ad ad

राजनीति


गठबन्धन हुँदा माओवादी केन्द्रले कति स्थानीय तह थप्ला?

गठबन्धन हुँदा माओवादी केन्द्रले कति स्थानीय तह थप्ला?

सागर न्यौपाने
बैशाख १, २०७९ बिहिबार २२:२२, काठमाडौँ

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६ तहको प्रमुख/अध्यक्ष जितेर नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेको थियो।

चितवनको भरतपुर महानगरपालिकासहित ३४ नगर प्रमुख र ७२ गाउँपालिका अध्यक्ष जितेर माओवादी केन्द्र १५ प्रतिशत मतदाता सुरक्षित गर्न सफल भएको थियो।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीले केन्द्रले यसअघि जितेका १ सय ६ स्थानीय तहको प्रमुख पाउने लगभग निश्चित छ। किनभने २९ चैत २०७८ मा पाँच दलीय गठबन्धनबीच २०७४ मा जितेका पार्टीहरुलाई स्थानीय तहमा उम्मेदवार बनाउने समझदारी भएको छ। 

तर, माओवादीबाट निर्वाचितमध्ये ६ स्थानीय तह प्रमुख एमाले प्रवेश गरेका छन्। नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार बगडिया, पर्साको जगरनाथ गाउँपालिका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार, महोत्तरीको सांसी गाउँपालिका अध्यक्ष मोहम्मद शेख फारुक एमाले प्रवेश गरेका छन्।

त्यसबाहेक २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र व्युँताएपछि रौतहटका मौलापुर नगरपालिका रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुसवाहले माओवादी छाडेर एमाले रोजेको रिजालले नेपालखबरलाई जानकारी दिए।

‘अहिलेसम्म माओवादीबाट जितेका ६ जना प्रमुखहरु एमालेमा प्रवेश गर्नुभएको छ,’ रिजालले भने, ‘हाम्रो पार्टी विभाजन भए पनि माओवादी केन्द्रबाट प्रवेश गर्नुभएका जनप्रतिनिधिबाट क्षतिपूर्ति भएको छ।’ 

केही जनप्रतिनिधि एमाले प्रवेश गरे पनि माओवादी केन्द्रले देशभर संगठनात्मक अवस्था सुधार गरेको दाबी गरेको छ।

माओवादी दोस्रो भएको स्थानीय तह 
अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी ९९ स्थानमा दोस्रो भएको थियो। ती स्थान पनि माओवादीले नै पाउने सो पार्टीका नेता शक्ति बस्नेतले दाबी गरे।

‘यसअघि जितेको स्थान, अहिलेको स्थितिलाई हेर्ने र स्थानीय तह बाँडफाँट गर्ने सहमति भइसकेको छ,’ उनले भने, ‘त्यहाँको शक्ति अहिले पनि माओवादीसँग छ, माओवादी केन्द्र निर्णायक रहेको ठाउँमा गठबन्धनले सहयोग गर्ने पाँच दलबीच सहमति भएको हो।’

उनका अनुसार माओवादी केन्द्रले अघिल्लो स्थानीय तहमा जितेको १ सय ६ र निकटतम् प्रतिद्वन्द्वी भएको ९९ स्थानको पनि प्रमुख दाबी गरेको छ। उनको दाबी पत्याउने हो भने माओवादीले २ सय ५ स्थानीय तहको प्रमुख माओवादीले पाउने देखिन्छ।

तर, माओवादी केन्द्रले त्यति स्थानमा मात्र चित्त नबुझाउने नेता बस्नेत बताउँछन्।

‘पाँच वर्षअगाडिको स्थितिले मात्र अहिलेको अवस्थालाई हेर्न मिल्दैन, यो बीचमा हाम्रो पार्टीले व्यापक सुधार गरेको छ, निर्वाचनको तयारी नजान्दा हिजो कतिपय स्थानीय तह गुमाउनुपरेको थियो, अब हामीले चुनावी रणनीति पनि जानेका छौँ,’ बस्नेतले थपे, ‘हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिको कार्यसम्पादनले अरु थुप्रै तह जित्ने आधार बनाएका छौँ।’

माओवादी केन्द्रका नेता वर्षमान पुनले एक्लै उठे पनि २ सय १० स्थानीय तह जित्न सकिने तथ्यांक नै रहेको बताए। गठबन्धनका सबै दलले इमान्दार सहयोग गरे माओवादीले यसपटक २ सय ६० स्थानीय तह सजिलै जित्ने उनको दाबी छ।

‘हामीलाई २ सय ६० स्थानीय तह जित्न कुनै गाह्रो छैन,’ उनले नेपालखबरसँग भने, ‘एक्लै चुनाव लड्दा पनि हामीले २ सय १० स्थानीय तह मजाले जित्न सक्ने बनाएका छौँ।’

अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देहीको देवदह नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीबीच चुनावी तालमेल भएको थियो। त्यसमध्ये भरतपुर र अर्घाखाँचीमा मात्र गठबन्धन सफल भएको थियो।

अघिल्लो चुनावमा माओवादी केन्द्रले एक्लै ४३ नगरपालिकामा उपप्रमुख र ६८ गाउँपालिकामा उपाध्यक्षसहित १११ स्थानीय तहमा उपप्रमुख जितेको थियो। यसैगरी १ हजार १०३ वडा जितेको थियो। १ हजार ३५ महिला सदस्य, १ हजार ३० दलित महिला र २ हजार ५६ खुला सदस्य गरी कुल ५ हजार ४४१ उम्मेदवार माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

नेकपा एमालेले जितेका स्थानीय तह बाँडफाँट गर्दा आफ्नो पक्षमा कम्तीमा ८० स्थानीय तह पर्ने माओवादीको विश्लेषण छ।

प्रदेश १ 
नेताहरुका अनुसार माओवादी केन्द्रले प्रदेश १ का ४० भन्दा बढी स्थानीय तहको प्रमुख जित्ने दाबी गरेको छ।

१४ जिल्ला, एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह रहेको रहेको प्रदेश १ मा माओवादी केन्द्रले अघिल्लो चुनावमा १ नगरपालिकासहित १४ स्थानीय तह मात्र जितेको थियो।

प्रदेश १ मा पहाडी क्षेत्रमा राम्रो भएपनि तराईमा माओवादी निकै कमजोर अवस्थामा छ। 

मधेश प्रदेश
मधेश प्रदेशमा माओवादी केन्द्रको अवस्था पहिलेदेखि बलियो हो। 

तर, रौतहटका २, पर्साका २ र महोत्तरीको १ स्थानीय तहका निर्वाचित प्रमुख एमाले प्रवेश गरेका छन्। जसले माओवादीलाई कमजोर बनाएको छ। 

२०७४ मा माओवादीले मधेश प्रदेशमा २१ वटा स्थानीय तहको प्रमुख जितेको थियो। माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज गणेश साहले पहिले जितेकोमा दोब्बर स्थानीय तह जितिने दाबी गरे।

बागमती प्रदेश 
बागमती प्रदेशमा माओवादी केन्द्र निकै कमजोर थियो। तर, वैशाखमा हुने चुनावमा भने राम्रो नतिजा आउनेगरी संगठन बनेको माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले दाबी गरे।

१३ जिल्ला रहेको बागमतीमा १ सय १९ स्थानीय तह छ, जसमा माओवादी केन्द्रले १६ तहको प्रमुख जितेको थियो। 

उनी अब हुने चुनावमा तेब्बर संख्या जितिने आधार र संगठन बनेको बताउँछन्। 

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन्। अघिल्लो चुनावमा माओवादी केन्द्रले गोरखा, तनहुँको बन्दीपुर लगायतमा गरी जम्मा ५ वटा स्थानीय तहको प्रमुख जितेको थियो।

अब त्यो संख्या बढाएर २० भन्दा बढी जितिने माओवादीको दाबी छ।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा माओवादी केन्द्र बलियो अवस्थामा छ। रोल्पा, रुकुम पूर्व, कपिलवस्तु, प्युठान लगायतमा निकै राम्रो जनाधार रहेको भन्दै धेरै स्थानीय तह जित्ने माओवादीका नेताहरुको दाबी छ।

१ सय ९ स्थानीय तह रहेको लुम्बिनीमा ५० भन्दा बढी स्थानीय तह जित्ने लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले बताए।

‘लुम्बिनीमा माओवादी केन्द्रतिर पछिल्लो दिन आर्कषण बढेको छ,’ उनले भने, ‘गठबन्धनले इमान्दार भएर मत दिएको अवस्थामा हामीले ५० माथि जित्ने आधार छ।’

कर्णाली प्रदेश 
अघिल्लो चुनावमै २६ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपटक कर्णालीमा निकै बढी जित्ने आकलन गरेको छ।

एमालेले जितेको २७ स्थानीय तहको बाँडफाँटमा धेरै आफ्नो पक्षमा पर्ने उनीहरुको अपेक्षा छ। 

कर्णालीमा कांग्रेसले २५ तह जितेको थियो। २ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए। 

कुल ७९ स्थानीय तह रहेको कर्णाली माओवादी केन्द्रको पहिलो प्राथमिकतामा छ।

सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिम प्रदेशमा रहेका ८० स्थानीय तहमध्ये माओवादी केन्द्रले १० वटा तहको प्रमुख जितेको थियो। 

वैशाख ३० गते हुने चुनावमा दोब्बर भन्दा बढी तह जितिने माओवादीका नेताहरुको दाबी छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .