ad ad

राजनीति


भारतीय ज्यादतीविरुद्ध किन बोल्न सक्दैन सरकार?

भारतीय ज्यादतीविरुद्ध किन बोल्न सक्दैन सरकार?

उजिर कार्की
साउन २०, २०७८ बुधबार ७:५, काठमाडौँ

सीमा क्षेत्रमा भारतीय ज्यादतीविरुद्ध नेपालको संसद् एक पटक फेरि तात्तिएको छ। साढे ४ वर्षपहिले कञ्चनपुरका गोविन्द गौतमको हत्या हुँदा संसदमा यसैगरी आवाज उठेको थियो। त्यतिबेला पनि सत्तामा माओवादी र कांग्रेस नै थिए। 

गौतमको हत्या हुँदा सडक र सदनमा चर्को आवाज उठे पनि सरकारले भारतीय पक्षसँग भने दह्रोसँग कुरा उठाउन सकेको थिएन। सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ दिएर घटना थामथुम पारेको थियो। 

यसपटक पनि एसएसबीले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्याँस, दार्चुलाका जयसिंह धामीबारे सरकार मौन छ। घटना भएको ५ दिनसम्म पनि भारतीय संलग्नताबारे सरकार बोलेको छैन। बरु त्यसविरुद्ध बोल्नेलाई रोक्ने प्रयास गरिरहेको छ।

घटनापछि आएका समाचार र टिप्पणीमाथि जिल्ला प्रशासन कार्यालय दार्चुला र गृहमन्त्रालयले एउटै किसिमको विज्ञप्ति जारी गरेर तत्काल कुनै टिप्पणी नगर्न भने। 

तर, सरकारले आधिकारिक धारणा सार्वजनिक नगरेपछि मंगलबारको संसदमा बोल्ने अधिकांश सांसदले भारतीय ज्यादतीको विरोध गरेका छन्। 

मंगलबार संसदमा गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समिति गठन गरिएको र प्रतिवेदन आएपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। 

सरकारले घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। समिति मंगलबार नै दार्चुला पुग्दैछ।

यसअघि दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थल पुगेर फर्किएको छ। सरकारले उच्चस्तरको छानबिन समिति गठन गरिसकेकाले अहिले नै केही नबोल्ने डीएसपी भट्टले नेपालखबरसँग बताए। 

घटनाका तीन जना प्रत्यक्षदर्शीलाई प्रहरीले सोमबार सदरमुकाम ल्याएको छ। यस्तै थप १५÷२० जनासँग बुझ्ने काम पनि भएको र गृह मन्त्रालयबाट आउने समितिलाई आवश्यक जानकारी गराउने भट्टले बताए। 

आवश्यक सोधपुछ र प्रमाण संकलन गरिएको बताएका भट्टले भारतीय भूमिमा प्रवेश गरेर मुचुल्का उठाउन भने नमिल्ने बताए। 

यसअघि स्थानीय प्रशासनले जवाफ मागे पनि भारतीय पक्षले जयसिंहको घटनामा आफ्नो संलग्नता नरहेको र उनी आफैँ नदीमा खसेको बताएको छ। भारतले एसएसबी त्यसै क्षेत्रमा रहेको स्वीकार गरे पनि मानिस चढेका बेला तुइन काटिएको भने स्वीकार गरेको छैन।

गृह मन्त्रालयको छानबिन समिति घटनास्थलतर्फ प्रस्थान गर्दैगर्दा सांसदहरुले भने एक स्वरमा सरकारलाई खबरदारी गरे।

विपक्षी दल मात्रै होइन, प्रधानमन्त्रीकै पार्टीका सांसदले पनि सरकारलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे। नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुलामा एसएसबीले तुइन काटेको घटनामा नेपालले बलियो भएर भारतसँग लड्नुपर्ने बताएका छन्।

दार्चुलामा तुइन काटेर बेपत्ता भएका जयसिंह धामीको केसमा भारतीय पक्षसँग नेपाल सरकारले लड्न सक्छ कि सक्दैन भनेर थापाले प्रश्न गरेका छन्। 

आफ्ना दुई मछुवारको हत्या गरिदिएको विरोधमा इटलीसँग भारतले लगातार लडेको प्रसङ्ग उठाउँदै थापाले नेपाल सरकारले पनि अहिले जयसिंह धामीको केसमा त्यसैगरी लड्नुपर्नेमा जोड दिए। 

‘यदि जयसिंहको मृत्यु एसएसबीले तुइन काटेरै भएको पुष्टि भएमा भारतले इटालीसँग लडेजस्तै नेपाल सरकार लड्न सक्छ कि सक्दैन?’ थापाले गृहमन्त्रीलाई प्रश्न गरे।

सन् २०१२ मा केरलाको सामुद्रिक तटनजिक इटलीका सैनिकले दुईजना भारतीय मछुवारको हत्या गरिदिएपछि भारतले लगातार विरोध गरेको थियो। १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिएपछि मात्रै अदालतबाट २०२१ मा उक्त मुद्दा टुंगिएको थियो।

नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले यस घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार निमुखा तरिकाले प्रस्तुत भएको बताए। 

गृहमन्त्रीले घटनाबारे जानकारी गराएपछि अधिकारीले भने, ‘यो निमुखा तरिकाले बोलेर हुँदैन। कसैको उपनिवेश भएर हामी बसेको होइन। भारतसँग यो घटनाबारे गम्भीर भएर कुरा उठाउनुपर्छ। सरकारले यो कुराको पनि जवाफ दिनुपर्छ।’

मंगलबार बोल्ने अरु सांसदले पनि दार्चुला घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। 

कन्चनपुरका गोविन्द गौतमको २०७३ फागुन २६ गते एसएसबीले गोलि हानी हत्या गरेको थियो। त्यतिबेला पनि दलहरुले उक्त घटनालाई सत्ताको दाउपेच मात्रै बनाएका थिए।

उक्त घटनाका पीडितलाई एमालेले ५ लाख रुपैयाँ दिने घोषणा ग¥यो। माओवादीले एक लाख रुपैयाँ बढाएर ६ लाख रुपैयाँ दिने बतायो। कांग्रेसले पनि पार्टीका तर्फबाट एक लाख रुपैयाँ बढी अथवा ७ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यसबाहेक सरकारका तर्फबाट १० लाख रुपैयाँ दिइयो। तर भारतीय पक्षसँग भने कुनै पनि सरकारले कुरा उठाउन सकेन।

पीडित परिवारलाई आर्थिक सहायता दिन होडबाजी गरेका दलहरु आफू सत्तामा हुँदा मौन बस्छन्, प्रतिपक्षमा रहँदा पनि भोटका लागि मात्रै बोल्छन् र आफू सत्तामा पुगेपछि भने मुन्टो लुकाउँछन्। 

५ वर्षमा भारतीय प्रहरीबाट दुई नेपालीको हत्या भएको छ। यसबाहेक पनि सीमा क्षेत्रमा ज्यादतीका थुप्रै घटना भएका छन्। 

कतै भारतीय प्रहरी नेपाल प्रवेश गरेरै कुटपिट गरेको छ भने स्थानीयमाथि मेचीदेखि महाकालीसम्मकै सिमानामा भारतीय पक्षले ज्यादती गरेका घटना निरन्तर सार्वजनिक भएका छन्। 

नेपाल–भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो खुला सीमा छ। कतिपय स्थानमा सीमांकन स्पष्ट नहुँदा विवाद आउने गरेको छ। खासगरी नेपाली भूभाग भारतले मिच्दै आएको छ भने सिमानाका नेपालीलाई दुख दिने गरेको छ।

दार्चुलाकै माथिल्लो भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको कब्जामा छ। गत वर्ष भारतले त्यहाँ सडक बनाएपछि दुई देशबीचको सीमा विवाद चर्किएको थियो। नेपालले मिचिएको आफ्नो भूभाग समेटेर संसदबाटै नक्सा जारी गरेपछि दुई मुलुकबीच तिक्तता बढेको हो। 

भारतले नेपाललाई समान नठानेका कारण नेपालीमाथि ज्यादती गर्दै आएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्। 

‘तुइन काटेर नदीमा खसाल्नु भनेको गोली हान्नुभन्दा ठूलो अपराध हो। भारतीय एसएसपीको पुरा दोष छ,’ श्रेष्ठले भने, ‘धामीका परिवारलाई केही लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटना गुपचुप राख्नु हुँदैन।’

सिमानाका नागरिकलाई सीमाबारे जानकारी गराउनु पर्ने र सशस्त्रको बोर्डर आउट पोस्ट बढाउनु पर्ने सीमाविद् श्रेष्ठको सुझाव छ।
यो पनि 

व्याँसबासीको प्रश्नः एसएसबीको अत्याचार कति सहनु? नेपालमा सरकार छ कि छैन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .