ad ad

राजनीति


निर्वाचन अभियानतर्फ एमाले, तीनै सरकारमा बहुमत ल्याउने योजना

निर्वाचन अभियानतर्फ एमाले, तीनै सरकारमा बहुमत ल्याउने योजना

नेपालखबर
असोज १७, २०७८ आइतबार १७:३६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिलो विधान महाधिवेशनसँगै आफूलाई निर्वाचन अभियानमा होमेको छ।

शुक्रबारदेखि तीन दिनसम्म भएको पहिलो विधान महाधिवेशनबाट एमालेले आफूलाई आगामी वर्ष हुने तीनै तहको निर्वाचन जित्ने तयारीका लागि होमेको हो।

विधान महाधिवेशनको अन्तिम दिन आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आएका सुझावको जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीका सबै संगठनलाई आगामी निर्वाचनमा होम्न अपिल गरे। 

उनले तीनै तहका निर्वाचनमा बहुमत ल्याउने गरी एकतावद्ध भएर तयारी थाल्न भनेका हुन्। एमालेबाट केही नेता चोइटिएर गए पनि त्यसको क्षतिपूर्ति लिने गरी निर्वाचन अभियानमा होमिन उनले अपिल गरेका हुन्। 

'आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ। स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ', उनले भने, 'प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ।'

उनले निर्वाचन तयारीकै लागि अब महाधिवेशनका कुनै पनि कार्यक्रम नसार्न पनि निर्देशन दिए। 

'अब वडा र पालिका अधिवेशनहरू तोकिएकै मितिमा सक्नुपर्छ। सबै जिल्ला अधिवेशन निर्धारित मितिमै सक्न जरुरी छ, यसमा एक दिन पनि ढिला नगरौँ', ओलीले भने, 'कुन कुन तहले के के काम गरेर जित्ने हो? सबैजना मिलेर जितौँ।'

उनले अहिलेदेखि नै तयारी थालेर अघि बढ्नुपर्नेमा जोड दिए। 'हामीले जित्ने उम्मेदवार छनौटमा ख्याल गर्नुपर्छ। विपक्षी दलहरूको रणनीति हेरेर यसमा निर्णय लिनुपर्छ', उनले भने, 'तर हामी आजैदेखि सबैजना यो काममा लागौँ। हाम्रो महाधिवेशन लगत्तै देशको निर्वाचन हुने भएकाले अब कुनै विलम्ब नगरौँ।

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै कसैलाई पनि मत पत्र च्यातेर चुनाव जित्न नदिने बताए। 

'०६४ को जस्तै मतपत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ जित्छौँ भनिरहेका छन्', उनले भने, 'त्यस्ता सोच र कार्यलाई हामीले परास्त गर्नुपर्छ, कुनै हालतमा हामीले अवैधानिक गतिविधि रोकेर जित्नुपर्छ।'
 
त्यसैगरी भीम रावलको संयोजकत्वमा बनेको मस्यौदा प्रस्ताव समितिले निर्वाचन जित्ने गरी लाग्नुपर्ने जनाएको छ। समितिको तर्फबाट नेता रघुजी पन्तले प्रस्ताव राख्दै आसन्न निर्वाचनमा होमिनु आवश्यक रहेको बताए। 

'एमालेका सबै नेता कार्यकर्ता अब आसन्न निर्वाचनमा होमिनु आवश्यक भएको छ', हलबाट पारित प्रस्तावमा भनिएको छ, 'पार्टीको महाधिवेशन सकेलगत्तै हामी निर्वाचन तयारीमा लाग्न ढिला गर्नु हुँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .