राजनीति


२२ अर्बमा तयार भयो पोखरा विमानस्थल, सञ्चालनमा ल्याउन यी चार अप्ठ्यारा (भिडिओ)

२२ अर्बमा तयार भयो पोखरा विमानस्थल, सञ्चालनमा ल्याउन यी चार अप्ठ्यारा (भिडिओ)

जेवी पुन मगर
चैत ३०, २०७८ बुधबार ९:३७, पोखरा

गएको महिना चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण गरिएपछि यो विमानस्थलले फेरि एकचोटी चर्चा पायो। 

२२ अर्ब रुपैयाँ लगानीमा ३ हजार ९९९ रोपनी जग्गा अधिग्रहण गरि बनाइएको २५ सय मिटर लामो रनवे सहितको यो विमानस्थलको निर्माण कार्य सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सीएमसीसीबीच ठेक्का सम्झौता गरि प्रारम्भ गरिएको थियो। 

चीनको अनुदान र ऋण सहयोगमा निर्माण भएको यो विमानस्थलको साँचो हस्तान्तरण गर्दा निर्माण कार्य ९३ प्रतिशत सकिएको बताइएको थियो।

काम पूरा नभइकनै साँचो हस्तान्तरण गरिएको यो परियोजना कहिले पूर्ण रुपमा सम्पन्न होला? कहिलेदेखि यो विमानस्थलबाट हवाई जहाजमा चढेर हामी उड्न सकौँला? अहिले पोखरा बासीको चासो र चिन्ता त्यसैमा केन्द्रित देखिन्छ। त्यसैले स्थानीय निर्वाचनमा यस्ता प्रश्नहरूले महत्व पाउने र खासगरी पोखरमा महानगरका मतदातालाई आकर्षित पार्ने प्रयत्न हुनेछ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०४६ सालदेखि नै पहल गर्दै आइरहेका उद्यमी तथा नेपाली कांग्रेसका स्थानीय नेता विश्वशंकर पालिखेलाई हामीले पोखरामा यही प्रश्न गर्यौं।

मंगलबार बिहान पोखरास्थित पालिखेको व्यावसायिक कम्प्लेक्स पुगेको नेपालखबरको टिमलाई उनैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र लगे। जहाँ कार्यरत परियोजना अधिकृतहरूले हामीसँग विमानस्थल सञ्चालनमा रहेका प्राविधिक अप्ठ्याराहरू प्रस्ट्याउने प्रयास गरे।​​

यी हुन् चार अप्ठ्यारा 
निर्माण काम सकिएपनि विमानस्थलको उत्तर–दक्षिण र पूर्व–पश्चिम गरि चार वटा प्रमुख स्थानमा रहेका समस्याको निराकरण बिना पोखरा विमानस्थल तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन। पालिखे र परियोजनामा संलग्न अधिकारीहरुका कुरा सुन्दा यी चार समस्या तत्कालै निराकरण भइहाल्ने अवस्था पनि देखिँदैन।

पहिलो, विमानस्थलको उत्तरतिर रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर उचाई नघटाइ विमानस्थलमा ठूला जहाजले अवतरण र उडान भर्न सक्दैनन्। डाँडा र रुख काट्न वातावरणीय मूल्यांकन हुन अझै बाँकी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको डाँडाको उचाई घटाउन र त्यहाँ रहेका रुख काट्न वन मन्त्रालयको अग्रसरताले कति समय लिन्छ, त्यही अनुरुप काम अगाडि बढ्ने देखिन्छ।

लामो समयसम्म वातावरण मूल्यांकन फाइल वन मन्त्रालयले च्यापेर राखि दिएकाले डाँडा घटाउने कार्य हुन नसकेको विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले नेपालखबरलाई बताएका थिए। गएको वर्ष संसदको दिगो विकास तथा सुशासन समितिले डाँडा काट्न दिएको निर्देशन प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन। डाँडा नकाटेसम्म हवाई उडान अनुमति दिने अन्तर्राष्ट्रिय नियमनकारी संस्था आइकाओबाट उडान अनुमति प्राप्त हुँदैन। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पालिखेले नेपालखबरसँग भने, ‘५–६ महिनामा आन्तरिक उडान गर्न सकिएपनि अन्तर्राष्ट्रिय उडान भर्न अझै एक डेढ वर्ष लाग्छ होला।’

दोस्रो, उत्तर तिरबाट बगेर आउने पानीको बहावले विमानस्थल नजिकका जग्गा भत्काउँदै गैरहेको छ। खोला जत्तिकै स्वरुपमा नहरबाट आउने बाढी नियन्त्रण नभएसम्म विमानस्थल सञ्चालन खतरापूर्ण हुने हुनाले त्यसमा धेरै काम गर्नु पर्नेछ। बाढी नियन्त्रणका लागि झन्डै ३५ करोड लगानी भैसकेको छ। तर त्यो अपर्याप्त छ। पानीको बहाव डाइभर्सन गरि विमानस्थलभित्र बाढी पस्न नदिन सिंचाई र सडक विभागले तदारुकताका साथ काम गरिदिएको छैन। तिनले बजेटका कुरा उठाएर बिलम्ब गरिरहेका छन्।

तेस्रो, विमानस्थलको दक्षिण बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटका कारण प्रशस्त चराचुरुङ्गी आउने हुनाले त्यसलाई नहटाइ विमान उडाउन सकिँदैन। ल्याण्डफिल साइटका लागि पोखरा महानगरपालिकाले वडा नम्बर २० र १६ मा रहेको करिब २३१ रोपनी जग्गा हेरेपनि स्थानीय जनताको विरोधका कारण सार्न सम्भव भएको छैन। ल्याण्डफिल तत्काल हटाइहाले पनि बाच्छेबुडुवाबाट चराहरुलाई हटाउनै ६ महिनाजति लाग्ने हुँदा यो कार्य भनेजति सहज छैन। 

चौथो, विमानस्थलको पश्चिममा रहेको जाइकाले निर्माण गरिदिएको पानी ट्यांकीले उडान भर्न रोक्ने हुनाले त्यसलाई त्यहाँबाट हटाउनुपर्ने हुन्छ। त्यसमा पनि चित्तबुझ्दो तरिकाले काम अगाडि बढ्नसकेको छैन। 

यी चार बाहेक सुरक्षाका दृष्टिले नगरि नहुने अरु पनि महत्वपूर्ण कामहरु छन्, जुन प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन। विमानस्थलमा पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँ बनाइएको छैन। साविकको विमानस्थलमा भण्डारण गरिएको पेट्रोलियम पदार्थ नयाँ विमानस्थलसम्म ल्याउन चुनौतीपूर्ण देखिन्छ। सडक साँघुरो छ। बाटामा पर्ने विजयपुर खोलामा रहेका पुलहरूको भारबहन क्षमता कमजोर छ। ती पुलको स्तरोन्नतिका लागि काम भैरहेको छैन भने यता नयाँ विमानस्थलमा भण्डारण थलो बनाइएको छैन। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एकजना परियोजना अधिकारी भन्छन्, ‘तेल ओसार्न प्राविधिक रुपमै समस्या छ।’​

पालिखेको अनुभवमा विमानस्थल बनाउन पोखरेली जनता जे जसरी लागे त्यत्तिकै चेतका साथ हवाई जहाज उडान र अवतरणका निम्ति अत्यावश्यक पूर्वाधारहरुमा नजर पुर्याउन सकिएन। भावनात्मक रुपले पोखराका सबै मानिस अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एकजुट भए, तर त्यसका लागि चाहिने अत्यावश्यक योजना चाहिँ बन्न सकेन, त्यता ध्यान पुगेन। त्यसैले भौतिक रुपले विमानस्थल लगभग बनिसक्दा पनि भने जसरी सजिलै सञ्चालन गर्न नसकिने यथार्थ सरोकारवालाहरूले बल्ल थाहा पाउन थालेका छन्। 

पोखरा विमानस्थल ‘बिहे भोजपछि दुलही खोज्ने काम’ जस्तै भएको ठान्ने पालिखे भन्छन्, ‘बिहे छिन्यो, भोज पनि भो तर दुलही नै छैन। अनि, त्यसपछि सुरु भो दुलही खोज्ने काम। पोखरा विमानस्थलको अवस्थापनि दुरुस्त त्यही भा’को छ।’

भिडियोः विशाल कार्की 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .