कारोबार


२३ वर्षीय युवाको जुत्ता कारखाना ‘थैली’ : जसले खिच्यो अर्बपति महिन्द्राको ध्यान

२३ वर्षीय युवाको जुत्ता कारखाना ‘थैली’ : जसले खिच्यो अर्बपति महिन्द्राको ध्यान

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १७:५७, काठमाडौँ

भारतको एक नयाँ जुत्ता फ्याक्ट्रीले फोहोरमा खेर जाने प्लास्टिकको सदुपयोग गर्दै यसबाट जुत्ता बनाइरहेको छ। यो फ्याक्ट्रीको नाम ‘थैली’ हो।  भारतमा ‘थैली’ भन्नाले प्लास्टिकको झोला भन्ने बुझिन्छ।

नामअनुसार नै फ्याक्ट्रीले प्रयोग भइसकेका प्लास्टिकका सामग्रीबाट जुत्ता उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार उसको वाई२के प्रो मोडलको एक जोडी जुत्तामा १० वटा प्लास्टिकको झोला र १२ वटा बोतलको प्रयोग भएको छ। 

यो कम्पनी सन् २०२१ मा स्थापना भएको हो। कम्पनीका संस्थापक २३ वर्षीय आशय भावे आफ्नो व्यवसाय अहिले नै नाफामा जान जान थालिसकेको बताउँछन्। ​भावे अहिले थैली विश्वको जुनसुकै कुनामा एक जोडी जुत्ता ८ हजार भारुमा पठाउन सकिने बताउँछन्।

कसरी बनाइन्छ प्लास्टिकबाट जुत्ता? 
थैली कम्पनीलाई प्लास्टिकका फोहोर व्यवस्थापन गर्ने ‘ट्रिओट्याप टेक्नोलोजिज’ले आवश्यक प्लास्टिक उपलब्ध गराउँछ। सोही प्लास्टिकबाट कम्पनीले आकर्षक जुत्ता बनाउने गरेको छ। कम्पनीले बनाएको जुत्ता परम्परागतरुपमा बन्दै आएका जुत्ताभन्दा कम हुँदैन। 

सबैभन्दा पहिला प्लास्टिकका झोलालाई तातोपानीमा राखिन्छ र त्यसलाई सुकाइन्छ। यसमा कुनै रसायनको प्रयोग गरिएको हुँदैन। सामान्यरुपमा तताउने प्रविधिको प्रयोग गरी थैलीले जुत्ताको लागि आवश्यक पर्ने सामग्री तयार पार्छ। कम्पनीले जुत्ता बनाउँदा प्लास्टिकको कुनै पनि रसायनको प्रयोग नगरिने बताएको छ।

१०देखि १२ प्लास्टिकका झोला भए एक जोडी जुत्ता बनाउन सकिने कम्पनीका संस्थापक भावे बताउँछन्। जुत्ताको तुना पनि प्लास्टिकबाटै बनाइन्छ। जुत्ताको सोल रिसाइकल गरिएको रबरबाट बनाइन्छ। 

अहिले थैली फ्याक्ट्रीले १७० जना मानिसलाई रोजगारी पनि दिएको छ। प्रत्येक साता यो कम्पनीले १५ हजार जोडी जुत्ता बनाउने गरेको छ। कम्पनीले फोहोरको रुपमा खेर जाने सबैलाई पुनः प्रयोग गर्न सकिने उत्पादन बनाउने लक्ष्य लिएको छ। 

महिन्द्राले​ गरे लगानीको चाहना 
भारतीय अर्बपति आनन्द महिन्द्राले भावेको यो कार्यको प्रशंसा गरेका छन्। उनले आफूलाई यस विषयमा थाहा नभएको भन्दै दुःख पनि व्यक्त गरेका छन्।

उनले आफूले नर्वेका पूर्व कूटनीतिक अधिकारी तथा राष्ट्रसंघका पूर्व वातावरण प्रमुख एरिक सोल्हेइमले गरेको ट्वीटबाट भारतीय युवाको उद्यमबारे थाहा पाएका थिए। 

महिन्द्राले यस्ता नवउद्यमीलाई हौसला दिनु जरुरी रहेको बताएका छन्। महिन्द्राले भावेको कम्पनीले बनाएको जुत्ता खरिद गर्नुका साथै कम्पनीमा लगानी गर्ने इच्छासमेत व्यक्त गरेका छन्। भारतीय सञ्चारमाध्यमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .