राजनीति


भारतीयको हत्यारा हक्कानी नेटवर्क र तालिबानको सम्बन्ध कस्तो? यस्तो छ नालीबेली

भारतीयको हत्यारा हक्कानी नेटवर्क र तालिबानको सम्बन्ध कस्तो? यस्तो छ नालीबेली

फाइल तस्बिर : हक्कानी नेटवर्कका लडाकु


नेपालखबर
भदौ १९, २०७८ शनिबार १५:८, काठमाडौँ

अफगानिस्तानमा तालिबानले आफ्नो सरकार गठन गर्ने अन्तिम तयारी भइरहेको छ। यसअघि उसले भारतसँग सुमधुर सम्बन्ध बनाउने बताएको छ। यस विषयमा तालिबानका नेता र भारतीय राजदूतबीच दोहामा भेटवार्ता भएको छ। यस्तै तालिबानसँग सत्तामा सामेल हुन लागिरहेको आतंकवादी संगठन हक्कानी नेटवर्कले पनि भारतसँग सम्बन्ध सुधारको कुरा गरेकाे छ।  

पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको इशारामा काम गर्ने हक्कानी नेटवर्कले कस्मिर मुद्दामा कुनै हस्तक्षेप नगर्ने बताएको हो। यो त्यही आतंकवादी संगठन हो, जसले अफगानिस्तानको राजधानी काबुलस्थित भारतीय राजदूतावासमा आत्मघाती हमला गरेको थियो। 

हक्कानी नेटवर्कले भारतबारे अहिले के भन्यो? उसको भनाइमा कत्तिको विश्वास गर्न सकिन्छ?हक्कानी नेटवर्क के हो र यो तालिबानभन्दा कति फरक छ? तालिबानभित्र यसको भूमिका के हो? अब बन्ने तालिबान सरकारमा यसको कुनै भूमिका हुन्छ?

आउनुहोस्, यी सबै कुराको जानकारी लिऔं। 

हक्कानी नेटवर्कले भारतबारे के भन्यो?
हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानीका भाइ अनस हक्कानीले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध स्थापना गर्न चाहन्छौं। भारतले पछिल्लो २० वर्ष हाम्रा दुश्मनलाई निकै सहयोग गर्यो, तर हामी पहिलेका सबै कुरा भुलेर सम्बन्ध अगाडि बढाउन चाहन्छौं।’

कस्मिरको सवालमा अनसले अगाडि भनेका छन्, ‘कस्मिरमा कुनै किसिमको हस्तक्षेप हाम्रो नीतिविपरीत हो। यस मुद्दामा हामी कुनै किसिमको हस्तक्षेप गर्दैनौं।’​

भारतबारे हक्कानी नेटवर्कको वक्तव्य किन महत्त्वपूर्ण? 
यो आतंकवादी संगठन पाकिस्तानको इशारामा चल्ने समूहका रूपमा चिनिन्छ। तालिबान सत्तामा आएपछि भारत–अफगानिस्तान सम्बन्धमा हक्कानी नेटवर्क एउटा ठूलो बाधा बन्ने अनुमान विज्ञले गरेका छन्। 

यसलाई यसरी बुझ्न सकिन्छ– २००८ जुलाईमा काबुलस्थित भारतीय राजदूतावासमा यही आतंकवादी संगठनले हमला गरेको थियो। जुन आत्मघाती आक्रमणमा ५८ जना मारिएका थिए। यो विस्फोट गराउन हक्कानी नेटवर्कलाई आईएसआईले आदेश दिएको बताइन्छ। 

२०२० मार्चमा काबुलको गुरुद्वारा राय साहेबमा भएको आतंकवादी हमलामा २५ जना श्रद्धालुको मृत्यु भएको थियो। यस हमलाको जिम्मेजवारी आईएसआईएस–केले लिएको थियो। तर अमेरिकी गुप्तर एजेन्सीले यो हमला पनि हक्कानी नेटवर्कले नै गरेको दाबी गरेको थियो। 

हक्कानी नेटवर्कको भनाइमा विश्वास गर्न सकिन्छ?
हक्कानी नेटवर्क होस् वा तालिबान, दुवैको कुरामा चाँडै विश्वास गर्न सकिन्न। तालिबानले बिहीबार आफ्नो सरकार सञ्चालन गर्न आवश्यक आर्थिक सहयोगका लागि चीनमा निर्भर रहेको बतायो, किनकि चीन नै आफ्नो विश्वसनीय मित्र रहेको उसको भनाइ छ। 

अर्कातर्फ तालिबानको जितपछि हक्कानी नेटवर्क र तालिबानको अर्का सहयोगी अलकायदाले कस्मिर र अन्य इस्लामी भूमिलाई इस्लामका शत्रुबाट मुक्त गर्न तालिबानलाई आह्वान गरे।

भारतसँग राम्रो सम्बन्ध राख्ने बताएका तालिबानका प्रवक्ता सुहैल शाहिनले बिहीबार साँझ एक अन्तर्वार्तामा भनेका छन्, ‘भारतको कस्मिरलगायत विश्वभरका मुस्लिमको आवाज उठाउने अधिकार तालिबानलाई छ।’ 

यस्तै पाकिस्तानले पनि तालिबानका पक्षमा विश्वभर ‘लबिङ’ गरिरहेको छ। तालिबानको सत्तामा चीन, पाकिस्तानजस्ता देशको हस्तक्षेप स्पष्ट रूपमा देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानजस्ता मुलुकले तालिबान र हक्कानी नेटवर्कलाई भविष्यमा भारतविरुद्ध प्रयोग नगर्लान् भन्न सकिन्न। 

हक्कानी नेटवर्क र तालिबानबीचको सम्बन्ध?
हक्कानी नेटवर्कको गठन पूर्व मुजाहिद्दिन कमान्डर जलालुद्दिन हक्कानीले गरेका हुन्। १९८० को दशकमा जलालुद्दिनले अमेरिकी गुप्तचर एजेन्सी सीआईएको प्रशिक्षण र आर्थिक सहयोगमा यसको सुरुवात गरेका थिए।

त्यसबेला सीआईएले  अफगानिस्तानमा कब्जा जमाएको सोभियत संघविरुद्ध लड्न यस किसिमका धेरै लडाकुलाई मद्दत गर्यो। त्यो समय जलालुद्दिन सोभियतविरोधी जिहादको हिरोजमा सामेल थिए। अफगानिस्तानमा सोभियत सरकारको पतनसम्म जलालुद्दिनले ओसामा बिन लादेनसहित धेरै विदेशी जिहादीसँग राम्रो सम्बन्ध बनाएका थिए। 

१९९० को दशकमा जब तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्यो, तब जलालुद्दिनले ऊसँग हात मिलाए। १९९० को तालिबान सरकारका बेला जलालुद्दि हक्कानी एक अफगान प्रान्त सरकारको सीमा र जनजाति मामिलामन्त्री समेत बनेका थिए।  

सन् २००० को सुरुवातमा तालिबानभित्र हक्कानीको प्रभाव बढ्यो र तालिबानले उनलाई सैन्य कमान्डर बनाइदियो। ९/११ को वर्ल्ड ट्रेड सेन्टर आक्रमणपछि जब अफगानिस्तानमा अमेरिकाको हस्तक्षेप बढ्यो, तब हक्कानी, नेटो सेनाविरुद्ध लडे।

भनिन्छ– त्यसबेला ओसामा बिन लादेनलाई अफगानिस्तानबाट बाहिर निकाल्न पनि हक्कानीकै हात थियो। २०१० को दशकको सुरुवातमा हक्कानी नेटवर्कले अफगानिस्तानमा अमेरिकी सैनिकविरुद्ध एकपछि अर्काे धेरैपल्छ आत्मघाती हमला गर्यो। यसकारण २०१२ मा अमेरिकाले हक्कानी नेटवर्कलाई आतंकवादी संगठन घोषणा गर्यो।

आत्मघाती हमलाका साथै हक्कानी नेटवर्क धेरैवटा अपहरणमा पनि संलग्न भएको थियो। 

दीर्घ रोगका कारण सन् २०१८ मा जलालुद्दिन हक्कानीको निधन भयो। यसपछि उनका छोरा सिराजुद्दिन, हक्कानी नेटवर्कको नयाँ प्रमुख बने। सन् १९९६ देखि तालिबानकै एक हिस्सा बने पनि आफ्नो क्रूरता र लडाकुका कारण हक्कानी नेटवर्कले बेग्लै पहिचान बनाएको छ। आर्थिक रूपले पनि हक्कानी नेटवर्क निकै बलियो छ।    

तालिबानभित्र हक्कानी नेटवर्कको भूमिका कति ठूलो?
हक्कानी नेटवर्कको सबैभन्दा बढी प्रभाव पूर्वी अफगानिस्तानमा छ। अफगानिस्तानमा प्रभावशाली यस संगठनको आधार पाकिस्तानको उत्तर–पश्चिम सीमामा छ। पाकिस्तानको उत्तरी वजिरिस्तानमा त यसको समानान्तर सरकारै सञ्चालनमा छ।

पछिल्लो केही वर्षमा यस संगठनका गतिविधि निकै बढेका छन्। तालिबानको नेतृत्वमा पनि यसको उपस्थिति बढ्दो छ। सन् २०१५ मा नेटवर्कका वर्तमान प्रमुख सिराजुद्दिन हक्कानीलाई तालिबानको उपनेता बनाइएको थियो। 

सिराजुद्दिनका कान्छा भाइ अनस एकपटक अफगानिस्तानको जेलमा थुनिएका थिए। त्यसबेलाको अफगान सरकारले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। अफगान सरकारको पतनपछि उनले पूर्वराष्ट्रपति हमिद कारजाई र पूर्व कार्यकारी प्रमुख अब्दुल्ला–अब्दुल्लासँग वार्ता गरेका थिए। 

अब बन्ने तालिबान सरकारमा हक्कानी नेटवर्कको कुनै भूमिका?
हालैका वर्षमा अफगानिस्तानमा भएका केही घातक हमलामा हक्कानी नेटवर्कको हात रहेको बताइन्छ। यी हमलामा धेरै सर्वसाधारण, सरकारी अधिकारी र विदेशी सैनिक मारिएका थिए। 

अब बन्ने नयाँ तालिबान सरकारमा पनि उसको ठूलो र शक्तिशाली भूमिका हुनेछ। हक्कानी नेटवर्कलाई पाकिस्तान र उसको गुप्तचर एजेन्सी आईएसआईको समर्थन छ। भनिन्छ– आईएसआईले तालिबान सरकारमा सिराजुद्दिन हक्कानीको महत्त्वपूर्ण भूमिका दिलाउन ‘लबिङ’ गरिरहेको छ। ​

जानकारहरूका अनुसार सिराजुद्दिन हक्कानी ६ वर्षदेखि तालिबानको उपनेता छन्। यसकारण पनि अब बन्ने तालिबान सरकारमा उनको भूमिका अनुमान गर्न सकिन्छ।

सन् २०१९ मा सिराजुद्दिनका भाइ अनस हक्कानीलाई अफगान सरकारको कैदबाट मुक्त गरिएको थियो। यो कदमलाई तालिबान र अमेरिकाबीच प्रत्यक्ष वार्ताको एउटा महत्त्वपूर्ण निर्णय मानिन्छ, जसपछि अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता लाने घोषणा गरेको थियो। 

सिराजुद्दिन र अनसका साथै उनका काका खलिल हक्कानी पनि यसबेला काबुलका गतिविधिको केन्द्रमा छन्। विशेष कुरा त के छ भने सिराजुद्दिन र खलिल अहिले पनि अमेरिकाको मोस्ट वान्टेड सूचीमा छन्। 

कति खतरनाक संगठन हो हक्कानी नेटवर्क?
पछिल्लो २ दशकमा हक्कानी नेटवर्कले अफगानिस्तानमा धेरैवटा निकै घातक हमला गरेको छ। सन् २०१२ मा अमेरिकाले यसलाई आतंककारी संगठन घोषणा गर्यो। संयुक्त राष्ट्र संघले पनि यसलाई प्रतिबन्ध लगाएको छ।

हक्कानी नेटवर्क आत्मघाती हमला र बम आक्रमण गर्ने समूहका रूपमा परिचित छ। 

सन् २०१३ मा अफगान सेनाले हक्कानी नेटवर्कको एउटा ट्रक नियन्त्रणमा लिएको थियो। जुन ट्रक झन्डै २८ टन विस्फोटक पदार्थले भरिएको थियो।

सन् २००८ मा तत्कालीन अफगान राष्ट्रपति हमिद कारजाईविरुद्ध भएको आत्मघाती हमलाको आरोप पनि हक्कानी नेटवर्कलाई नै लागेको थियो।

अफगानिस्तानमा आत्मघाती हमलाको सुरुवात गर्ने आरोप पनि हक्कानी नेटवर्कलाई नै लाग्ने गरेको छ। एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .