ad ad

राजनीति


रामचन्द्र पक्षको माग : डडेलधुरा घटनाले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठ्यो, धाँधली रोकियोस्

रामचन्द्र पक्षको माग : डडेलधुरा घटनाले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठ्यो, धाँधली रोकियोस्

नेपालखबर
भदौ २८, २०७८ सोमबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकपछि पौडेल पक्षले कांग्रेसको निर्वाचन समितिसमक्ष यस्तो माग गरेको हो। 

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले कुनै किसिमको धाँधली नस्वीकार्ने पनि बताएका छन्। 

पौडल समूहले पार्टीको १४ औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत डडेलधुरामा भएका वडा अधिवेशनमा धाँधली भएको आरोप पनि लगाएको छ।

पौडेलले सभापति शेरबहादुर देउवाले फेक निर्वाचन गराएको बताउँदै त्यसलाई निर्वाचन समितिले मान्यता दिन नहुने अडान लिएका छन्। 

'डडेलधुरामा जसरी वडा अधिवेशनबारे हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो', पौडेलले भनेका छन्, 'त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा शंका बढाएको छ। त्यहाँ फेरि चुनाव गराउनुपर्छ। हामीलाई 'फेक' चुनाव मान्य छैन। निर्वाचन समितिले त्यसलाई मान्यता दिनुहुँदैन।'

बैठकपछि जारी गरिएको विज्ञप्तिमा पनि पौडेल समूहले डडेलधुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधली सच्याउन पनि आग्रह गरेको छ। 

पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधानका प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनुले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाएको पनि पौडेल समूहले जनाएको छ।

धाँधली गरेर वडा अधिवेशन गर्नेले महाधिवेशन निष्पक्ष रुपमा गर्न सक्ने कुनै ग्यारेन्टी नभएको बताउँदै देउवाको उक्त कदम आपत्तिजनक भएको पनि उल्लेख गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .