ad ad

राजनीति


ओलीलाई ली क्वान युसँग तुलना गर्दै प्रसाईले भने: तपाईंका कार्यकर्ता मात्रै छैनन्, फ्यान पनि छन्

ओलीलाई ली क्वान युसँग तुलना गर्दै प्रसाईले भने: तपाईंका कार्यकर्ता मात्रै छैनन्, फ्यान पनि छन्

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १६:१४, काठमाडौँ

झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका सञ्चालक एवम् व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा एमाले भएका छन्। 

बिर्तामोडमा आइतवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीसहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन्।

उनीहरुलाई एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितले स्वागत गरे। 

उनले एमाले प्रवेशका क्रममा नेपालमा ओलीका कार्यकर्ता मात्रै नभई फ्यान पनि उत्तिकै रहेको बताएका छन्। 

‘एमालेका सदस्य मात्रै होइन, दलमा नलागेका लाखौँ जनता पनि तपाईंका फ्यान छन्', उनले भने, 'भारतको नाकाबन्दीमा लिएको अडान भुलेका छैनन्। यो देशमा तपाईंका कार्यकर्ता मात्र छैनन्, फ्यान पनि छन्।’

प्रसाईले राजनीतिक अपराधीहरूलाई साथमा लिएर नहिँड्न पनि ओलीलाई सुझाए।  उनले ‌ओलीलाई सिंगापुरका नेता ली क्वान युसँग पनि तुलना गरे। 

'ओली हजुरबालाई मैले नजिक बुझेको छु। सिंगापुरलाई अहिलेको अवस्थामा ल्याउने ली क्वान यु र मलेसियाका महाथिर मोहम्मदको अनुहार मैले उहाँमा देखेँ। यो मैले चाकडीका लागि भनेको होइन।'

प्रसाईले आगामी चुनावमा एमालेले बहुमत ल्याउने पनि दाबी गरे। उनले जनताले ओलीको नेतृत्वमा बहुमत दिने तयारीमा रहेको पनि दाबी गरे।

देश विकासको गतिलाई अघि बढाउन ओलीको विकल्प नै नभएको उनले बताए।

माओवादीमाथि खनिए

कुनै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक प्रिय पात्र थिए प्रसाई। तर उनले आइतवारको सम्बोधनमा माओवादीप्रति आक्रोश पोखे। 

उनले माओवादी केन्द्रलाई माओको नाम बेच्ने अधिकार नभएको बताउँदै उनीहरुलाई कम्युनिष्ट भन्न पनि लाज लाग्नुपर्ने भन्दै कटाक्ष गरे। 

उनले अहिलेकै अवस्थाका लागि १७ हजार मानिसको बलिदानी भएको भन्दै माओवादीमाथि प्रश्न पनि गरेका छन्। 

‘अहिलेकै अवस्था देख्न १७ हजार जनताको बलिदानी भएको हो? यसकै लागि जनताले गोली खानुपरेको हो?', उनले भने, 'माओवादीको जनयुद्धले देशलाई २ सय वर्ष पछाडि लग्यो। १७ हजार मानिस मारिएको जवाफ अब पनि उनीहरुसँग नखोजिए हामी दास बन्छौँ।'

उनले प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ सुम्पिएको पनि आरोप लगाए। 

प्रचण्डले आफ्नै टाउकाको मोल तोक्ने देउवाको पैतालामा लगेर जनयुद्ध विसर्जन गरेको पनि बताए। उनले कसैको लोभले एमालेमा नआएको पनि उल्लेख गरे। 

प्रसाईंले एमालेबाट माधव नेपाल र झलनाथ खनालको बहिर्गमन कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिएको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .