ad ad

राजनीति


कांग्रेस नेता घिमिरेमाथि कुटपिट : क्षेत्रीय सभापति बस्नेतले बुझाए स्पष्टीकरण

कांग्रेस नेता घिमिरेमाथि कुटपिट : क्षेत्रीय सभापति बस्नेतले बुझाए स्पष्टीकरण

नेपालखबर
साउन ५, २०७८ मंगलबार १३:२२,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिटमा संलग्न सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले स्पष्टीकरण दिएका छन्। 

उनले मंगलबार केन्द्रीय अनुशासन समिति समक्ष स्पष्टीकरण पत्र बुझाएका हुन्। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसमेत रहेका घिमिरेमाथि साउन १ गते गौशालास्थित क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय (धर्मशाला) को गेटमा कुटपिट भएको थियो।

आक्रमणमा कांग्रेस क्षेत्रीय सभापति बस्नेतसहित २५ जना कांग्रेस कार्यकर्ता संलग्न रहेका बताइएको छ। घटनापछि साउन २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले घटनामा संलग्नमाथि स्पष्टीकरण सोध्न र कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको थियो।

अनुशासन समितिका सदस्य धनराज गुरुङले क्षेत्रीय सभापति बस्नेतको स्पष्टीकरण आएको पुष्टि गरे। उनले स्पष्टीकरण अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए। ‘स्पष्टीकरण आएको छ। पत्रसँगै वस्तुस्थिति के हो, फुटेजहरु पनि खोजेर अध्ययन गर्छौं,’ उनले नेपाल खबरसँग भने, ‘कारबाही गर्नुपर्ने देखिए थप निर्णय हुन्छ।’

सिन्धुपाल्चोकमा एक हजारभन्दा बढी क्रियाशील सदस्यता विवाद छ। क्रियाशील सदस्यता छानबिन समितिले नयाँ क्रियाशील सदस्य नथपेको आरोप लगाउँदै क्षेत्रीय सभापति बस्नेतसहित युवाले घिमिरेमाथि कुटपिट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .