राजनीति


गठबन्धन भए पनि जसपाले लुम्बिनीका २० पालिका नछोड्ने, कति छ शक्ति?

गठबन्धन भए पनि जसपाले लुम्बिनीका २० पालिका नछोड्ने, कति छ शक्ति?

फाइल तस्बिर


सुदीप भण्डारी
चैत २१, २०७८ सोमबार २०:३९, भैरहवा

लुम्बिनी प्रदेशको तराई जिल्ला मधेसवादी दलहरूको प्रभाव भएको ठाउँ हो। विशेष गरेर रुपन्देही, कपिलवस्तु र बाँकेका दक्षिण भेगमा मधेसवादी दलहरुले प्रभाव जमाउँदै आएका थिए।

नवलपरासी पश्चिम, दाङ र बर्दियामा भने अघिल्ला चुनावलाई आधार मान्दा मधेसवादी दल केही कमजोर छन्। 

२०६४ र ०७० सालको चुनावमा लुम्बिनीका तराई क्षेत्रमा तत्कालिन मधेशी जनअधिकार फोरम, तमलोपा लगायतले अरु पार्टीमाथि प्रभाव जमाएका थिए।

त्यस बेला दक्षिण भेगमा यी दलहरुबीच नै आपसमा प्रतिस्पर्धा भएको थियो।

तर ०७४ सालसम्म आइपुग्दा मधेसवादी दलको प्रभाव घटेको थियो। ५ वर्षअघिको चुनावमा मधेशी जनअधिकार फोरमको मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेसँग हुन थाल्यो। 

रुपन्देहीका दक्षिण भेगमा ५ वर्ष पहिले तत्कालिन मधेशी जनअधिकार फोरमले ४ स्थानीय तह जितेको थियो।

त्यस बाहेक एउटामा लोकतान्त्रिक फोरम र अर्को राजपामा रहेका स्वतन्त्र उमेदवारले जित हात पारेका थिए।

स्थानीय चुनावमा ६ पालिका प्रमुख मधेसवादी दलका र समर्थित उमेदवारले जितेका थिए।

तर मंसिरमा भएको संसदीय चुनावमा मधेशी जनअधिकार फोरमले प्रदेश सभाको एक सिट मात्र जित्यो।

मधेसवादी दलको मुख्य प्रभाव क्षेत्र मानिएको मर्चवारमा कांग्रेसले कब्जा जमाएको थियो। 

त्यस्तै, कपिलवस्तु र बाँकेमा पनि फोरमले प्रदेश सभाको एक एक सिट हात पारेको थियो। बाँकेमा एउटा प्रतिनिधि सभामा समेत विजयी भएको थियो। 

तत्कालीन मधेशी जनअधिकार फोरम हाल जनता समाजवादी पार्टीको नाममा रहेको छ। यो पटक लुम्बिनीका तराईमा आफ्नो प्रभाव बढेको जनता समाजवादी पार्टीको दाबी छ।

जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले तराईका दक्षिण भेगमा आफूहरुलाई गठबन्धन आवश्यक नपर्ने बताए। बाँकेमा नेपालगञ्ज उपमहानगरसहित ४ वटा पालिकामा कसैसँग गठबन्धन नगर्ने यादवले बताए।

‘नेपालगञ्ज उपमहानगर, जानकी, डुडुवा र नरयनापुर गाउँपालिकामा हामी कसैसँग गठबन्धन गर्दैनौँ। एकल चुनाव लड्छौँ’, उनले भने, ‘बाँकी तीनवटा स्थानीय तहमा गठबन्धन गर्न तयार छौं।’ 

रुपन्देही र कपिलवस्तुका पनि केही पालिका आफूहरुले नछाड्ने यादवले दाबी गरे।

‘कपिलवस्तुका ६ स्थानीय तहमा गठबन्धन गरे पनि नगरे पनि हाम्रा आफ्नै उमेदवार हुन्छन्,’ उनले भने, ‘रुपन्देहीको मर्चवार हाम्रो गढ हो, सजिलै जित्छौँ। यहाँका तीनसहित १० वटा पालिकामा हाम्रो दाबी हो। जिल्लाको गठबन्धनमा कसरी छलफल हुन्छ, त्यस अनुसार अघि बढ्छौँ।’  

आफ्नो प्रभाव बढी भएका अधिकांश पालिकामा उम्मेदवारहरू टुंगिएको र घोषणा मात्रै बाँकी रहेको जसपाले जनाएको छ।

गठबन्धनमा छलफल गरेर मात्र नाम सार्वजनिक गर्ने प्रदेश अध्यक्ष अशोक यादवले बताए। 

‘बाँकेको ४ पालिकामा उम्मेदवार निश्चित भइसकेका छन् कपिलवस्तुमा ४ वटामा टुंगिसक्यो, २ वटामा अलिअलि विवाद छ। २ वटामा मिलाउने प्रयास भइरहेको छ’, उनले भने, ‘रुपन्देहीमा हाल ७ स्थानीय तहमा  पार्टीभित्र उम्मेदवारमा सहमति भएको छ। अरु मिलाउँदैछौँ। गठबन्धनमा आवद्ध दलहरुमा छलफल भएपछि नाम घोषणा गर्छौं।’ 

दल अदलबदल मुख्य चुनौती
तराई जिल्लाका दक्षिण भेगमा जसपाले आफूले जित्ने दाबी गरिरहे पनि उसको लागि मुख्य चुनौती दल अदल बदल बनेको छ। कांग्रेस, एमाले र माओवादीले दक्षिण भेगमै पार्टी प्रवेश कार्यक्रम बढाएका छन्।

दलका प्रभावशाली नेता र स्थानीय तहका पालिका प्रमुखहरुले नै दल फेर्दा चुनाव के हुन्छ अनुमान कठिन बन्दै गएको छ। रुपन्देहीमा पनि केही पालिका प्रमुखले दल फेरेका छन्।

जसपाबाट विजयी भएका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र माओवादी केन्द्रबाट विजयी भएका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमाले प्रवेश गरेका छन्।

लोकतान्त्रिक फोरमबाट सम्मरीमाई गाउँपालिकाका प्रमुख बनेका जितेन्द्रनाथ शुक्ल हालै माओवादी केन्द्रमा पुगे।

पालिका प्रमुख भएपछि उनी एमाले, जनमत पार्टी हुँदै माओवादी केन्द्र प्रवेश गरेका हुन्। एमालेमा रहेका ०६४ सालको संविधान सभा सदस्यसमेत रहेका ओमप्रकाश यादव गुल्जारी हाल संघीय समाजवादी फोरममा गएका छन्। 

कपिलवस्तुमा तमलोपाका नेता मंगलप्रसाद गुप्ता, विगतमा तमलोपामा रहेर ०७४ मा सूर्य चिन्हबाट चुनाव जितेका प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता र प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवलाई केपी ओलीले एमाले प्रवेश गराइसकेका छन्।

स्वतन्त्र उमेदवार बनेर चुनाव जितेका कपिलवस्तु कृष्णनगरका मेयर रजतप्रताप शाह कांग्रेस प्रवेश गरेका छन्। 

बाँकेमा हृदयेश त्रिपाठी समूहमा रही सूर्य चिन्हबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर हारेका पशुपति दयाल मिश्र पनि एमाले प्रवेश गरेका छन्।

उनलाई नेपालगञ्जको मेयरमा उठाउने एमालेले तयारी गरेको छ। प्रभावशाली नेता र पालिका प्रमुखहरुसँग अरु जनप्रतिनिधि र उनीहरुका सयौं कार्यकर्ता तथा शुभेच्छुकहरु पनि पार्टी फेरिरहेका छन्। 

विगतमा अहिलेको जसपाको बलियो प्रभाव रहेको दक्षिण तराई क्षेत्रमा कांग्रेस प्रतिस्पर्धी थियो। तर एमाले कमजोर अवस्थामा थियो।

नागरिकता संशोधनको अध्यादेश ल्याउन खोजेको भन्दै एमालेले यी क्षेत्रमा पार्टी प्रवेशको गतिविधि बढाएको छ।

जसका कारण लुम्बिनीको तराई क्षेत्रमा जसपा, कांग्रेस र एमालेको त्रिपक्षीय भिडन्त हुने निश्चित छ।

माओवादी केन्द्र र पछिल्लो समयमा जनमत पार्टीले पनि आफ्नो प्रभाव बढाउन खोजेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .