संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा गरिरहेको अवरोध खुलाउनेबारे बसेको उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकबाट कुनै निष्कर्ष निस्किन नसकेको जानकारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिए।
उनका अनुसार प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित भएपछि संसदको गतिरोध हटाउनेबारे बैठकले ठोस निर्णय लिन नसकेको हो।
बैठकपछि बाहिरिँदै सत्तारुढ गठबन्धन जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले पार्टी नै फुटिसकेको अवस्थामा एमालेले संसद अवरोध गरिरहनु ठीक नहुने बताइन्।
'अब पार्टी नै फुटिसकेको छ। यो अवस्थामा एमालेले संसद अवरुद्ध गरिरहुन ठीक होइन', उनले भनिन्, 'तर बैठकले एमालेसँग संवाद अघि बढाउन सभामुखलाई भनेको छ।'
पौडेलले एमालेसँग संवाद बढाएर सभामुखले फेरि अर्को सर्वदलीय बैठक डाक्ने बताइन्। 'एमाले दलका नेतासँग संवाद गर्न सभामुखलाई भनेका छौँ', उनले भनिन्, 'एमालेलाई पनि सहभागी गराउने गरी अर्को बैठक डाक्न भनिएको छ।'
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।
एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुखले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए।
सभामुख सापकोटाले बोलाएको बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले सापकोटालाई पदबाट राजीनामा दिन दबाब दिएको छ।
गत वैशाख २७ गते एमालेले लगाएको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले सभामुखलाई राजीनामा दिन भनेको हो।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले अहिलेको संकटको निकास दिनका लागि सभामुखले या माधव नेपालसहित १४ सांसदलाई गरिएको सूचना टाँस्नुपर्ने या त राजीनामा दिनुपर्ने बताएका छन्।
Shares
प्रतिक्रिया