राजनीति


गण्डकीमा राष्ट्रिय सभा चुनाव : जितमा पनि खुसी खुम्चिएको गठबन्धन

गण्डकीमा राष्ट्रिय सभा चुनाव : जितमा पनि खुसी खुम्चिएको गठबन्धन

वाशुदेव मिश्र
माघ १३, २०७८ बिहिबार १८:५६, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट सत्ता साझेदार गठबन्धनका तीनै जना उम्मेदवार विजयी बने। महिलातर्फ कांग्रेसकी कमला पन्त, दलिततर्फ  माओवादी केन्द्रका भुवनबहादुर सुनार र खुलातर्फ माओवादीकै सुरेश आले मगर विजयी बने।

तर, उनीहरुले जितिरहँदा सत्ता गठबन्धनमा भने भुइँचालो आयो। कारण थियो–मत ‘क्रस’ हुनु।

सत्ता गठबन्धनमै रहेका दलसँग आवद्ध सांसद र जनप्रतिनिधिहरुले एमाले उम्मेदवारलाई भोट दिएको खुलेपछि सत्ता गठबन्धनमै ‘घात’ भएको प्रमाणित भयो।

गण्डकी प्रदेशमा एमालेका २७ जना सांसद छन्। भोट क्रस नभएको भए एमाले उम्मेदवारहरुलाई सांसदतर्फ ४८ मतभार रहेको २७ मतमात्रै आउनुपर्ने हो।

तर, एमालेतर्फबाट महिला उम्मेदवार लीला पोखरेल धनेतले र अर्जुनकुमार सुनामले २९/२९ मत ल्याए भने खुलातर्फका पुण्य पौडेलले पनि २८ मत प्राप्त गरे।

रमाइलो त के भने सांसदको एउटा मत बदर भयो। बदर मत सत्ता गठबन्धन वा इतर जसको पनि हुनसक्ने सम्भावनालाई मान्ने हो भने पनि ४ जनाले मत क्रस गरेको देखियो।

कुरा त्यत्तिमै रोकिएन, स्थानीय तहमा पनि एमालेलाई बढी मत गयो। एमालेसँग स्थानीय तहमा ६९ मत थियो। १८ मतभार हुने सो क्लष्टरमा पनि पुण्य पौडेलले ७५ तथा लीला र अर्जुनले ७४/७४ मत पाए। यसको मतलब ५ जना गठबन्धनको मत एमालेलाई गयो। 

प​राजय भोग्ने तयारीसहित चुनावमा गएको एमालेले सत्ता गठबन्धनमा आएको विचलनमा खुसी मनायो। एमाले गण्डकीका प्रमुख सचेतक मायानाथ अधिकारीले राष्ट्रिय सभा निर्वाचनले प्रदेश सरकार नै अल्पमतमा भएको जिकिर गरे।

‘यो त सामान्य गणित जान्नेले पनि बुझ्ने कुरा हो नि’,उनले भने, ‘यो गठबन्धन नै अपवित्र थियो भन्ने प्रमाणित भएको छ।’ 

एमालेले खुसी मनाइरहँदा सत्ता गठबन्धनभित्र भने यही चुनावले गम्भीर अविश्वासको स्थिति देखा परेको छ। भोट ‘क्रस’ भएसँगै सबैभन्दा बढी गण्डकी सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस नै रन्थनियो।

चुनाव जितिनेमा ढुक्क रहेका गठबन्धनका नेताहरुले स्थानीय तहका प्रमुख/उपप्रमुखको मत यताउती भएको भन्दा पनि सांसदले नै मत क्रस गरेकोलाई गम्भीरतापूर्वक लिए। दलहरुबीच एउटाले अर्कालाई आशंकाको दृष्टिले हेर्न थालियो। मत परिणाम सार्वजनिक भएलगत्तै बिहीबार सत्ता गठबन्धनको आकस्मिक बैठक बस्यो। 

समीक्षा बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, माओवादी केन्द्रकी गण्डकी अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका गण्डकी अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टीका गण्डकी उपाध्यक्ष हेमबहादुर थापासहित अन्य सांसदहरु सामेल थिए।

बैठकमा सबैले मनको तीतो पोखे। गठबन्धनभित्र घात गर्नेहरुको पहिचान र कारबाही हुनुपर्ने आवाज चर्को स्वरले उठाइयो। तर, गोप्य मतदानमा कसले मत क्रस गर्यो भन्न सक्ने कुरा भएन।

अन्ततः दलहरुले विज्ञप्ति जारी गरे। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पक्षमा गम्भीर कमी–कमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय गर्यो‍।’

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले ढिलोचाँडो घात गर्नेको पहिचान हुने र कारबाही गरिने जिकिर पनि गरे। गोलमटोल भाषाको सहारा लिएर चित्त बुझाउन बाध्य नेताहरुले प्रजातन्त्र/लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्षसमेत निकालिएको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरे।

बैठक सकियो, औपचारिकताको लागि विज्ञप्ति निकालियो तर यही प्रकरणसँगै सत्ता गठबन्धनभित्रको अविश्वास भने उस्तै रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .