नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार तीन जिल्लाका ६ स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन्।
सोमबार काठमाडौंको कीर्तिपुर, ललितपुर र पोखराको चुनावी सभालाई सम्बोधन गरेका ओली साँझ जहाजबाट गृहजिल्ला झापा पुगिसकेका छन्।
चुनाव प्रचारको अन्तिम दिन मंगलबार ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यतालिका निर्धारण भएको छ।
सोमबार साँझ गृहनगर दमकमा पुगेका ओलीले मंगलबार बिहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले त्यसपछि गृहजिल्ला झापाको गौरीगन्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
अध्यक्ष ओलीका सांसद प्रतिनिधि एवम् एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर थापाका अनुसार मोरङ र झापाका चुनावी कार्यक्रमलाई सम्बोधन गरेर ओली मंगलबारै अपरान्ह काठमाडौं फिर्नेछन्।
भद्रपुर हुँदै काठमाडौं फर्किएर ओलीले भृकुटीमण्डपमा हुने चुनावी कार्यक्रमलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले सोमबार बिहान ९ बजे कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यसपछि मध्यान्ह १२ बजे उनी पोखरामा भएको चुनावी सभामा सम्बोधन गर्न पुगेका थिए।
त्यसपछि पोखराबाट फिरेका ओलीले अपरान्ह ४ बजे ललितपुरको जावलाखेलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर साँझ पौने ७ बजे झापा पुगेका थिए।
त्यहाँ पुगेर पनि उनले बिर्तामोड र दमकमा राजनीतिक भेटघाट गरेका थिए। त्यसपछि उनले झापामै राति पौने १ बजे स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता पनि दिएका थिए।
Shares
प्रतिक्रिया