राजनीति


भैरहवा: एमालेले राप्रपासँग गठबन्धन गरे मेयर पदमा पर्नेछ कांग्रेससँग टक्कर

भैरहवा: एमालेले राप्रपासँग गठबन्धन गरे मेयर पदमा पर्नेछ कांग्रेससँग टक्कर

सुदीप भण्डारी
चैत २७, २०७८ आइतबार ९:३, बुटवल

रुपन्देहीको भैरहवा, भारतसँगको सीमानाकामा पर्ने सहर हो। विगतमा भैरहवाकै हाराहारीमा रहेका अन्य सीमावर्ती सहर नेपालगन्ज र धनगढी उपमहानगर स्तरोन्नति भइसकेका छन्; विराटनगर र विरगन्ज महानगर बनिसकेका छन्। तर नगरपालिकामै सीमित भैरहवा अर्थात् सिद्धार्थनगरमा अन्य सहरको तुलनामा चुनावी चर्चा केही कम हुने गरेको छ। 

मुलुकको दोस्रो ठूलो भन्सार नाका, दोस्रो अन्तराष्ट्रिय विमानस्थल रहेको स्थान, बुद्धजन्मस्थल लुम्बिनीको नजिक भएकाले आर्थिक रूपमा भने भैरहवाको चर्चा भइरहन्छ। 

भैरहवा अर्थात् सिद्धार्थनगर नगरपालिकामा यसपटक तापक्रमसँगै चुनावी सरगर्मी पनि बढिरहेको छ। विगतका स्थानीय तथा संसदीय चुनावमा भैरहवामा कांग्रेस, राप्रपा र एमालेले आफ्नो प्रभाव देखाइरहेका छन्। २०४६ यताका ६ वटा संसदीय तथा संविधान सभा चुनावमा कांग्रेसले २ पटक (२०४८ र २०५६), एमालेले २ पटक (२०५१ र २०७४), राप्रपाले १ पटक (२०७०) र मधेसी जनअधिकार फोरम (२०६४) ले एकपटक जितेका छन्।  

२०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले नगरप्रमुख पद जितेको थियो। त्यस्तै ०५४ मा एमालेसँगको गठबन्धनमा राप्रपाले मेयरमा विजय हासिल गर्यो। एमालेले भने यी दुवै चुनावमा उपमेयर हुने अवसर पायो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ हजार ७०५ मत ल्याएर एमालेका हरिप्रसाद अधिकारी विजयी भएका थिए। कांग्रेसका मात्रिका यादवले झण्डै १५ सय कम ५ हजार २५० मत ल्याएका थिए। राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ मत पाएका थिए। 

दीपक बोहोराको चुनावी क्षेत्रका कारण भैरहवामा राप्रपाको प्रभाव बढी भएको मानिन्छ। बोहोरा २०७० सालको चुनाव जितेर भैरहवाबाट संविधान सभा सदस्य भएका थिए। त्यसैले भैरहवामा यसपालि कांग्रेस, एमाले र राप्रपाको प्रतिस्पर्धा हुने देखिन्छ। 

कांग्रेसले पाँचदलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावमा भिड्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेले भने राप्रपालाई मेयर पदमा उम्मेदवार बन्न दिएर गठबन्धन गर्न सक्ने चर्चा चलेको छ। 

सिद्धार्थनगर नगरपालिकाको मेयर पदका लागि राप्रपाबाट सागरप्रताप राणाले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार थालिसकेका छन्। चर्चा चलेजस्तो उनीसँग एमालेले गठबन्धन गरेमा राणा र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। 

सागरप्रताप राणा २०५४ सालमा पनि भैरहवाको मेयर बनेका थिए। पछि सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०६० तिर पनि उनी मेयरमा मनोनयन भए। २०४६ साल अघि २ पटक प्रधानपञ्चसमेत भइसकेका राणालाई भैरहवामा पार्टीगत मात्र नभएर  व्यक्तिगत रूपमा समेत मत प्राप्त हुने ठानिन्छ।

मेयरका उम्मेदवार सागरप्रताप राणाले आफ्ना पक्षमा जनलहर बढ्दै गएको दाबी गरेका छन्। 

‘जनताको सकारात्मक प्रतिक्रिया पाएको छु। अहिले चुनाव जितिन्छ जस्तो देखिएको छ’, नेपालखबरसँग उनले भने। 

राप्रपाले चुनावी अभियान थालिसक्दा अन्य दलले भने उम्मेदवारको टुंगो लगाएका छैनन्। नेपाली कांग्रेसले शुक्रबार मात्र मेयरका आकांक्षीबीच छलफल गराएको छ। 

यस क्रममा जसले टिकट पाए पनि चुनावमा एकताबद्ध भएर अघि बढ्ने सहमति भएको जानकारी कांग्रेस सिद्धार्थनगर समितिले गराएको छ। सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारीका लागि कांग्रेसबाट संविधान सभा सदस्य भइसकेका इस्तियाक अहमद खानले दाबी गरेका छन्।

यस्तै अघिल्लोपटक मेयरको प्रतिस्पर्धी बनेका निवर्तमान क्षेत्रीय सभापति मात्रिका यादव, क्षेत्रीय सभापति सुशील गुरुङ, महासमिति सदस्य तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले पनि मेयरमा उठ्ने इच्छा व्यक्त गरेका छन्। 

कांग्रेसको सिद्धार्थनगर सभापति कोसिस खड्काले सोमबारसम्म मेयरका लागि उम्मेदवार टुंगो लाग्न सक्ने बताए। उनले भैरहवामा ५ दलबीच चुनावी तालमेल नगरे पनि कांग्रेस बलियो रहेको र भएमा जित निकै सहज हुने दाबी गरे। 

‘हामी यहाँ एक्लै लडे पनि जितिन्छ। तर गठबन्धन बन्ने भयो’, खड्काले नेपालखबरसँग भने, ‘गठबन्धन हुँदा जित ढुक्क छ। धेरै वडामा हामी विजयी हुन्छौं।’ 

एमालेबाट हाल मेयर रहेका हरिप्रसाद अधिकारीले दोहोरिने चाहना राखेका छन्। तर उनी उम्मेदवार बन्ने सम्भावना कम देखिन्छ। पार्टीमा उनी घनश्याम भुसालनिकट हुन्। एमालेका जिल्ला तथा नगर अधिवेशन हेर्दा भुसालको प्रभाव आफ्नै क्षेत्रमा कमजोर देखिन्छ। 

सात करोड लगानीको गेट बनाएर विवादमा आएको, खासै काम नगरेको भन्दै यहाँ एमालेले अधिकारी बाहेककालाई मेयरमा अघि सार्ने सम्भावना छ। 

माओवादीबाट आएका एमाले नगर कमिटी सचिव नारायण भण्डारीको पनि सम्भावना बलियो छ। उनलाई मेयर बनाएमा माओवादी केन्द्रको मत तान्न सकिने विश्लेषण पार्टीभित्र गरिएको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट भरत पोखरेल पनि सम्भावित उम्मेदवार हुन्। उनी पार्टीको निर्वाचन आयोगमा सदस्य छन्। एमालेका जिल्ला उपसचिव हितराज पन्थी, प्रदेश सदस्य राजेन्द्र पन्थीले पनि मेयरको टिकटको लागि दाबी गरेका छन्। 

एमाले नगर अध्यक्ष चक्रबहादुर थापाले भैरहवामा एमाले पहिलेभन्दा सांगठनिक रूपमा बलियो भएको दाबी गरे। 

‘पहिले हाम्रो ८ सय संगठित सदस्य थिए। अहिले १५ सय पुगेका छन्’, उनले भने, ‘वडा र टोल कमिटीसम्म र सबै जनसंगठन बनिसकेका छन्, त्यसैले पहिलेभन्दा धेरै मतान्तरले एमाले विजयी हुन्छ।’ 

सिद्धार्थनगरमा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलले पनि आफ्नो प्रभाव बलियो पार्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .