विचार


नेपालमा यसरी परिवर्तन गर्दैछ मनसुनले स्वरुप

नेपालमा यसरी परिवर्तन गर्दैछ मनसुनले स्वरुप

इन्दिरा कडेल
असार ३, २०७८ बिहिबार ८:१७,

मनसुनको प्रवृत्ति एक वर्ष र अर्को वर्षमा केही फरक हुन्छ। हरेक वर्षको स्वरुप ठ्याक्कै मिल्छ भन्ने हुँदैन। गत वर्ष अर्थात् सन् २०१९ को डिसेम्बरदेखि २०२० को फेब्रुअरीसम्मको हिउँदे वर्षा बढी भएको थियो। त्यसपछि मेसम्मको प्रि मनसुनमा पनि अलि बढी वर्षा भएको थियो। मनसुनको सुरुमै केही स्थानमा पहिरो समेत गएको थियो।

मनसुन भित्रिने भनेको हावा आउने हो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म नेपालमा पूर्वबाट हावा चल्छ। बाँकी अवधि पश्चिमतर्फबाट चल्छ। पूर्वबाट हावा आउँदा बंगालको खाडी हुँदै दक्षिणपूर्वी दिशाबाट नेपाल छिर्छ। यसरी आउँदा त्यसले आफूसँग पानीका कणहरु बोकेर आउँछ। त्यो मौसमी प्रणाली भित्रिएपछि नेपालमा बढी मात्रामा पानी पर्ने हो।

नेपालमा मनसुन जेठको अन्त्यबाट सुरु भएर असोजको मध्यतिर सकिन्छ। पछिल्लो समयका तथ्यांकहरु केलाउँदा जुन १३ (जेठ ३० वा ३१ गते) लाई नेपालमा मनसुन भित्रिने दिन भनेर भन्ने गरिएको छ। त्योभन्दा पहिले नै नेपालमा मनसुन सुरु भयो भने छिटो भएको मानिन्छ। त्यसपछि सुरु भए ढिलो भएको मानिन्छ।

त्यसैगरी, मनसुन सकिने पनि निश्चित मितिलाई आधार मानिन्छ। अक्टोबर २ (असोजको १५ वा १६ गते) लाई नेपालमा मनसुन अन्त्यको दिन मान्ने गरिएको छ।

जुन १ देखि सेप्टेम्बर ३० तारिखसम्मको अवधिलाई मनसुन हुने समय मान्ने गरिएको छ। मनसुन सामान्यता यसै समयभित्रै सकिनु पर्ने हो। तर पछिल्लो समय यो अक्टोबरसम्म पुगेको पनि देखिन्छ। नेपालमा मात्रै नभएर दक्षिण एसियाभर नै यहि समयलाई मनसुन अवधि भनेर भन्ने गरिएको छ।

मनसुन सुरु हुने भनेको भूमध्यरेखाभन्दा पनि दक्षिणबाट हो। दक्षिणी गोलार्द्धमा हुन्जेल यो उत्तरपश्चिम दिशामा बहन्छ। अफ्रिकाको सोमालियामा आएपछि भने यसले उत्तरपूर्वी दिशा लिन थाल्छ। भारतीय उपमहाद्वीपमा केरलाबाट मनसुन प्रवेश गर्दा उत्तरपूर्वी दिशाबाट प्रवेश गर्ने हो। यो विस्तारै सर्दै बंगालको खाडीमा आइपुग्छ। मनसुन केरलामा प्रवेश गरेको १०–१५ दिनमा नेपालमा मनसुन सुरु हुन्छ। बंगालको खाडीमा आएपछि फेरि यसले आफ्नो दिशा परिवर्तन गर्छ। त्यसपछि उत्तर पश्चिमतर्फ बहन सुरु हुन्छ। नेपालमा छिर्दा उत्तर पश्चिम दिशाबाट छिर्ने हो। नेपालबाट हेर्दा चाहिँ त्यो दक्षिणपूर्व हुन्छ।

नेपालमा वर्षभर पर्ने पानीको ८० प्रतिशत वर्षा मनसुन अवधिको चार महिनामै पर्ने गर्छ। तर कति पर्छ भन्ने चाहिँ स्थानअनुसार फरक फरक हुन्छ। औसतमा पूर्वभन्दा पश्चिममा कम पानी पर्छ। तर गण्डकी प्रदेशमा औसतभन्दा अलि बढी पानी पर्छ। मनसुनभर पोखरामा ४ हजार मिलिमिटरभन्दा बढी वर्षा हुन्छ। कास्कीकै लुम्लेमा ४५ सय मिलिमिटर हाराहारीमा वर्षा हुन्छ।

पूर्वका ताप्लेजुङ, अरुण उपत्यका पनि बढी पानी पर्ने स्थानमध्ये पर्छन्। हामीले प्रमुख रुपमा २० वटा मौसमकेन्द्रबाट प्राप्त तथ्यांकलाई हेरेर औसत निकाल्ने गरेका छौं। त्यसमा औसतमा १४ सय मिलिमिटर वर्षा भएको देखिन्छ।

तर यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। उच्चपहाडी र हिमाली भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने संभावना झनै बढी छ। त्यो भनेको ५० देखि ७५ प्रतिशतसम्म हुने संभावना देखिन्छ।

अहिले मनसुन सुरुदेखि नै सक्रिय भयो। तर सधै यस्तै सक्रिय हुन्छ भन्ने होइन। त्यसो त मनसुन सक्रिय र निष्क्रिय हुनु नियमित प्रक्रिया नै हो।

मनाङको वर्षा
‘रेन स्याडो जोन’मा पर्ने मनाङ र मुस्ताङमा सबैभन्दा कम वर्षा हुन्छ। त्यसमा दुईदेखि ३ सय मिलिमिटर वर्षा हुन्छ। तर मनाङमा यो वर्ष सबैभन्दा बढी पानी परेको देखिन्छ। पछिल्लो तीन दिनमा जति पानी परेको छ त्यो वर्षभर पर्ने पानीको एक तिहाइ जति छ।

मनाङको हुम्दे विमानस्थलमा ५ वर्षदेखि मौसमकेन्द्र सञ्चालनमा छ। अहिले कुरा गर्दासम्म (बुधबार साँझ)मंगलबारको डेटा (तथ्यांक) आइपुगेको छैन। तर सोमबार ५४ दशमलव ६ मिलिमिटर, आइतबार २९ दशमलव ६ मिलिमिटर, शनिबार १२ दशमलव ३ मिलिमिटर पानी परेको थियो। तीन दिनमा ९६ दशमलव ५ मिलिमिटर पानी प¥यो। सोमबार परेको पानीको मात्रा निकै बढी हो। तर त्यो कति समयमा परेको हो भन्ने जानकारी छैन। पानी कति अवधिमा कति मात्रा आयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। एक घण्टाभित्र ५४ मिलिमिटर पानी पर्नु र २४ घण्टा लगाएर पर्नुमा त्यसले पार्ने असर फरक हुन्छ।

अन्य स्थानको जस्तो हुम्देमा रियल टाइम डेटा संकलन हुँदैन। एक दिनभरको तथ्यांक एकैपटक हेर्ने हो। अटोमेटिक मौसम स्टेसन हुन्थ्यो भने त्यसले १०–१० मिनेटको छुट्टाछुट्टै रेकर्ड राख्थ्यो। त्यस्तो प्रविधि हुँदा कति समयदेखि कति समयसम्म पानी परेको रहेछ र कुन समयमा सबैभन्दा बढी पानी परेको थियो भनेर भन्न सकिन्थ्यो।

समाचारहरुमा जसरी बाढीहरु आएको देखिएको छ, त्यो हेर्दा छोटो समयमा निकै धेरै पानी परेको देखिन्छ।

सन् २०१५ मा बल्ल त्यहाँ मौसम केन्द्र स्थापना गरिएको हो। सन् २०१५ मा २०२ दशमलव ३, सन् २०१६ मा १८२, सन् २०१७ मा १३७ दशमलव २, सन् २०१८ मा २९४ दशमलव ८, सन् २०१९ मा २७६ दशलव ३ मिलिमिटर पानी परेको थियो। यो मनसुनको समयमा परेको पानीको मात्रा हो। अहिलेसम्म २०२० र यताको डेटा हामीसँग आइपुगेको छैन।

सन् २०१५ यता सन् २०१९ मा तथ्याकं हेर्दा सबैभन्दा बढी वर्षा २०१९ जुन २३ मा २१ दशमलव ५ मिलिलिटर भएको थियो। त्यसको एकदिनपछि २० दशमलव ७ मिलिलिटर वर्षा भएको थियो। दोस्रोमा २१ दशमलव २ पनि परेको थियो।

सोमबार त्यसको झण्डै तीन गुणा बढी वर्षा भएको देखिन्छ। त्यसले कमजोर भूबनोट भएको त्यस क्षेत्रमा ठूलो क्षति गरेको हुनसक्छ। तर यस विषयमा थप तथ्याकंहरु आएपछि विश्लेषण गर्नुपर्ने हुन्छ।

(जल तथा मौसम विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाकी प्रमुख इन्दिरा कडेलसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .