलग्नता छैन भन्ने निस्कर्षमा पुगेका छौँ ।’

एमालेका सांसदहरुले भने सत्ता पक्षले प्रमाण नष्ट गरेको आरोप लगाएका छन् ।

तर, समितिका सबै सदस्य राखेर रिकभर भएको सीसीटीभी हेर्दा कोही नदेखिएको अर्का सदस्यले बताए । उनले भने, ‘अब निस्कर्षसहित प्रतिवेदनलाई अन्तिम रुप दिन लाग्छौँ ।

प्रतिवेदनमा लेखिने विषयबस्तुबारे भोलि (११ साउन) साढे ११ बजे फेरि बैठक बस्ने समिति सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

१४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अरु नै व्यक्ति प्रवेश गरी बजेट र करको दायरा हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप लागेपछि उनले राजीनामा दिइसकेका छन् ।

२२ असारमा गठित ११ सदस्यीय छानविन समितिले अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग वयान लिएको थियो।

सुरुको १० दिन र थप गरिएको ७ दिनमा पनि समितिले अध्ययन सकेर अब प्रतिवेदन लेख्न लागेको हो ।

समितिले सिंहदरबार प्रवेश गर्ने पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज पनि मगाएको थियो ।

विशेष समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर र राजस्व उपसचिवसँग वयान लिएको थियो ।

३१ असारमा समितिलाई अर्थ मन्त्रालयले सिसिटिभी फुटेज (हार्डडिस्क) उपलब्ध गराइएको थियो । १ साउनमा अर्थकै आइटी विज्ञ उपसचिवलाई बोलाएर सो फुटेज हेरिएको थियो ।

फुटेजबाट प्रमाण फेला नपरेपछि समितिले कस्तो रिपोर्ट लेख्ने भन्ने निर्णय गर्न बाँकी छ। सबै सहमत भएरै रिपोर्ट बनाउने प्रयास गर्न लागिएको छानविन समितिका सदस्य बताउँछन् । ती सदस्य भन्छन्, ‘कुनै क्लु देखिएको छैन, अब पनि पाइएला जस्तो लाग्दैन । रिपोर्ट लेख्दा के शब्द राख्ने, सल्लाह गर्छौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .