राजनीति


चार पालिका प्रमुखले पार्टी फेरेको रुपन्देहीमा तालमेलका लागि संयन्त्र गठन

चार पालिका प्रमुखले पार्टी फेरेको रुपन्देहीमा तालमेलका लागि संयन्त्र गठन

शनिबार भैरहवामा बसेको गठबन्धनअन्तर्गत स्थानीय दलको बैठक।


सुदीप भण्डारी
चैत २०, २०७८ आइतबार १६:४०, बुटवल

केही दिनअघि सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेपछि रुपन्देहीमा पनि त्यहीअनुसार तयारी गरिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा तालमेल आवश्यक रहेको निष्कर्ष निकालेका हुन्। 

कांग्रेसको जिल्ला कार्यालय (भैरहवा) मा बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले चुनावी तालमेल आवश्यक रहेको ठहर गर्दै त्यसका लागि जिल्लास्तरीय संयन्त्र नै गठन गरेका छन्। संयन्त्रले स्थानीय तहमा गठबन्धनका दलहरूको वस्तुस्थिति बुझ्ने र त्यसआधारमा चैत २२ गते पुनः बैठक राखेर छलफल गर्ने तय भएको कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले जानकारी दिए।

‘चुनावी तालमेलका विषयमा पहिलोपटक सत्ता गठबन्धनको बैठक बसियो। प्रत्येक दलबाट गरेर संयन्त्र बनाउने, आफ्नो पार्टीको वडादेखि गाउँपालिका र नगरपालिकाको अवस्था के छ बुझ्ने’, उनेले भने  ‘कसरी गठबन्धन गरेर जाने भन्नेबारेमा २२ गते बिहान फेरि छलफल गर्ने भन्ने कुरा भयो।’

रुपन्देहीमा १ उपमहानगरपालिका, ५ नगरपालिका र १० वटा गाउँपालिका छन्।

२०७४ को चुनावमा उत्तरी भेगतिर एमाले बलियो देखिएको थियो। दक्षिणी भेगमा तत्कालीन संघीय समाजवादी फोरम र अन्य मधेसवादी दल प्रभावशाली देखिएका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रको उपस्थिति कमजोर  थियो।

कांग्रेसले २ वटा पालिका प्रमुख पद मात्र जितेको थियो, तर धेरै ठाउँमा बलियो प्रतिस्पर्धीका रूपमा दोस्रो स्थानमा देखिएको थियो। एउटा पालिकाको नेतृत्व माओवादी केन्द्रले पाएको थियो। जिल्लाका अन्य ठाउँमा ऊ कमजोर प्रतिस्पर्धीका रूपमा थियो। 

अहिले गठबन्धनका दल आफूहरू विजयी बनेको ठाउँका साथै एमालेले जितेका स्थानमा पनि केन्द्रित हुनेछन्। 
जिल्लाको बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा अघिल्लोपटक पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। तर सफलता हात लागेन।

एमालेका शिवराज सुवेदीसँग कांग्रेसका खेलराज पाण्डे २४ सय मतान्तरले हारे। देवदहमा कांग्रेसले मेयर पद मात्र जित्यो। उपमेयर पदसहित अधिकतर वडामा कांग्रेस हार्यो। 

यसपटक यी दुई पालिकाको नतिजा थपिएका मतदाता र एकीकृत समाजवादीका कार्यकर्तामा भर पर्छ। सिद्धार्थ नगरपालिकामा एमालेका हरि अधिकारीले कांग्रेसका मात्रिका यादवलाई १५ सय मतान्तरले हराएका थिए। 

तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा पनि एमालेले कांग्रेसलाई जितेको थियो। जिल्लाका शुद्धोधन, सियारी र कञ्चन गाउँपालिकामा पनि एमाले विजयी हुँदा कांग्रेस दोस्रो स्थानमा थियो। 

देवदहका साथै मायादेवी गाउँपालिकामा पनि कांग्रेसको जित भएको थियो । 

माओवादी केन्द्रले ओमसतिया गाउँपालिकामा विजय प्राप्त गरेको थियो। तर हाल ओमसतियाका प्रमुख केवट एमालेमा प्रवेश गरेका छन्। 

जिल्लाका गैडहवा गाउँपालिका, मर्चवारी, कोटइमाई र रोहिणी गाउँपालिकामा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो। रोहिणी गाउँपालिकाका अध्यक्ष पनि हाल एमालेमा प्रवेश गरिसकेका छन्।

लुम्बिनी सांस्कृितक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी भएका थिए। तत्कालीन राजपाले चुनावमा भाग नलिँदा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। पछि उनी जसपामा आएका थिए। 

सम्मरीमाईमा तत्कालीन फोरम लोकतान्त्रिबाट चुनाव जितेका जितेन्द्रलाल शुक्ला हाल माओवादी केन्द्रमा छन्। तालमेलका लागि सम्मरीमाईसहित थप एक/दुईवटा पालिका माओवादीले दाबी गर्न सक्छ। 

यसअघि संघीय समाजवादी फोरमका नाममा आफूले जितेका पालिका जनता समाजवादी पार्टीले नेतृत्वका लागि दाबी गर्न सक्छ। एमाले कमजोर भएका स्थानमा आआफैं प्रतिस्पर्धा पनि हुन सक्नेछ।  

बुटवल उपमहानगरसहित धेरै पालिकामा कांग्रेसले नेतृत्वका लागि दाबी गर्न सक्छ। अवस्था हेरेर केही एकीकृत समाजवादीले पनि पाउन सक्नेछ। धेरै पालिकामा कांग्रेसले नै नेतृत्व (प्रमुख) को दाबी गरे पनि उपप्रमुख तथा केही वडामा तालमेल हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .