ad ad

राजनीति


जनार्दन शर्मामाथि छानबिन थालियो, पहिलो दिन कार्यविधि तय, सभापति छानिँदै

जनार्दन शर्मामाथि छानबिन थालियो, पहिलो दिन कार्यविधि तय, सभापति छानिँदै

फाइल तस्बिर


नेपालखबर
असार २८, २०७९ मंगलबार १७:४४, काठमाडौँ

बजेट निर्माणका क्रममा विचौलिया प्रयोग गरेर करका दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथिक छानबिन अघि बढेको छ।

गत असार २२ गते गठित ११ सदस्यीय छानबिन समितिको बैठक ६ दिनपछि मंगलबार दिउँसो सिंहदरबारमा बसेको हो। 

समितिका सचिवसमेत रहेका संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले मंगलबारको पहिलो बैठक जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको जानकारी दिए।

उक्त बैठकले समितिको कार्यविधि तयार गरेको अर्यालले बताए। उनका अनुसार मंगलबारको बैठकका दुई एजेन्डामा पहिलो कार्यविधि तय र दोस्रो समिति सभापति निर्वाचित गर्ने रहेको थिए।

'आजको बैठकमा कार्यविधिबारे छलफल भएको छ। प्राप्त सुझवालाई आधार मानेर अघि जाने गरी कार्यविधि पास भएको छ', उनले भने, 'तर समितिको सभापतिको निर्वाचन भइसकेको छैन। सकेसम्म सर्वसम्मबाट सभापति चयन गर्ने
कुरा भएको छ। अर्को बैठकसम्म सहमति गर्ने गरी आज उठेका छौँ।'

अर्यालले अर्को बैठक बुधबार दिउँसो साढे २ बजे बस्ने तय भएको बताए। त्यही बैठकले सभापति तय गरेर सम्बन्धित निकायमा पत्राचार गरेर मन्त्री शर्मा विवादमा जोडिएकासम्बन्धी विवरण माग्ने कुरा भएको पनि अर्यालले बताए। 

तत्कालीन अर्थमन्त्री शर्मालाई जेठ १४ मा आगामी आर्थिक वर्षको बजेटका करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो।

त्यही प्रकरणलाई लिएर शर्माले पदबाट राजीनामा दिएका थिए। उक्त घटना छानबिनका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो। उक्त समितिमा एमालेका चार, कांग्रेस र माओवादीका २/२ सहित ११ जना सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .