ad ad

राजनीति


तालिबानको पुनरागमनसँगै अब अफगानिस्तानमा अलकायदा र आईएस ओइरिएलान्?

तालिबानको पुनरागमनसँगै अब अफगानिस्तानमा अलकायदा र आईएस ओइरिएलान्?

नेपालखबर
भदौ १, २०७८ मंगलबार १८:२४, काठमाडौँ

अफगानिस्तानको सुदूर कुनार प्रान्तको एक उपत्यकामा अनलाइन जिहादी च्याट फोरममा चरमपन्थी संगठन अलकायदाका समर्थक खुसियाली मनाइरहेका छन्। उनीहरूले अफगानिस्तानमा तालिबानको जितलाई ‘ऐतिहासिक विजय’ मानिरहेका छन्। 

अफगानिस्तानबाट त्यो सुरक्षा बलको बिदाइले विश्वभर फैलिएको पश्चिमविरोधी जिदाही समूहहरू निकै उत्साही भएका छन्, जसले २० वर्षअघि तालिबान र अलकायदालाई यही भूमिबाट अस्थायी रूपमा भगाएको थियो।

इराक र सिरियामा हारपछि नयाँ भूमिको खोजीमा रहेका इस्लामिक स्टेटजस्ता चरमपन्थी संगठनसँग सम्बद्ध लडाकुका लागि अब अफगानिस्तानका ती अनियन्त्रित स्थान पाइला राख्ने आधारभूमि बन्न सक्छन्, जहाँ तालिबानले पछिल्लो दसक बिताएको छ।

पश्चिमी मुलुकका सैन्य अधिकारी र राजनीतिज्ञले चेतावनी पनि दिइरहेका छन्– अफगानिस्तानमा अलकायदा पहिलेभन्दा अझ शक्तिशाली बनेर फर्किन सक्छ!

अफगान संकट सम्बन्धमा भएको एक आपतकालीन बैठकपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चेतावनी दिएका छन्– अफगानिस्तान फेरि अन्तर्राष्ट्रिय चरमपन्थीहरूको केन्द्र नबनोस्, यसकारण पश्चिमी मुलुक एकजुट हुन जरुरी छ। 

सोमबार संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई अपिल गरे– अफगानिस्तानलाई अन्तर्राष्ट्रिय आतंकवादको खतरा न्यूनीकरणका लागि हरसम्भव उपाय अपनाइयोस्।

​तर अफगानिस्तानमा तालिबानको पुनरागमनको सीधा अर्थ– अलकायदाका लागि पुनः आधार फिर्ता हुनु र पश्चिमी देशविरुद्ध आक्रमणका लागि अफगानिस्तानको भूमि प्रयोग हुनु हो त? यस्तै हो भनेर ठोकुवा गर्न मिल्दैन। 
वैधता र पहिचानको चाहना

यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो। एक प्रकारले देशमा बन्दुकको शासन थियो। 

त्यसबेला तीन देश साउदी अबर, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले अफगानिस्तानमा तालिबानको सरकारको वैधानिकतालाई स्वीकार गरेका थिए। 

यस क्रममा तालिबानले ओसामा बिन लादेनको नेतृत्वमा सञ्चालित चरमपन्थी संगठन अलकायदालाई मौलाउने अवसर दियो। यस संगठनले सन् २००१ मा अमेरिकामा ९/११ को आतंकवादी हमला गरे, जसमा केही ठूलठूला भवन ध्वस्त भए। झन्डै ३ हजार मानिस मारिए। 

एक अनुमानअनुसार अलकायदाले विश्वभर नै झन्डै २० हजार मानिसलाई आफ्ना शिविरमा प्रशिक्षण दियो र उनीहरूलाई आफ्नो देश फर्केर घातक कारबाही गर्न तयार पार्यो। यसैकारण अलकायदालाई ‘आतंकको विश्वविद्यालय’ पनि भनिन्छ। 

आज तालिबान आफैं साँचो अर्थमा ‘अफगानिस्तानको इस्लामी शासक’का रूपमा देखापरेको छ। र ऊ सोही पहिचानका साथ आफूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त होस् भन्ने चाहन्छ।

तालिबानले पहिलेदेखि नै भ्रष्टाचार, आन्तरिक द्वन्द्व र स्रोतको दुरुपयोग अन्त्य गरी देशमा शान्ति, कानुनको शासन स्थापना गर्ने आफ्नो चाहना रहेको बताइरहेको छ। तर २० वर्षअघि ऊ सत्तामा हुँदा यसको ठीक उल्टो अवस्था थियो।

हालै दोहामा तालिबानसँग अफगान शान्ति वार्ता भएको थियो, जुन निष्प्रभावी साबित भयो। तालिबानका तर्फबाट मध्यस्थकर्तालाई स्पष्ट पारिएको थियो कि जबसम्म उसले आफूलाई अलकायदाबाट पूरै टाढा बनाउँदैन, तबसम्म कुनै प्रकारको स्वीकृति प्राप्त हुँदैन।

तालिबानले यो काम पहिले नै गरिसकेको बताएको थियो। तर संयुक्त राष्ट्र संघको हालैको प्रतिवेदनमा यस्तो कदापि नभएको उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ– दुई संगठन (तालिबान र अलकायदा) बीच आदिवासी समुदाय स्तरमा मात्र होइन, वैवाहिक सम्बन्धसमेत छ। 

हालै जतिबेला तालिबानले अफगानिस्तानमा तीव्र गतिमा हमला सुरु गरेको थियो, त्यतिबेला धेरै स्थानमा अफगान लडाकुका साथ विदेशी अर्थात् गैरअपगान लडाकु पनि देखिएका थिए। 

यो पनि स्पष्ट छ– एकातर्फ तालिबानका प्रवक्ता र मध्यस्थकर्ता कुराकानीमा व्यावहारिक र नम्र देखिन्छन् भने अर्कातर्फ प्रतिशोधको भावनमा बर्बर घटना भइरहेका छन्। 

१२ अगस्टमा तालिबान राजधानी काबुलतर्फ अघि बढिरहेको थियो, अमेरिकामा काबुलका उपराजदूतले ट्विट गर्दै भनिरहेका थिए, ‘तालिबानले दोहामा व्यक्त गरेको प्रतिबद्धता उसले बदक्सान, गजनी, हेलमन्ड र कन्धारमा चालेको कदम मेल खाँदैन। हिंसा, त्रास र युद्धको बलमा सत्ता कब्जा गर्नाले ऊ अन्तर्राष्ट्रिय समुदायबाट अलग हुनेछ।’

जिहादी रोक्न पश्चिमी देशलाई पर्न सक्छ मुस्किल 
तालिबान निकै कडा ठानिने इस्लामको सरिया कानुन मान्छ। यसैका आधारमा अफगानिस्तानभित्र शासन कायम गर्नु हो उसको प्रमुख उद्देश्य हो, अफगानिस्तानभन्दा बाहिर होइन।   

तर अलकायदा र इस्लामिटक स्टेटको उेद्देश्य तालिबान र अफगानिस्तानको भन्दा फरक छ। अब आउने तालिबान सरकारले यी समूहलाई रोक्न कोसिस गर्ने सम्भावना छ। तर सम्भावना के पनि छ भने देशका धेरै क्षेत्रमा सरकारको ध्यान नपुग्न सक्छ। 

एसिया प्यासिफिक फाउन्डेसनका डाक्टर सज्जन गोहल कुनारमा अलकायदा समर्थकको संख्या आगामी दिनमा बढ्ने सम्भावना रहेको आशंका गर्छन्। हाल यहाँ अलकायदा समर्थकको संख्या २ सयदेखि ५ सयसम्म रहेको अनुमान छ।

उनी भन्छन्, ‘कुनार प्रान्त तालिबानले कब्जा गर्नुको निकै ठूलो सामरिक महत्त्व छ। त्यो क्षेत्र निकै विकट पहाड र जंगलले घेरिएको उपत्यका हो। जहाँ अलकायदा पहिलेदेखि नै छन् र आगामी दिनमा यो संगठनले आफ्ना सदस्य बढाउन पूर्ण प्रयास गर्नेछ।’

यस्तै हो भने त पश्चिमी मुलुकका लागि उनीहरूलाई रोक्न निकै मुस्किल पर्ने देखिन्छ। 

पछल्लो २ दसकयता पश्चिमी मुलुक अफगान गुप्तचर सेवा नेसनल डाइरेक्टरेट अफ सेक्युरिटी र उसका नटवर्क तथा तिनले दिने खबर तथा अमेरिका, बेलायत र अफगान विशेष सुरक्षा बलमा निर्भर छन्।  

अफगानिस्तानमा अहिले यी सबै समाप्त भएका छन्, जसका कारण अब गुप्तचरका हिसाबले निकै कठिन स्थान बनेको छ। 

यदि आतंकवादी प्रशिक्षण शिविर पहिचान गरियो र तिनको सही स्थान पत्ता लगाइयो भनेचाहिँ अमेरिकाका लागि ड्रोन हमला वा  क्रुज मिसाइल हमलाको विकल्प रहन्छ। सन् १९९८ मा ओसामा बिन लादेनविरुद्ध यस्तै किसिमको आक्रमण गरिएको थियो, तर उनी बाँच्न सफल भएका थिए। 

डाक्टर गोहल भन्छन्, ‘धेरै कुरा पाकिस्तानी अधिकारीले विदेशी लडाकुलाई आफ्नो क्षेत्र भएर अफगानिस्तान जाने अनुमति दिन्छन् वा रोक्न सक्छन् भन्नेमा निर्भर हुन्छन्।’ बीबीसीबाट अनुवाद

यो पनि–

आखिर तालिबान कस्तो समूह हो? यस्तो छ यसको नालीबेली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .