ad ad

फोटोफिचर


फोहोरले भरिए राखेपका शौचालय, दुर्गन्धले प्रयोग गर्नै सकिन्न


लक्ष्मी जि.सी
पुस ३०, २०७९ शनिबार १७:२५, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ समान्यतः औपचारिक पोशाकमै कार्यक्रममा देखिन्छन्। 

बुधबार उनी अनौपचारिक पोशाकमा त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हल पुगेका थिए। पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा भएकाले घिसिङ कर्भड हलमा जारी सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गतको खेल हेर्न पुगेका थिए। 

हेल्प नेपाल स्पोर्टस् क्लब र केशवलाल प्रशिक्षण केन्द्रबीचको खेल हेरेर घिसिङ फर्केका थिए। अतिथिका रुपमा नभइ सामान्य दर्शक बनेर उनी त्यहाँ पुगेका थिए। 

दर्शकका रुपमा खेल हेर्न पुगेपछि अतिथिका लागि राखिएको सोफामा केही समय बसेर फर्केका घिसिङले कभर्डहलकै शौचालय प्रयोग गरे गरेनन् होला? यदि प्रयोग गरेको भए उनी पुगेको दुई दिनपछि पनि शौचालयको अवस्था यस्तै बेहाल नहुनुपर्ने हो। 

राखेपको नारा हो, ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद।’ तर शौचालयको अवस्था हेर्दा स्वास्थ्यसँग राखेपको कुनै नाता नभए जस्तै देखिन्थ्यो। खेलाडी र दर्शकको स्वास्थ्यसँग सरोकार राख्ने त्यहाँका शौचालय प्रयोग गर्ने अवस्थाका छैनन्। 

भलिबलका दैनिक ६ खेल चलिरहँदा सयौंको संख्यामा दर्शक कभर्ड हल पुग्ने गरेका छन्। तर त्यहाँका अधिकांश शौचालय प्रयोग गर्नै नसक्ने अवस्थाका छन्। घन्टौं खेल्नुपर्ने खेलाडी र दर्शकका लागि ती शौचालय उल्टै रोग सार्ने माध्यम बन्ने जोखिम छ।

भलिबल खेल्न पुगेका ३ सय बढी खेलाडी र सयौं दर्शकले प्रयोग गर्ने शौचालय दुर्गन्ध र फोहोरले भरिएका छन्। नत सरसफाइ छ न पानी नै पर्याप्त आउँछ।

फोहोरले शौचालयमा पुस्दा खुट्टा टेक्न पनि घिन लाग्छ। तर त्यस्तैमा शौच गर्न खेलाडी र दर्शक बाध्य छन्। वैकल्पिक व्यवस्था छैन, न त सफा गरिन्छ।

तीन वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्मित कभर्ड हलभित्रको होस् वा कभर्ड हलबाहिरको शौचालय होस् दुवै दुर्गन्धले भरिएका छन्। राखपेको शौचालयमा पुग्नेहरु नाक खुम्च्याउँदै, घिन मान्दै बाहिर निस्कुनु पर्दछ। प्रतियोगिता आयोजक हुन् वा खेलकुदको कार्यकारी निकाय राखेप कसैको ध्यान यसतर्फ पुगेको छैन। 

शौचालयका सेतो कमोडमा कतै पहेँलो, कतै कालो दाग छ। धाराका टुटी फुटेका छन्। कमोडका लागि फल्स गर्दा भुइँमै पोखिन्छ। धारामा झुक्किएर मात्रै पानी आउँछ। फोहोरका कारण भुइँ टेक्नै सकिन्न।

हतारिँदै शौचालय पसेका दर्शक टम्म पानीले भरिएको भुइँ र कमोट हेर्छन् अनि अन्यौलमा पर्दै बाहिर निस्कन्छन्। शौचालयको कुनै ढोकामा चुकुल छैन, कुनैमा तारले अल्झाइएको छ।

कर्भडहलसँगै जोडिएको महिला शौचालयको हालत त झन् खराब छ। फोहोर पानी, दिसापिसावको दुर्गन्धले भरिएको शौचालयभित्र पस्न त के बाहिर उभिन पनि गाह्रो हुन्छ।

कभर्ड हलमै छिर्ने ढोकानजिक रहेको शौचालयमा राखेप पदाधिकारी र कर्मचारीको नजर नै नपुगेको देखिन्छ। खेलकुदको केन्द्रीय निकायको व्यवस्थापनलाई गिज्याउने दृश्य छ शौचालयमा। 

राखेपको कर्भडहलको मात्रै होइन, दशरथ रंगशालाका अन्य शौचालयको अवस्था पनि उस्तै छ। टिकट काटेर खेल हेर्न पुग्ने दर्शकले फोहोर शौचालयमा जानुको विकल्प हुँदैन। टिकट दर बढाउन हतार गर्ने आयोजक शौचालय सफाइमा ध्यान दिँदैनन्। 

फुटबल हुँदा सामान्य दर्शकले प्रयोग गर्ने शौचालयको दुर्गन्ध बाहिरसम्म आइरहन्छ। तर त्यो दुर्गन्ध खेल आयोजक र राखेपको नाकसम्म पुगेको भान हुँदैन।

उनीहरु सरसफाइ र प्रयोग गर्नलायक बनाउन चासो दिँदैनन्। भीआइपीले प्रयोग गर्ने अलग्गै शौचालय छ। जहाँ टिस्यु पेपर र तौलियासम्म राखिएको छ। 

ठाँटिएर हिड्ने राखेपका उपाध्यक्ष, सदस्यसचिव लगायत अन्य कर्मचारीले पनि केही दिन दर्शकले प्रयोग गर्ने शौचालय प्रयोग गरे अवस्थामा सुधार आउन सक्थ्यो।

खेलाडी, दर्शक र खेलसँग सम्बन्धित व्यक्तिहरुको स्वास्थ्य र सरसफाइसँग सिधै जोडिने शौचालयलाई प्रयोग गर्न लायक बनाउने विषयमा राखेपको मौनता उदेक लाग्दो छ।

तस्बिरहरु : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .