ad ad

राजनीति


'राजनीतिक व्यवस्था फेरिए तर मदन भण्डारी जस्तो अर्को नेता जन्मिएन'

परिवर्तित व्यवस्थालाई जनतासँग जोड्न नसक्दा समस्या
'राजनीतिक व्यवस्था फेरिए तर मदन भण्डारी जस्तो अर्को नेता जन्मिएन'

नेपालखबर
असोज ५, २०७८ मंगलबार १४:३७, काठमाडौँ

पूर्वसभामुख दमननाथ ढुंगानाले देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि जननेता मदन भण्डारी जस्तो अर्को नेता जन्मिन नसक्दा जनताले दु:ख पाएको बताएका छन्। 

मदन भण्डारीको जीवनमा आधारित पुस्तक 'श्वेतशार्दूल' सार्वजनिक कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधनका क्रममा ढुंगानाले यस्तो बताएका हुन्। 

'हामीले यत्रो परिवर्तन गर्‍यौँ तर त्यसलाई जनतासँग जोड्न सकेनौँ। पञ्चायतकालमा जस्तै टुँडिखेलमा बन्दुक पड्काएर एउटाले संविधान दिवस मनाउँदा अर्कोले बहिष्कार गर्छ', उनले भने, 'म सभामुख हुँदा मदन भण्डारी र केपी शर्मा ओलीजीको राम्रो सल्लाह आउँथ्यो। संविधान त्यसबेला पनि उत्कृष्ट थियो। तर असन्तुष्टिहरूलाई मूलधारमा नल्याएसम्म संविधान पूरा हुँदैन।'

कांग्रेस नेता समेत रहेका ढुंगानाले २०४७ सालको संविधान आउँदा २७ बुँदे असहमति दर्ता गरेर पनि चुनावमा भाग लिएको स्मरण गरेका छन्।  

'मदन भण्डारीले त्यसबेला २७ वटा असन्तुष्टि दर्ज गरेर, असहमति जनाएर पनि चुनावमा भाग लिएर संसदीय प्रतिस्पर्धामा सहभागी हुनु भयो', उनले भने, 'तर उहाँले पदलाई प्राथमिकता दिनु भएन। बरु मनमोहन अधिकारीलाई दिनुभयो।'

तत्कालीन शासकले बहुदल ल्याउने क्रममा आफूहरुलाई भुलभुलैयामा पार्न खोजेको पनि उनले बताए। ढुंगानाले परिवर्तनपछि आन्दोलनले नयाँ नेता खोज्ने पनि बताए। 

'हाम्रो देशमा राजनीतिक परिवर्तन भइरहेको छ तर जनताको अपेक्षाको नेता छैन। त्यसबेला त्यो नेताको पूर्ति मदन भण्डारीले गरेका थिए', उनले भने, 'जनताका अपेक्षा पूरा गर्ने क्रममा 'जनताको बहदुलीय जनवाद' आएको थियो।'

उनले मदनको जबज पनि अंशवण्डामा परिसकेको भन्दै दुखेसो व्यक्त गरे। 'जबज पनि अब त अंशवण्डामा पनि परिसकेको छ। यो दु:खको कुरा हो', उनले भने, 'जबजबारे पनि अब केही दिनमै एउटा निष्कर्ष आउला। जबज ठूलो विचारले आएको थियो। त्यसले काम पनि गर्यो। जबजकै आधारमा मनमोहनले सरकार बनाए अहिले ओलीले पनि सरकार बनाए।'

मदनले ल्याएको जबज कम्युनिष्टका लागि मात्रै नभएको पनि उनले बताए। 'जबज कम्युनिष्ट पार्टीका लागि मात्रै थिएन। जबजले कम्युनिष्टलाई देशमा वैकल्पिक शक्तिका रुपमा स्थापित गर्‍यो', ढुंगानाले भने, 'त्यसबेलाको परिवर्तनमा नेताको पूर्ति मदन भण्डारीले गर्नु भएको थियो। हामीलाई मदन भण्डारी र जबजले मात्रै पुग्दैन, अझै नयाँ मदन भण्डारी चाहिएको छ।'

नेपालमा कम्युनिष्ट पार्टीहरू शक्ति केन्द्रित गर्न लाग्दा फुटेको उनले बताए। 'कम्युनिष्ट पार्टीले शक्ति केन्द्रित गर्छ। तर प्रजातान्त्रिकले शक्ति बाँडफाँट गर्छन्', उनले भने, 'शक्ति केन्द्रित गर्नै लागेका कारण कम्युनिष्टहरू फुट्छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .