ad ad

राजनीति


दिप्रुङ गाउँपालिका अध्यक्ष भूपेन्द्रः जसले जिल्लामै उदाहरणीय काम गरे

दिप्रुङ गाउँपालिका अध्यक्ष भूपेन्द्रः जसले जिल्लामै उदाहरणीय काम गरे

उजिर कार्की
फागुन ३०, २०७८ सोमबार १९:०, काठमाडौँ

कोभिडले संसार आक्रान्त थियो। ठूला सहरहरु हायलकायल थिए। बिरामीले अस्पताल खचाखच थिए। कोही सिकिस्त भए कि विराटनगर कि काठमाडौँ नै पुर्याउनुपर्ने बाध्यता थियो। संक्रमितको हेरचाहमा निकै ठूलो कठिनाइ थियो।

त्यसबेला खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका कोरोना संक्रमितका घरघरमा एउटा सरकारी स्कोर्पियो पुग्थ्यो। पीपीई लगाएका व्यक्ति झरेर बिरामी बोक्थे र आफैंँ गाडीमा चढाउँथे। उनी स्वास्थ्यकर्मी अथवा सुरक्षाकर्मी थिएनन्। उनी थिए, गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई।

त्यो संकटमा नेता राईले आफूलाई जनताको शासक होइन, सेवकका रुपमा प्रस्तुत गरे। गाउँपालिकामा भएका कोभिडका बिरामी लिन उनी आफैँ घरसम्म पुग्थे र आफ्नै गाडीमा अस्पताल पुर्याउँथे। घरमै बसेकाहरुलाई औषधि लिएर पुग्थे।

गाउँपालिकाले कोभिडका बिरामीको उपचारका लागि गाउँमै १५ बेडको अस्पताल बनाएको थियो। त्यहाँ सम्भव हुनेलाई त्यहीँ राखेर उपचार गरिन्थ्यो। अलिक जटिल स्वास्थ्य भएकालाई बाहिर पठाइन्थ्यो र अस्पतालसम्म पुर्याउने काम गाउँपालिकाले नै गथ्र्यो। 

जसका कारण एक उदाहरणीय जनप्रतिनिधिका रुपमा चिनिए भूपेन्द्र।

गत निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रेस निर्वाचित भयो। एउटामा माओवादी केन्द्र र ५ वटामा एमालेका प्रतिनिधि निर्वाचित भएका थिए। तर, अन्य स्थानीय तहमा भन्दा भूपेन्द्रको काम गर्ने शैली फरक देखियो।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ। तोकिएकै मितिमा निर्वाचन भए अब उनीसँग यो गाउँपालिकाका लागि काम गर्ने समय ठिक दुई महिना मात्रै छ। 

५ वर्ष पहिले निर्वाचनमा उठ्दै गर्दा उनले प्रतिबद्धता सार्वजनिक गरेका थिए। 

‘मैले ठूला सपना बाँडेको थिइनँ। सुशासन र विकासका कुरा गरेको थिएँ,’ गाउँपालिका अध्यक्ष राई भन्छन्, ‘मैले उम्मेदवार बन्दै गर्दा सार्वजनिक गरेका प्रायः योजना पुरा भएका छन्।’

योजना नदेखाई लेखापरीक्षण गराएनन् 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सबैभन्दा बढी अनियमितता स्थानीय तहमा भएको प्रतिवेदन सार्वजनिक गरेको छ। तर, गाउँपालिकामा आफूले अनियमतता नगरेको र हुन पनि नदिएको भूपेन्द्र बताउँछन्।

लेखापरीक्षणका लागि महालेखा परीक्षकको टोलीले गाउँपालिकालाई कागजात लिएर सदरमुकाम बोलाएको थियो। उनले योजना नहेरी कागजात मात्रै हेरेर मूल्यांकन हुन नसक्ने भन्दै टोलीलाई गाउँपालिकामै बोलाए। जिल्लाका सबै स्थानीय तह महालेखाले बोलाएको ठाउँमा कागजपत्र बोकेर पुगे। तर दिप्रुङ चुइचुम्मा गाउँपालिकाले महालेखाको टोलीलाई गाउँमै लगेर लेखापरीक्षण गरायो। 

यससँगै लेखापरीक्षण गर्न कागजपत्र बोकेर सदरमुकाम जानु पर्ने परम्परा तोडियो। 

‘हाम्रो कागजपत्र मात्रै परीक्षण गरेर हुँदैन। योजनाहरुको स्थलगत निरीक्षण पनि गर्नुपर्छ। त्यसो भयो भने मात्रै अडिटको अर्थ हुन्छ र वास्तविक अडिट हुन्छ,’ अध्यक्ष राई भन्छन्। 

गाउँपालिका कागजपत्र बोकेर नजाने, महालेखाको टोली गाउँपालिकासम्म नजाने अडानका कारण लामो समय लेखापरीक्षण नै रोकियो। अन्ततः महालेखाको टोली गाउँमै गएर लेखापरीक्षण गर्यो। 

‘हामी जनप्रतिनिधि भनेको खुकुरीको धारमा बसेर राजनीति अगाडि बढाइरहेका हुन्छौँ। हामी कुनै कुरामा फस्न चाहँदैनौँ। फस्यौँ भने हाम्रो राजनीतिक यात्रा ओरालो लाग्छ,’ भूपेन्द्र भन्छन्, ‘कसैले हामीतिर औँला फर्काएको राम्रो लाग्दैन। त्यही भएर पनि हामी पारदर्शी रुपमा काम गर्यौँ। त्यसरी काम गर्दा धेरै मान्छे हामीसँग रिसाएका पनि थिए।’

जति काम, त्यति मात्रै दाम 
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले योजनामा बजेट विनियोन गर्दा नयाँ शैली अपनायो। जति काम, त्यति मात्रै दाम। काम नभएका योजनाको बजेट फिर्ता गराउने र हिउँदे अधिवेशनबाट अरु नयाँ योजनामा वितरण गर्ने। यसले बजेट पाइसकेपछि मनोमानी खर्च गर्ने परम्परा तोड्यो। 

‘जनप्रतिनिधि भनेको अनियमितता गर्न आएका हुन् भन्ने नागरिकको बुझाइ छ। त्यो बुझाइबाट हामी पर हट्न चाहन्थ्यौँ। त्यसकारण पनि कागजपत्रमा भएको कुरा फिल्डमा छ कि छैन भनेर हेरिदिऊन् भन्ने चाहन्थ्यौँ। काम नभएकाहरुको बजेट काटियो,’ उनले भने। 

पहिले योजनाका लागि जति बजेट छुटिन्थ्यो, त्यति सबै खर्च बिलमा देखाइन्थ्यो। त्यसलाई तोड्न जति काम उति नै दामको योजना चलाएको राईले बताए। यसरी फिर्ता भएको बजेट हिउँदे अधिवेशन बोलाएर पुनः अन्य योजनाहरुमा वितरण गरियो।

५ वर्ष नै यसरी बजेट फिर्ताको अभियान चल्यो। यस वर्षको हिउँदे अधिवेशनबाट पनि करिब एक करोड फिर्ता भएर नयाँ योजनामा विनियोजन भएको छ। ​

कृषिमा जोड
जिल्लाको सदरमुकाम पाल्ने गाउँपालिकाका रुपमा चिनिन्छ दिप्रुङ। सदरमुकाममा खाद्यान्न र तरकारी धेरैजसो यही गाउँपालिकाले धान्छ। व्यावसायिक खेतीतर्फ सुन्तला, लिची, कागती, किबी जस्ता खेतीलाई गाउँपालिकाले प्रोत्साहन गरेको अध्यक्ष राई बताउँछन्। यसका लागि पकेट क्षेत्र तोकिएको छ। 

उत्पादन भइरहेका सामाग्रीका लागि पनि गाउँपालिकाले संकलन तथा भण्डारण केन्द्र बनाएको छ। यसले उत्पादन गरे पनि बिक्री हुँदैन भन्ने कृषकको गुनासो सम्बोधन भएको उनी बताउँछन्। अहिले तोकिएको दिन केन्द्रमा लगेर कृषकले सहजै बिक्री गर्छन्। 

माझी वस्तीमा बन्यो मावि 
दुई वर्ष अघिसम्म यो गाउँपालिकाको भँडारेघाटमा प्राथमिक विद्यालय मात्रै थियो। जहाँ माझी वस्ती छ। त्यसमाथिको शिक्षाका लागि टाढा धाउनुपर्ने भएपछि माझी बस्तीका बालबालिका पढाइ छाड्थे। अहिले त्यहाँ माध्यामिक विद्यालय सञ्चालन गरिएको छ। 

गाउँपालिकामा यसअघि कतै विद्यालय भएका ठाउँमा शिक्षक नहुने, दुवै भएको ठाउँमा विद्यार्थी नहुने अवस्था थियो। त्यसको समाधानका लागि गाउँपालिकाले दरबन्दी मिलान गरेको छ। 

माध्यामिक तह सञ्चालन गर्न स्वीकृति दिने तर त्यसअनुसार दरबन्दी नदिने गर्दा शिक्षकको अभाव थियो कतिपय विद्यालयहरुमा। तर कतिपयमा शिक्षकहरु घाम तापेर घर फर्किन्थे। 

अहिले सातवटा नमुना विद्यालयहरु स्थापना भएका छन्। ती विद्यालयमा कम्प्युटर शिक्षा सुरुभएको छ। स्थानीय सरकार शासन सञ्चालनसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै एउटा विद्यालय मर्ज पनि गरेको राईले बताए। 

सुनकोसीको पानी गाउँमा वितरण
भूपेन्द्रले अध्यक्ष हुनुअघि नै जिल्लामा सुनकोसीको पानी गाउँ पुर्याउने योजना सुरु गरेका थिए। खोटेहाङ गाउँपालिकामा पर्ने लिच्किराम्चेको कालापानीबाट लिफ्टिङ गरेर सुनुकोसीको पानी १८ सय मिटर माथि लगेर वितरण गरिएको छ। 

दिप्रुङ चुइचुम्माको भँडारे घाटमा पनि गाउँपालिकाले सुनकोसीको पानी वितरण गर्ने तयारी गरेको छ। यो योजना अन्तिम चरणमा पुगेको छ। २०७४ सालमा जिल्ला जनस्वास्थ्य कार्यालयले सबैभन्दा बढी पाठेघरको समस्या भएको गाउँपालिकाका रुपमा तथ्यांक सार्वजनिक गरेको थियो। बाल मृत्युदर र कुपोषणको समस्या पनि यही गाउँपालिकामा बढी थियो। 

गाग्रीमा पानी बोकेर घण्टौँ हिड्नु पर्ने बाध्यताका कारण पनि यो समस्या देखिएको रिपोर्टमा उल्लेख थियो। अहिले वडा नम्बर १ र ५ मा मिटर जडित खानेपानी वितरण भएको छ। गाउँपालिकाका अरु गाउँमा पनि विस्तारको चरणमा छ। गाग्री नै बोकेर हिँड्नु पर्ने परिस्थिति अब भने नरहेको राई बताउँछन्। 

१५ बेडको अस्पताल र ५ वटा स्वास्थ्य इकाई स्थापना
गाउँपालिकामा ७ वटा स्वास्थ्यचौकी छन्। तर त्यहाँ पुग्न सबै नागरिकलाई सहज छैन। स्वास्थ्य चौकी टाढा भएका ठाउँमा ५ वटा स्वास्थ्य इकाई थप गरिएको छ। वडा नम्बर १, ३, ४, ६ र ७ मा स्वास्थ्य इकाईहरु स्थापना भएका छन्। गाउँपालिका आफैँले १५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ। 

कोभिड अस्पतालका रुपमा स्थापना गरिएको अस्पताललाई नै अहिले अन्य प्राथमिक उपचारको लागि प्रयोग गर्न थालिएको छ। जहाँ एमबीबीएस डाक्टर समेत छन्।

पर्यटकलाई आकर्षित गर्न १७६ मिटर अग्लो दिप्रुङ झर्ना संरक्षणको काम भएको छ। झर्नाको संरक्षणका लागि ५ करोड खर्च गरिएको छ। यस्तै बतासेमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। छिट्टै व्यावसायिक उडान पनि सुरु हुने राई बताउँछन्।

यसका लागि अनुमति लिने प्रक्रिया चलिरहेको छ। 

जिल्लामा अझै पनि धेरै खोलाहरुले सडक टुटाएका छन्। दिप्रुङ जाने सडकमा भने मोटरेबल पुल सञ्चालनमा आइसकेको छ। एकातिर साप्तु खोला, अर्कोतिर सुनकोसी। तर अहिले यो गाउँपालिका खोला नदीको नाकाबन्दीबाट मुक्त भइसकेको छ। 

साप्सु खोलामा ४० मिटर लामो मोटरेबल पुल सञ्चालनमा आएको छ। सदरमुकामबाट गाउँपालिकासम्म पुग्ने खानिडाँडादेखि याम्खाको सडक कालोपत्रे गर्नका लागि टेन्डर भइसकेको छ। गाउँपालिकामा गाडी चल्न थालेको छ। गाउँपालिकाबाट तराई जाने बाटो ग्रावेलिङ गरिएको छ। अब हिउँद–वर्षै गाडी चल्न सक्ने उनले बताए। 

६५ वर्ष माथिकालाई निशुल्क यातायात सेवा 
गाउँपालिकाका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाबाट सदरमुकाम र तराईसम्मको सडकमा यात्रा गर्दा शुल्क लाग्दैन। उनीहरुको गाडीभाडा गाउँपालिकाले नै तिरिदिन्छ।

यो गाउँका बालबालिकाले जन्मिएको २ वर्षसम्म मासिक एक हजार रुपैयाँ भत्ता पाउँछन्। एक दम्पतीका २ जना सन्तानले २ वर्षसम्म मासिक एक हजार रुपैयाँ पाउँछन्। 

के गर्न सकेनन्? 
‘अझै धेरै गर्ने इच्छा छ। गाउँपालिकालाई अझै यस्तो बनाउन पाए हुन्थ्यो भन्ने सपना र योजना छन्,’ उनले भने, ‘ती कतिपय योजना अहिलेलाई पुरा भएनन्।’ 

सडक कालो पत्रे गर्न पाए हुन्थ्यो भन्ने सपना सुनाए उनले। मुख्य सडकको त स्तरोन्नति भयो तर अझै धेरै सडक छन्, जुन वर्षा सञ्चालन नहुन सक्छन्। ठूला योजनाका लागि गाउँपालिकासँग बजेट अभाव हुने भए पनि अन्य समस्या नरहेको उनले बताए। काम गर्छु भन्नेलाई अन्य कुराको अभाव नभएको राई बताउँछन्। 

आफ्नो कामको मूल्यांकन गर्दा उनी भन्छन्, ‘सबैको चित्त बुझाएको छु त म भन्दिनँ। तर मतदाताको शीर ढल्ने काम मैले गरेको छैन।’​

को हुन् भूपेन्द्र? 
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई प्रदेश १ को नेपाली कांग्रेस महामन्त्री हुन्।

एसएलसी उत्तीर्ण गरेसँगै उनको राजनीतिक यात्रा सुरु भयो। उच्च शिक्षा पढ्नका काठमाडौँ आएका राई रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए। नेविसंघमा आवद्ध विद्यार्थीलाई त्यहाँ भर्ना हुन गाह्रो थियो। 

भर्ना हुनका लागि उनले दाइका साथीलाई आफ्ना सबै कागजात छाडेर फर्किए। तर दशैं मानेर फेरि काठमाडौं जाँदा पनि उनको भर्ना भएको थिएन। 

उनले सोधे, ‘किन भर्ना नभएको?’ 

‘तँ नेविसंघ रहेछस्, त्यही भएर भर्ना गर्न गाह्रो भयो,’ दाइले जवाफ दिए। 

नेविसंघ भएकै कारण भर्ना नभएको जवाफपछि उनी नेविसंघमै थप क्रियाशील भए। पछि भर्ना भएपछि त्यही क्याम्पसमा नेविसंघको रात्रिकालीन सिफ्टको सहसचिव भए। त्यसपछि इकाई सभापति भए।

क्याम्पसको स्ववियुको उपसभापतिको उम्मेदवार बने। तर चुनाव भने जितेनन्। दुई पटक आरआरकै स्ववियु सभापतिमा लडे, दुवै पटक हारे। उनलाई त्यहाँ जित्नुभन्दा पनि पढ्न चाहने विद्यार्थीलाई भर्ना गर्नबाट नरोकियोस् भन्ने थियो। 

विद्यार्थी भर्ना हुने समय क्याम्पसको बाहिर भर्नासम्बन्धी कुनै समस्या छ कि भनेर सोध्न एउटा डेस्क नै खडा गरियो। आरआरमा स्नातक गर्दा उनलाई एउटा विषय लाग्यो।  मौका परीक्षा दिएर त्यो पास गरे। 

त्यसपछि उनी स्नातकोत्तर अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भर्ना भए। स्नातकमा जुन विषय लाग्यो स्नातकोत्तरमा त्यही विषय राखे। र, इतिहास विषयगत नेपाल टप भएर स्नातकोत्तर उत्तिर्ण भए। 

‘मैले सोच्दै नसोचेको विषय लागिसकेपछि मलाई इख भयो। अनि त्यही विषयमा थप मेहनत गरेर पढेँ,’ राईले भने। 

२०६३ सालमा पढाइ सकेर गाउँ फर्किए र राजनीति सुरु गरे। धेरैले उनलाई भने, ‘यस्तो राम्रो पढाइ भएको मान्छे कहाँ राजनीतिमा लागेको? 

भूपेन्द्र पढ्नका लागि काठमाडौँ आएका थिए। उनको उदेश्य नै काठमाडौँमै बस्ने थिएन।

भारतीय सैनिकका छोरा भूपेन्द्रलाई आफन्तहरुले जागिर खाऊ भन्थे। तर, उनले राजनीतिमा लाग्ने अठोट गरिसकेका थिए। 

आरआरको इकाइ कमिटिदेखि नविसंघको केन्द्रीय कमिटिसम्म पुगेर उनी जिल्ला फर्किए र पार्टी राजनीतिमा आबद्ध भए। कांग्रेस जिल्ला कार्य समितिमा संगठन विभाग प्रमुख भएर पनि काम गरे। 

‘पढेको मान्छे कहाँ राजनीतिमा लागेको भन्ने चलन छ। तर त्यसो होइन राजनीति भनेकै पढेकाले गर्ने हो। नपढेकाले गरेर राजनीति बदनाम भएको हो,’ उनी भन्छन्, ‘पढेका बुझेकाहरु राजनीतिदेखि तर्किने, अरु जागिरमै जोड गर्ने अवस्था ठिक होइन। मूल नेतृत्वमा बुझेकाहरु नै आउनुपर्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .