ad ad

राजनीति


'ओली-नेपाल मिल्न अब मिराकल हुनुपर्छ'

'ओली-नेपाल मिल्न अब मिराकल हुनुपर्छ'

मणि दाहाल
साउन २१, २०७८ बिहिबार २३:५१, काठमाडौँ

मंगलबार राति एमाले मिलाउन सक्रिय चार नेता अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे। उनीहरूको उदेश्य थियो वरिष्ठ नेता माधव कुमार नेपाललाई समान हैसियतको अध्यक्ष दिएर भए पनि पार्टी एक गर्ने। 

आपसी छलफलमा साझा सहमति गरेर यो प्रस्ताव लिएर ओलीसमक्ष पुगेका थिए, एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे। 

पछिल्लो समय यी चार नेतालाई ओली स्वयमले पार्टी एकताको विन्दु पहिल्याउने जिम्मा दिएका थिए। तर त्यसदिन यी नेताहरूले लिएर गएको सहमतिको प्रस्ताव ओलीले सुन्न चाहेनन्।​ बरु यी नेताहरू भन्दा अघि नै ओली निवास पुगिवरी बसिसकेका पार्टी महासचिव ईश्वर पोखरेलले अब पार्टी मिल्न नसक्ने भन्दै दिएको अभिव्यक्तिमा ओलीले सही थापिरहे।

'महासचिव पोखरेलले निर्वाचित अध्यक्ष ओलीले जिम्मेवारी बाँडफाँट गर्न नसक्ने र नहुने बताउनु भयो। त्यसमै ओलीले समर्थन गर्नुभयो' एक नेताले भने, 'त्यसपछि मिलाउन पनि जिम्मेवारी दिने हामीले ल्याएको प्रस्ताव पनि नमान्ने भन्दै नेम्वाङ जंगिनु भयो।'

ती नेताका अनुसार पार्टी नछुट्टिन अब 'मिराकल' भएमात्रै संभव छ। पार्टी एकतामा ओलीले नै अरुचि देखाएपछि एकताको विन्दु पहिल्याउन लागिपरेका नेताहरूको छलफल रोकिएको छ। बरु ओली र नेपालको छुट्टा छुट्टै समूह समानान्तर गतिविधिमा सक्रिय देखिन्छ। 

यी नेताद्वय बीचमा सहमति जुटाउन विघटित सक्रिय कार्यदलका सदस्यहरु भने मिलन बिन्दु नभेट्दा निरास बनेका छन्। बालकोट र कोटेश्वर गरिरहेका सो समूहले गरेको प्रस्तावलाई दुवै नेताहरुले अस्वीकार गरेपछि एकताको वैकल्पिक प्रस्ताव भेट्न सकेका छैनन्।

'हामीले गरेको प्रस्ताव अध्यक्ष ओली र नेपाल दुवैको नकरात्मक जवाफ आएपछि दुवैतर्फ कसरी मिलाउने हो', कार्यदलको सदस्यले भने, 'दुवै नेताको मिलन बिन्दु भेटाउन सकेको छैन । अब वैकल्पिक प्रस्ताव के राख्ने निर्धारण गर्न सकेका छैनौं।'

पछिल्लो समयमा चार सदस्यको टोलीलाई दुवै पक्षले जिम्मेवारी दिएको छ। ओलीबाट अपेक्षित  जवाफ नपाएपछि सोही टोलीले बुधबार बिहान नेता नेपाललाई उनकै निवास कोटेश्‍वर पुगेर भेट्यो। उक्त भेटमा सबैले उनलाई पार्टी जोगाउनका लागि भए पनि लचक हुन आग्रह गरे।

भेटमा नेपालले भने पार्टीभित्र देखिएको समस्या समाधान गर्ने अध्यक्ष भएको नाताले ओलीको प्रमुख हुने बताएका थिए। नेपालबाट पनि सकरात्मक जवाफ नपाएका मध्यस्थकर्ता नेताहरू बुधबार दिउँसोदेखि पार्टी अब मिल्न सक्दैन भन्नेमा लगभग निश्चित जस्तै छन्।

त्यसैले बिहीबार दिनभर उनीहरूले संवादको कुनै पहलसम्म पनि गरेनन्। 'हामी मिलाउ भनेर दुवै जनालाई भेटिरहेका छौं । मिलाउने भनेर अन्तिम समयसम्म हाम्रो प्रयास पनि छ। तर मिलन बिन्दु के हो भन्ने ठ्याक्कै फेला परेको छैन' एमाले संसदीय दलका उप नेता सुवास नेम्वाङले भने।

दुवै पक्षले आफ्नो गतिविधिहरुलाई तीव्र बनाउँदै लगेका छन्। अध्यक्ष ओली पक्षका प्रदेश कमिटीका अध्यक्ष र सचिव तथा विधान महाधिवेशनको तयारी कमिटीका रहेका केन्द्रीय सदस्यहरुको बैठक काठमाडौंमा हुँदैछ। अर्कोतर्फ नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबार पनि हुने भएको छ। 

नेपाल पक्षको बिहीबार भएको केन्द्रीय सदस्यहरुको बैठकमा पनि नेता नेपालले आफूले नभै ओली पक्षबाट अध्यक्षको प्रस्ताव आएको तर अहिले आएको छैन भनेर भाषण गर्दै हिँडेको बताएका थिए। बैठकमा नेपालसहितका नेताहरुले सहमति कार्यान्वयन हुनेमा अध्यक्ष ओलीप्रति आशंका गरेका थिए ।

'अध्यक्ष केपी शर्मा ओली लिखित रुपमा सहमति गर्न तयार हुन्छ भने सहमतिमै जानुपर्ने केन्द्रीय सदस्यहरुले उठाउनु भएको थियो', एक केन्द्रीय सदस्यले भने, 'पहिले भन्न माधवकुमार नेपालले पनि आफ्नो लचक रुपमा आफ्नो धारणा राख्नु भएको थियो। तर अध्यक्ष ओली नै सहमतिका लागि तयार नरहनु भएको धारणा नेपालको थियो।'

तर आफू नभए पनि अरु कसैको हस्ताक्षर चल्ने  गरि अधिकार दिनुपर्ने माग नेपालको हो। बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सहमति गर्न अध्यक्ष ओली पक्षले विलम्ब गरिरहेको भन्दै मिल्ने वा छुट्टिने टुङ्ग्याउनु पर्ने धारणा राखेका थिए। अधिकांश नेताहरुले सहमति कार्यान्वयन गर्ने विषयमा जोड दिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .