ad ad

राजनीति


प्रचण्ड भन्छन् : माओवादी फेरि पनि देशकै पहिलो पार्टी बन्छ

गठबन्धन जोगाउन सके दुईतिहाइ बहुमत आउने दाबी
प्रचण्ड भन्छन् : माओवादी फेरि पनि देशकै पहिलो पार्टी बन्छ

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १३:४५, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु फेरि देशकै शक्तिशाली पार्टीका रुपमा फर्किने दाबी गरेका छन्। 

मा‌ओवादी नेता पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित सभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले आफ्नो फेरि पनि एक नम्बर बन्ने बताएका हुन्। 

‘देशभर संगठन संरचना विस्तार गरेर अघि बढ्ने हो भने मा‌ओवादी फेरि देशकै शक्तिशाली र एक नम्बर पार्टीका रुपमा फर्किन्छ', दाहालले भने, 'आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी बन्नबाट कुनै शक्ति रोक्न सक्दैन।’

दाहालले संविधान बनाउँदा नै फरक मत राखेको पनि स्मरण गराए। उनले संविधान संशोधनका लागि आफूहरु सडकमा जानुपर्ने अवस्था आउन सक्ने पनि चेतावनी दिएका छन्।

‘क्रान्ति र आन्दोलनमा जाने भनेपछि जुर्मुराउँदै उठ्ने कार्यकर्ताको पंक्ति यही पार्टीमा देखेको छु', उनले भने, 'लाखौँको संख्यामा कार्यकर्ताहरु सडकमा आउन तयार देखिए। तर, हामीले दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेका छौँ। जरुरी परेमा फेरि सडकमा झर्नुपर्ने हुन्छ।’

उनले देशको विकासकै लागि गठबन्धन बनाएको दाबी गरे। 'गठबन्धनलाई बचाएर त्यसकै बलबाट हामी दुईतिहाइको सरकार बनाउन सक्छौँ। त्यसकै लागि यो मोर्चाबन्दी भएको छ', उनले भने, 'गठबन्धनलाई जनताले पनि बुझेका छन्। हामी आफैं विचलित नभइ अघि बढेमा, आफैंलाई बदलेर हिँडेमा फेरि नम्बर एक बन्छौँ।'

दाहालले जनयुद्धकै क्रममा माओवादीलाई सिद्धयाउन खोजिएको पनि बताए। 'जनयुद्धमै  सिद्धिन्छ भनिएको माओवादी अहिले यो अवस्थामा आइपुगेको छ। एक वर्षयताका आन्दोलन हेर्दा पनि देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने जोगाउने पार्टी माओवादी हो भन्न पुष्टि  भएको छ', उनले भने, 'शान्ति प्रक्रियामा आएयता हामीलाई अन्य पार्टीले ५-७ सिट नल्याउने भनेका थिए तर हामीले झण्डै बहुमत ल्याएर देखाइदिएका थियौँ।'

उनले अब माओवादी नै सच्चिने बेला आएको पनि बताए। दाहालले आफैं सच्चिन सकेमा माओवादी फेरि ठूलो पार्टी हुने पनि जिकिर गरेका छन्। 

‘हामी १५ वर्षसम्म पटक पटक सत्तामा गएकै हौँ। तर देशको नेतृत्व राम्ररी गर्न नपाएर समय गयो,' उनले भने, 'यसबीचमा सयभन्दा धेरै मन्त्री भएछन्। हामीले अब आफूलाई सुधार्नुपर्छ। देशभका गाउँसम्म पार्टी संगठन बनाएर अघि बढ्नुपर्छ। अब अरुलाई गाली गरेर हुँदैन, आफैंलाई गाली गरेर जाऊँ। हामी सच्चिन सकेमा फेरि पनि देशको पहिलो शक्ति बन्न समस्या छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .