ad ad

राजनीति


नेकपा एमालेको बैठक : ‘गद्दार’लाई आममाफी

नेकपा एमालेको बैठक : ‘गद्दार’लाई आममाफी

मणि दाहाल
साउन ७, २०७८ बिहिबार २०:५९,

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई गद्दार करार गर्दै सुरु भएको नेकपा एमालेको दसौँ केन्द्रीय कमिटीको बैठक आममाफीको घोषणा गर्दै समाप्त भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चार दिनसम्म सो बैठक चलेको थियो। अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा नेता नेपालसहित २२ जना सांसदप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। उनले बैठकमै कारबाहीको घोषणा गरेका थिए। 

‘पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गर्ने माधव नेपालहरुले गरेको गद्दारीका लागि कारबाही गर्ने र अन्य फ्लोर क्रस गने सबैलाई २४ घण्टे स्पष्टीकरण सोधिने छ,’ ओलीले भनेका थिए, ‘गल्ति स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिइने छ।’ 

ओलीले नेता नेपाललाई लाल गद्दार घोषणा गरेका थिए। 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एक दिनपछि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट पक्षप्रति ओलीको कटाक्ष निकै कडा थियो। नेपालप्रति त उनी क्रुद्ध नै थिए।

‘हिजो संसदमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरुको कदम असाधारण, अस्वाभाविक र चरम अनैतिक हो,’ ओलीले भनेका थिए, ‘यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’

नेता नेपाल र उनीनिकट केन्द्रीय सदस्यहरुले भने बैठक बहिष्कार गरेका थिए। 

‘हामीले १० बुँदे स्वीकार ग¥यौँ, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान ग¥यौँ।  कोटेश्वर घर पुगेको कार्यदललाई अल्पमतको बैठकमा जान्नँ भन्ने जवाफ आयो,’ ओलीले बैठकमा भनेका थिए ‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौँ, पार्टी एकताबद्ध बनाऊँ भन्दा म विधिको निर्णय मान्दिनँ एक्लै भए नि भोट हाल्छु भनेर हप्काएर पठाए।’

पार्टी निर्णयअनुसार एमालेको २२ जना सांसदहरुलाई बुधबार स्पष्टीकरण समेत सोधिएको थियो। 

बैठकले समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन र पार्टीमा उत्पन्न समस्या समाधानबारे जेठ २ मा गठित कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन पनि गरेको छ।

त्यस्तै, असार २७ मा भएको १० बुँदे कार्यान्वयनबारे हालको अवस्थासम्बन्धी पार्टी दृष्टिकोण, एमाले नेतृत्वमा सञ्चालित सरकारको समीक्षा, पार्टीको आगामी भूमिका, राजनीतिक (प्रतिपक्ष÷सत्तापक्ष भूमिका), संगठनात्मक (सदस्यता नवीकरण, विधान महाधिवेशन र जनसंगठन व्यवस्थापन) शुद्धीकरण अभियान, निर्वाचनको तयारीका विषयमा पनि छलफल भएको थियो।

तर, बैठक मुख्य रुपमा पार्टीभित्र देखिएको विवादमा केन्द्रित थियो। बैठकको सुरुमै महासचिव ईश्वर पोखरेलले नेपालसहित २२ सांसदले अक्षम्य अपराध गरेको आरोप लगाएका थिए। 

सो बैठकमा केही केन्द्रीय सदस्यहरुले भने नेपालसहितका २२ जना सांसदहरुलाई तत्काल कारबाही गरेर निकाल्न माग गरेका थिए। 

त्यसैगरी बुधबारको बैठकमा अध्यक्ष ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिन खोज्दा पनि नमानेको बताएका थिए। 

‘पार्टी एकताका लागि दोस्रो अध्यक्ष दिन खोज्दा पनि उनी तयार भएनन्,’ ओलीले भनेका थिए। 

‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ, गरिएको छ,’ उनले अगाडि भने, ‘यतिसम्म लचिलो हुँदा पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरु, त्यस्तो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्।’

बिहीबारको बैठकमा भने ओलीले बोली बदले। उनको अभिव्यक्ति निकै मुलायम थियो। उनले माधवकुमार नेपालसहितका नेताहरुलाई आममाफी दिने घोषणा गरे।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन्। 

‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ, देश र जनताको कुरा गरौँ,’ उनले अगाडि भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’

ओलीले नेपाल समूहलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरे। 

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ,’ उनले भने, ‘एम्नेस्टी इज ग्रान्टेड, एमालेलाई एक बनाएर जाऊँ। कम्युनिस्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति बेहोरेको छ। अब यसलाई रोकेर अघि बढौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .