ad ad

राजनीति


मधेशमा किन बढारियो माओवादी?

अघिल्लो चुनावमा २१ पालिका जितेको माओवादी यसपालि ९ तहमा सीमित
मधेशमा किन बढारियो माओवादी?

सागर न्यौपाने
जेठ १२, २०७९ बिहिबार २०:१६, काठमाडौँ

०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रभन्दा एमाले कमजोर बन्यो। त्यही चुनावी परिणामले माओवादीलाई हेर्ने एमालेको नजर बदलिदियो। माओवादीलाई पार्टी समेत मान्न नचाहने एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धन बनाउन तयार भए।

लगत्तै मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनमा दुई पार्टी मिलेर लडे र स्पष्ट बहुमत ल्याए। तर, यस पटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले मधेशमा लज्जास्पद हार बेहोरेको छ।

२०७४ मा मधेशमा २१ स्थानीय तह जितेको माओवादीले अहिले ९ पालिका मात्र जितेको छ। जबकि यसपालि माओवादीले अन्य दलसँग गठबन्धन समेत गरेको थियो।

७ नगरपालिका र २ गाउँपालिका जित्दा माओवादी केन्द्र मधेशमा पाँचौँ दल बन्न पुगेको छ। जबकि चुनावअघि माओवादी नेताहरुले अघिल्लो पटकभन्दा दोब्बर पालिका जित्ने दाबी गरेका थिए।

माओवादीका एक नेताले तराई/मधेशमा पार्टी बढारिएको प्रतिक्रिया दिए।

‘अघिल्लो चुनावमा २१ पालिकामा प्रमुख जितेको माओवादी अहिले नौ मै खुम्चनु भनेको बढारिएको हो,’ ती नेताले नेपालखबरसँग भने, ‘एमालेभन्दा बलियो हाम्रो पार्टी अहिले खस्किएर गयो।’

मधेशमा पाँचौँ दल
मधेश प्रदेशमा २६ नगरपालिका र १९ गाउँपालिका अध्यक्ष सहित ४५ तह जितेर कांग्रेस पहिलो, १४ नगर र १० गाउँपालिका अध्यक्षसहित २४ तह जितेर एमाले दोस्रो, ७ नगरपालिका र १७ गाउँपालिकाको प्रमुख जितेर जनता समाजवादी पार्टी (जसपा) तेस्रो बनेको छ।

माओवादी केन्द्रले नगरपालिका प्रमुख ७ र गाउँपालिका २ सहित जम्मा ९ तह जितेको छ।

मधेश प्रदेशमा ६ हजार २७९ जनप्रतिनिधि निर्वाचित भए। त्यसमध्ये कांग्रेसबाट ४५ प्रमुख, ५२ उपप्रमुख, ४०४ वडाध्यक्ष, ३९३ महिला सदस्य, ४०३ दलित महिला सदस्य र ८२३ वडा सदस्यसहित २ हजार १ सय १९ निर्वाचित भए।

दोस्रो बनेको एमालेका प्रमुख २४, उपप्रमुख २२, वडा अध्यक्ष २५४, महिला सदस्य २७०, दलित महिला सदस्य २६४ र वडा सदस्य ५३८ सहित एक हजार ३७२ निर्वाचित भए।

जसपाबाट प्रमुख २४, उपप्रमुख २५, वडाध्यक्ष २१२, महिला सदस्य २१६, दलित महिला सदस्य २१३, वडा सदस्य ४३१ गरी कुल एक हजार १२१ जनप्रतिनिधि निर्वाचित भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट १३ प्रमुख, ९ उपप्रमुख, ८४ वडाध्यक्ष, ९५ महिला सदस्य, ९१ दलित महिला सदस्य, १७४ सदस्यसहित ४६६ पदमा निर्वाचित भएका छन्।

माओवादी केन्द्रबाट ९ प्रमुख, ९ उपप्रमुख, १३३ वडाध्यक्ष, १३४ महिला सदस्य, १२७ दलित महिला सदस्य र २३८ सदस्यसमेत कुल ६५० निर्वाचित भए।

नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा चार, उपप्रमुखमा तीन, वडाध्यक्षमा ७४, महिला सदस्यमा ७०,  दलित महिला सदस्यमा ७३ र सदस्यमा १४७ गरी ३७१ पदमा निर्वाचित भएका छन्।

कहाँ-कहाँ गुमायो माओवादीले?
८ जिल्ला रहेको मधेश प्रदेशमा २०७४ को चुनावमा माओवादीले सप्तरी र बारामा कुनै पनि पालिका माओवादीले जित्न सकेन। 

यसपटक भने सप्तरीको खडक नगरपालिका, सिरहाको मिर्चैया नगरपालिका जितेको छ।

०७४ मा सिरहामा गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, धनगढी नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकामा जितेको थियो। 

महोत्तरीमा यसपटक माओवादी शून्य बनेको छ। ०७४ मा बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, साम्सी गाउँपालिका र गौशाला नगरपालिका जितेको थियो। 

सर्लाहीमा माओवादी केन्द्रले बरहथवा, बलरा, बागमती नगरपालिका र रामनगर गाउँपालिका जितेको छ। ०७४ मा बरहथवा नगरपालिका, बागमती नगरपालिका र चक्रघट्टा गाउँपालिका मात्र जितेको थियो।

यसपटक माओवादीले बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख जितेको छ।

पर्सामा ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा जितेको माओवादीले ०७९ को चुनावमा पर्साका कुनै पालिका जित्न सकेन।

धनुषामा माओवादीले  ०७४ मा गणेशमान चारथान नगरपालिका, सहिदनगर र बिदेह नगरपालिका गरी तीन पालिका जितेकाे थियाे।

यसपटक माओवादीले सबैला नगरपालिका माओवादीले जितेको छ।

अघिल्लो पटक ४ पालिका जितेको माओवादीले यसपटक रौतहटमा दुर्गा भगवती गाउँपालिका जितेको छ।

किन हार्यो माओवादी?
माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज गणेश साहले तीन कारणले मधेशमा पार्टी कमजोर बनेको बताए। 

‘आन्तरिक रुपमा संगठन सुदृढ भएर चल्न सकेन,’ साहले नेपालखबरसँग भने,  ‘मधेशमा पैसा, शक्ति र प्रशासनको प्रयोगको भूमिका हुन्छ, हाम्रो पार्टीले त्यो गर्नै सकेन।’

कांग्रेसले पुरानो गढ जोगाउन भएभरको शक्ति लगाएको उनले आरोप लगाए।

‘कांग्रेसको पुरानो गढ हो मधेश, त्यो फर्काउन उसले सबै शक्ति केन्द्रित गर्यो,’ साहले थपे।

तेस्रो कारण, युवा पुस्ताको मुद्दा सम्बोधन गर्न नसकेको उनले स्वीकार गरे। 

‘हामीले युवाहरुलाई अवसर दिने कुरा गर्यौँ, तर उनीहरुको मागतिर ख्याल गरेनौँ। कांग्रेसले गुमेको सत्ता ल्याउन प्रयास गर्दा हाम्रा युवाहरु परिचालित हुन सकेनन्,’ साहले भने, ‘हारका थुप्रै कारणमध्ये यो पनि मुख्य बन्यो।’

माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले कांग्रेस–एमाले मिलेर हराउनेदेखि आफ्नै पार्टीका नेताहरु लडेर पहिला जितेको स्थान गुमेको बताए।

‘कांग्रेस इमान्दार भएन, उम्मेदवार नभएको ठाउँमा पनि रुखमा मत हाल्यो। कहीँ कांग्रेस–एमाले मिलेर हराए,’ ढकालले भने, ‘नेताहरु एकगठ भएनन्, आफ्नै लडेर पनि हारियो। टिकट नपाउनेले हराउन लागे।’

मधेशमा माओवादीका ३५ जना केन्द्रीय सदस्य भए पनि एउटा पक्षले अर्काे पक्ष, एक जातले अर्काे जातलाई नटेर्ने रोगको सिकार पार्टी बनेको उनको भनाइ छ।

मुख्य सचिव ढकालले मधेशमा चुनावअघि नेताहरुले गरेको अनुमान गलत साबित भएको बताए।

‘५० पालिका जितिन्छ भनेर साथीहरुको रिपोर्टिङ थियो। तर, नतिजा आउँदा हिजो जितेका पनि गुमायौँ, चुनावी दाउपेच अनेक हुँदा रहेछन्, कांग्रेसले नमज्जासँग झुलायो,’ ढकालले गुनासो पोखे, ‘मधेशमा धेरै क्षति भयो।’

केही जिल्लामा भने माओवादीबाट एमालेमा गएका प्रभु साहको भूमिकाले पनि असर गरेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .