राजनीति


गठबन्धनले यथास्थितिवादी परम्परा तोड्ने हिम्मत गरोस् : नारायणकाजी श्रेष्ठ

भने : आन्दोलन हुँदा सबै बैठकमा जान्थेँ, अचेल नियमित बोलाउँदैनन्
गठबन्धनले यथास्थितिवादी परम्परा तोड्ने हिम्मत गरोस् : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १२:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनसँगको असन्तुष्टिलाई निरन्तर व्यक्त गरिरहेका छन्। 

माओवादीसमेत सदस्य रहेको पाँच दलीय गठबन्धनका शीर्ष नेताले हिजो 'प्रतिगमन विरोधी आन्दोलन' मा सहभागी नेताहरुलाई बेवास्ता गर्दै गएको भन्दै उनले असन्तुष्टिलाई  सामाजिक सञ्जालमै व्यक्त गरिरेहका छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि असन्तुष्ट बनेका श्रेष्ठले पाँच दलीय गठबन्धन अहिले पनि यथास्थितिवादी र परम्परागत शैलीमा चलेको आरोप लगाएका छन्। 

आइतबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले विगतमा भएका आन्दोलनका क्रममा बैठकहरुमा हुने आफ्नो अनिवार्य उपस्थिति अहिले विस्तारै कम हुँदै गएको पनि बताएका छन्। 

पाँच दलीय गठबन्धन भए पनि अहिले शीर्ष नेतामा सीमित रहेको बताएका उनले सत्तामा पुगिसकेपछि बैठकमै बोलाउन छाडिएको पनि बताएका छन्। 

उनले एउटा महत्वपूर्ण बैठकमा अघिल्लो सरकारका सबै नियुक्ति गर्न नहुने धारणा राखिसकेपछि अन्य बैठकमा सहभागिताको अवसर नपाएको पनि उल्लेख गरेका छन्।

‘प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो’, उनले भनेका छन् 'त्यसबेला अनिवार्य जस्तै थियो सहभागिता। संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि एकाध बैठकहरुमा मात्रै आमन्त्रण अनुसार भाग लिन पाएको छु।’

नेता श्रेष्ठले राजदूत फिर्ता बोलाउनेबारेमा भएको छलफलमा आफूले सक्षम व्यक्तिहरुलाई फिर्ता गर्न नहुने धारणा आफूले राखेको पनि बताएका छन्। 

‘एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएँ', उनले भनेका छन्, 'संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिएका नियुक्ति, असक्षम र ब्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्छ, सबैलाई एकमुष्ट रुपमा होइन।’

उनले सबै राजदूतलाई एकमुष्ठ फिर्ता बोलाउँदा परम्पार नै बसेर त्यसले दीर्घकालसम्म प्रभाव पार्ने पनि बताएका छन्। 

‘हरेक सरकारले अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने परम्परा बन्छ। त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ', उनले भनेका छन्, 'स्थायित्वको आशंकाका कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन। शीर्षस्थ नेताहरुले यो कुरा ठीकै भए पनि निर्णय भइसकेकाले अब छलफल नगरौँ भन्नुभयो र त्यो कुरा त्यहीँ सकियो।’

श्रेष्ठले अब राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्दा देशको इज्जत बढाउने व्यक्तिहरूलाई अवसर दिनुपर्ने पनि छन्। 'सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागू गर्ने चाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौँ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .