ad ad

राजनीति


एमालेले सभामुखलाई भन्यो : सर्वदलीय बैठकमा आउँदैनौँ, तपाईंले राजीनामा दिनुस्

गतिरोध अन्त्यका लागि ओलीसँग संवाद थाल्न आग्रह
एमालेले सभामुखलाई भन्यो : सर्वदलीय बैठकमा आउँदैनौँ, तपाईंले राजीनामा दिनुस्

नेपालखबर
भदौ २८, २०७८ सोमबार १२:५३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट राजीनामा दिन भनेको छ। गत वैशाख २७ गते एमालेले लगाएको ह्वीप उलंघन गरेका माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै आक्रोशित एमालेले सभामुखलाई राजीनामा दिन भनेको हो। 

एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न नभए सभामुख पदबाट राजीनामा दिन दबाब दिएको हो। 

सोमबार बिहान एमाले प्रमुख सचेतक विशाल भट्टराईले टेलिफोन गरेर अहिलेको संकटको निकास दिनका लागि सभामुखसँग दुईवटा मात्रै विकल्प रहेको बताएका हुन्। 

भेटेरै आफ्ना कुरा राख्न सभामुखले समय नदिएपछि उनले टेलिफोन गरेर दुईवटा विकल्प सुझाएका हुन्। 'माओवादीले गरेको कारबाहीको सूचना केही बेरमै टाँस्न सम्भव भयो। तर एमालेले गरेको कारबाहीलाई सभामुखले षडयन्त्रपूर्वक कार्यान्वयनमा लगेनन्', भट्टराईले भने, 'एमाले फुटाउन सभामुखको पनि भूमिका छ। त्यसैले कि त सभामुखले एमालेको कारबाहीको सूचना टाँस्नुपर्यो कि त निकास दिन पद छाड्नुपर्यो।'

सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि सोमबार बिहान समय माग गरेका थिए। तर, सभामुख सापकोटाले भेट्न अस्वीकार गरिदिएका थिए। 

‘आज म सिंहदरबार आउँदिन, उतै बैठकमा आउनुहोला, त्यहीँ छलफल गरौँला,’ सभामुखले भट्टराईलाई यस्तो जवाफ दिएका थिए।

त्यसपछि सभामुख सापकोटा र एमाले प्रमुख सचेतक भट्टराईबीच टेलिफोन संवादमा थप कुराकानी भएको हो। टेलिफोन सम्वादमै एमालेसँगको समस्या सर्वदलीय बैठकबाट समाधान नहुने अडान भट्टराईले राखेका हुन्। 

'त्यो त अहिलेको समस्या समाधान गर्न डाकेको बैठक नै होइन। समस्या जोसँग छ त्यहीसँग बस्नुपर्यो नि। सभामुखले एमालेसँग संवाद गर्नुपर्यो नि', भट्टराईले नेपालखबरसँग भने, 'एमालेसँगको विवाद प्रचण्ड, माधव र उपेन्द्रसँग राखेर समाधान हुँदैन। जुन तरिकाले सभामुखले समाधन खोजेका छन् त्यसले कुनै निकास दिँदैन, झन् समस्या बल्झाउँछ।'

भट्टराईले यदि सभामुखले निकास खोजेको हो भने सिधै एमाले दलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुपर्नेमा जोड दिए। 

'सभामुखले अहिलेको संसदको गतिरोधको निकास खोजेको हो भने हाम्रा दलका नेतासँग संवाद थाल्नुपर्छ', उनले भने, 'समस्या एमालेसँग छ अनि सर्वदलीय बैठक राखेर सभामुख अर्कै बाटो हिँड्दैछन्। हामी त्यो बैठकमा जाँदैनौं।'

भट्टराईले एमालेले कारबाही गरेका सांसदहरुबारेको सूचना टाँस्न छाडेर उनीहरुलाई नै डाकेर गरिने बैठकमा आफूहरु सहभागी हुनै नसक्ने पनि बताए।

'हामीले कारबाही गरेका सांसदहरुलाई बोलाएर समस्याको समाधान हुँदैन', उनले भने, 'सभामुखले सर्वदलीय बैठक राखेर समस्या बल्झाउने काम गर्दैछन्। एमाले दलको कारबाहीको सूचना टाँसिदिए सक्किगोनि!'

दुई नेताको संवाद 

सभामुख सापकोटाले सिंहदरबार नै नआउने बताएपछि भट्टराईले थप कुरा प्रस्ट हुन टेलिफोनबाटै सोधेका थिए, ‘कतिवटा दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको छ ?’ सभामुख सापकोटाले भने, ‘संसदका सबै १० दललाई बैठकमा बोलाएको छु।’

‘नेकपा एकीकृत समाजवादी पनि बैठकमा आउँछन् ?’ भट्टराईको प्रश्न थियो।

‘उहाँहरूसहित १० दल बैठकमा आउने हो, तपाईंहरू पनि आउनुहोला।’

जवाफमा भट्टराईले भने, ‘जुन पार्टी र सांसदको संवैधानिक मान्यतामा प्रश्न उठाएर हामीले निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छौँ, त्यो बैठकमा एमाले कसरी आउन सक्छ ?’

जवाफमा सापकोटाले भने, ‘त्यही समस्या समाधान गर्न बैठकमा आउन अनुरोध गरिएको हो, सबैसँग राय लिन बैठक बोलाइएको हो।’

भट्टराईले अगाडि भने, ‘जुन पार्टी र उनका सांसदको पदमाथि संवैधानिक प्रश्न उठाएर एमालेले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ, त्यो पार्टी उपस्थित बैठकमा कसरी एमाले आउन सक्छ ? उहाँहरू पनि उपस्थित हुने भए एमाले बैठकमा आउँदैन।’

भट्टराईले बैठकमा एमालेको उपस्थिति नहुने जनाएपछि सभामुख सापकोटाले फेरि भने, ‘निर्वाचन आयोगले मान्यता दिएको पार्टीलाई बैठकमा त बोलाउनु नै पर्छ, त्यो त मेरो धर्म नै हो।’

‘निर्वाचन आयोगले मान्यता दिएको होइन, तपाईंले पदीय मर्यादाविपरीत कार्य गरेकाले यो अवस्था आएको हो, त्यसैले एमाले बैठकमा आउनका लागि दुईवटा सर्त छन्- पहिला एमालेले पदमुक्तको सिफारिस गरेको सूचना टाँस गर्नुपर्‍यो, दोस्रो, पदीय जिम्मेवारीभन्दा बाहिर गएर काम गरेकाले तपाईंले मार्गप्रशस्त गरिदिनुपर्यो भन्ने एमाले अडान छ।’

भट्टराईले सापकोटालाई एमाले धारणा सुनाए पनि उनले भने बैठकमा उपस्थित हुन आग्रह गरिरहेका थिए। 

‘त्यही सन्देश सुनाउन मैले सिंहदरबारमा भेट गर्न खोजेको थिएँ, तपाईं नै सिंहदरबार नआउने भएपछि मैले एमालेको सन्देश यहीँबाट सुनाइदिएँ, अब तपाईं आफै निर्णय गर्नुहोस्', भट्टराईले टेलिफोनमा भने।  

एमाले प्रमुख सचेतक भट्टराईले पार्टीको अडान सुनाएपछि सभामुख सापकोटाले कुनै जवाफ नदिइ छलफल गरौंला भनेर संवाद टुङ्ग्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .