विचार


कोरोनाको घानमा नेपाली नौजवान, झेल्दैछन् इतिहासकै तेस्रो ठूलो संकट

कोरोनाको घानमा नेपाली नौजवान, झेल्दैछन् इतिहासकै तेस्रो ठूलो संकट

थिरलाल भुसाल
जेठ २८, २०७७ बुधबार १०:३९,

संसारभर कोरोना भाइरस महामारीको सबैभन्दा ठूलो जोखिम पाका मानिसहरुलाई छ। महामारीको ६ महिने अनुभव, यसबीचमा भएका सबै अध्ययन र तथ्यांकले यही देखाउँछ।

तर, नेपालको यथार्थ भने ठ्याक्कै उल्टो छ।

नेपालमा अहिलेसम्म संक्रमितको आँकडा हेर्दा वृद्धवृद्धाभन्दा बढी काम गरेर परिवार पाल्ने युवाहरु कोरोनाको घानमा परेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबारसम्म देशभर ४ हजार ८५ जना संक्रमित हुँदा १० वर्षसम्मका ९७, ११ देखि २० वर्षसम्मका १ हजार ४२ र २१ देखि ३० वर्षसम्मका १५ सय ८६ जना छन्। त्यस्तै, ३१ देखि ४० वर्षका ८ सय ६८, ४१ देखि ५० वर्षका ३ सय ४०, ५१ देखि ६० वर्षका १ सय ११, ६१ देखि ७० वर्षका ३१, ७१ देखि ८० वर्षका ९ र ८० वर्षभन्दा माथिका १ जना संक्रमित भएका छन्।

कोरोनाजस्तो संक्रामक रोग जसलाई लागे पनि चिन्ताजनक कुरा हो। त्यसमाथि, यसले कम प्रभावित हुने भनिएको युवाशक्ति यति ठूलो संख्यामा संक्रमित हुनु नेपालका लागि ठूलो राष्ट्रिय र सामाजिक चुनौती हो।

स्वभावैले युवाहरु पढाइ, रोजगार लगायत कारणले बढी घुमफिर गर्छन्। त्यस हिसाबले सबै मुलुकमा संक्रमित हुनेमध्ये युवाको संख्या बढी हुने नै भयो। तर, हामीकहाँ भने स्वभाविकभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये अधिकांशलाई संक्रमणबाट बचाउन सकिन्थ्यो। तर, सरकारको अलमल, अव्यवस्था र अमानवीयताले उनीहरु संक्रमित बने।

देशकै दैलोमा आएर ढक्ढक्याउँदा पनि सरकारले उनीहरुलाई हप्तौँसम्म सीमामा बिचल्लीमा पार्‍यो, जसका कारण संक्रमणमा नपर्नु पर्ने धेरै मानिस संक्रमित भए। तीमध्ये केहीले ज्यानै गुमाए।

बाँके नरैनापुरका २५ वर्षे युवाको ज्यान यही कारणले गयो, उनले भनेको बेला उपचार समेत पाएनन्।

सीमामा आएका नागरिकलाई धेरै दिन रोकेपछि स्वदेश आउने अनुमति त दिइयो। तर, उनीहरुलाई अत्यन्त अव्यवस्थित क्वारेन्टिनमा राखियो, जहाँ पर्याप्त पिउने पानी, शौचालय, दूरी कायम गर्न चाहिने न्यूनतम ठाउँजस्ता अत्यावश्यक पूर्वाधार थिएनन्। फलस्वरुप ती स्थान संक्रमण केन्द्र बने।

जसोतसो ठीकठाक अवस्थामा स्वदेश आइपुगेका युवा पनि संक्रमणबाट जोगिन पाएनन्। ज्यान जोगाउन गाउँ आएकाहरु उल्टै थप जोखिममा परे।

यसो हुनुमा नेपालको सत्ता र समाजको परम्परागत प्रवृत्ति एउटा कारक हो। भारत, खाडी मुलुकमा कामको खोजीमा जानेहरुलाई नेपाली समाजले कहिल्यै उचित सम्मान दिएन।

विदेशबाट आएकै कमाइले बाँच्नेहरुले पनि उनीहरुलाई सम्मान गर्ने परिपाटी बसेन।

age wise covid Nepनेपालमा उमेर समूहअनुसार कोरोना संक्रमितको संख्या।  स्राेत: स्वास्थ्य मन्त्रालय

शताब्दियौंदेखि आफ्नै घरको चुलो बाल्नेदेखि देशको अर्थतन्त्रलाई विदेशी मुद्राले सिञ्चित गरेको नेपाली युवा यसरी अत्यन्त निरीह बनेको यो यथार्थ इतिहासमै एउटा निर्मम घटना बन्न पुगेको छ।

नेपालको युवाशक्तिले यसअघि दुई विश्वयुद्धमा पनि ठूलो क्षति बेहोरेको थियो।

पहिलो विश्वयुद्ध अधिकांशतः युरोपमा लडियो। तर, त्यहाँ पनि २० हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए। झलक सुवेदी लिखित पुस्तक ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’मा उल्लेख भएअनुसार दोस्रो विश्वयुद्धमा पनि ७ हजार ५ सय ४४ नेपाली मारिएका, १ हजार ४ सय ४१ बेपत्ता भएका र २३ हजार ६ सय ५५ घाइते भएका थिए।

त्यसपछि २०५० को दशकमा देशमा माओवादी द्वन्द्व चर्केपछि विद्रोही र राज्य पक्षको दमनबाट नेपाली युवाको ठूलो पंक्ति चेपुवामा परेको थियो। त्यतिबेला धेरै मानिस ज्यान जोगाउन विदेश गएका थिए।

यसपटक संसारभर समस्या आइलाग्यो। विदेशमा भएकाले पनि जिउ जोगाउन आफ्नै थातथलो, आफ्नै सरकार र समाज सम्झे। तर, यहाँ तिनले साथ पाएनन्।

दुई सय वर्षमा पनि नफेरिएको नियति
नेपालीहरु काम र कमाइको खोजीमा विदेश जान थालेको दुई सय वर्षभन्दा बढी भइसक्यो। दुई शताब्दी लामो कालखण्ड पार भइसक्दा पनि परिवार पाल्न विदेश धाउनुपर्ने नियतिबाट नेपाली युवा मुक्त हुन सकेका छैनन्। बरु, वैदेशिक रोजगारको आयतन अझै फराकिलो बन्दै गएको छ।

उतिबेला भारतलाई उपनिवेश बनाएको अंग्रेज र नेपाल सरकारबीच सन् १८१६ ताका सम्झौता भएर नेपाली युवाहरु विदेश जान थालेका थिए। त्यति बेलादेखि नै उनीहरुले अर्को मुलुकका लागि आफ्नो ज्यान बाजी थापेर पनि देशलाई अर्थोपार्जन गर्न थालेका हुन्।

त्यसपछि नेपालीहरु भारत र आसपासका क्षेत्र बर्मा, भुटान, बंगलादेशमा पनि औपचारिक, अनौपचारिकरुपमा कामको खोजीमा चाहर्न थाले।

पञ्जाब प्रान्तको राजधानी लाहोर जाने चलन चाहिँ नेपालमा बढी चर्चित भयो। त्यहाँ गएर आउनेहरुलाई आम बोलीचालीमा लाउरे भन्न थालियो। त्यसपछि, काम र कमाइको खोजीमा विदेश र मूलतः भारततर्फ जाने सबैलाई जनबोलीमा लाउरे भनियो।

यसरी रोजगारीका लागि विदेशिने अधिकांश नेपालीले स्तरीय र सम्मानजनक काम पाएनन्। तैपनि मूलतः निर्वाहमुखी कृषिमै निर्भर, त्यसमै सिमित र बाहिरी दुनियाँसँग कुनै सम्पर्क नै नभएको सर्वसाधारण वर्गको मुगलान जाने यो क्रमले बाहिरी दुनियाँसँग भने सोझै सम्पर्क स्थापित गर्‍यो।

उनीहरुले एकातर्फ घरखर्चको जोहो गरे। नेपाली समाज र बजारमा थोरै भएपनि नगदको प्रवाह गराए। बाहिरी समाज, शिक्षा, स्वास्थ्य लगायतका विषयमा जानकारी पाए। आफ्ना सन्तानलाई शिक्षा दिए।

घर फर्किंदा उनीहरुले दुई–चार सय रुपैयाँ र परिवार तथा आफन्तलाई लत्ताकपडा त ल्याए नै, एउटा खल्तीमा रुमाल, अर्कोमा काइँयो र काँधमा एउटा रेडियो पनि ल्याए।

एउटा युवा भरियासहित लाउरबाट फर्किंदा उसले बाआमा, दाजुभाइ, दिदीबहिनी, र आफन्तको केही न केही आवश्यकता पूर्ति त गर्‍यो नै, सबैलाई वरिपरि राखेर दोहोरी र समाचार सुन्ने बाको धोको पनि पूरा गर्‍यो।

रेडियो आगमनसँगै गाउँका मानिसले देशविदेशका खबर, संगीत, खेलकुद, सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता विषयमा बाहिरी संसारमा के भइरहेछ भनी जानकारी लिने परिपाटी बस्यो।

घरकाले मात्र होइन, गाउँका अलि टाठाबाठाले एचएमटी घडी पनि पाउँथे। कसैले कमिज त कसैले गन्जी हात पार्थे।

यस्ता धेरै कारण थिए, जसले गर्दा एकजना लाउरे फर्किंदा उसको परिवार मात्र होइन, टोलछिमेकका धेरैको मुख रसाउँथ्यो।

पैसाको अलि ठूलो बिटो लिएर कुनै लाउरे गाउँ आउन लागेको सबैभन्दा पहिले टाठबाठाले चाल पाउँथे। अहिले पनि पाउँछन्। उसको बिहे गराउने, उसले ल्याएको पैसा नगण्य ब्याजमा हात पारेर अरुलाई चर्को ब्याजमा लगाएर नाफा लिने वा कुनै जग्गा लाउरेलाई दोब्बर मोलमा बिक्री गराउने विभिन्न योजना बनिसक्छन्।

गाउँमा निकै रमाइरहेको उसको एकमहिने बिदा भने थाहै नपाई बित्छ।

आउँदा बाटैदेखि केटाकेटीलाई चकलेट बाँडेर सुरु हुने उसको गाउँ बसाइको अन्तिमतिर खल्ती रित्तिन्छ। आफैँले लगाएको गन्जी ‘म जानेबेला भो, यो तँ लगा यार’ भनेर साथीलाई दिन्छ। लगाइरहेको जुत्ता भाइलाई अलि ठूलो भएपनि ‘तुना कसेर लगा, अर्को सालसम्म चलेगा’ भनेर दिन्छ।

गाउँकै कोही एकजना आफूले मान्नैपर्ने ठूलाबडा मान्छेलाई उसको नाडीमा बाँधेको घडी सारै मनपर्छ। मनमनै सम्झिन्छ– गाउँमा केही झमेला पर्दा त्यही व्यक्ति बालाई नभई हुँदैन। उसले घडी फुकालेर दिन्छ।

भरियासहित आएको त्यो लाउरे फर्किंदा रित्तै फर्किन्छ। अर्को साल त्यही क्रम दोहोरिन्छ।

कैयौं दशकसम्म यही परिपाटीमा चलेको लाउरेको जिन्दगीका ढाँचा २०४० सालपछि आंशिक रुपमा बदलिन थाल्छ।

uae manmar3गतसाता यूएईबाट स्वदेश फर्किएका नेपाली त्रिभुवन विमानस्थलमा। तस्बिर : प्रबिन कोइराला

भारतको गर्मीबाट उछिट्टिएर खाडीको भुंग्रोमा
वि.सं. २०४२ मा १८ वर्ष उमेर पुगेका नागरिक श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जान पाउने कानुन अर्थात् वैदेशिक रोजगार ऐन ल्यायो। जसले नेपाली युवाको वैदेशिक रोजगारको व्यवस्थामा ठूलो परिवर्तन ल्यायो।

४० को दशकबाट फाट्टफुट्ट खाडी मुलुक जान सुरु गरेका नेपाली युवाहरुको संख्या ५० को दशकमा ह्वात्तै बढ्यो। त्यसको एउटा प्रमुख कारण थियो, देशमा चर्केको द्वन्द्व। युद्धको राप बढेपछि विदेशिनेको लर्को बढ्न थाल्यो। माओवादी र राज्यपक्षको चेपुवामा परेका युवालाई पढाइको चिन्ता र खाडीको तापले पनि रोक्न सकेन। द्वन्द्वबाट उम्किने एउटै उपाय थियो, देश छाड्ने। सके खाडी मुलुकतिर उड्ने, नसके भारत।

२–४ सय बाटाखर्च खोजेर ४० डिग्रीको भारत जाने नेपाली युवा चर्को ब्याजमा १–२ लाख ऋण खोजेर औसत ४५ डिग्रीको भुंग्रोमा पुग्न थाले। लत्ताकपडा, नुनतेल, रेडियो, घडी र घरखर्च आर्जनका लागि लाउर जानेहरु जागिर पाउनैका लागि लाखौं लगानी गर्न थाले। फर्किंदा मोबाइल, टीभी, ल्यापटप र राम्रो सटही दरको विदेशी मुद्रा आर्जन हुन थालेपछि नेपाली युवाहरुको धुइरो खाडीतिर सोझियो।

लाउरबाट आईसी कमाएर खरबारी र खेत किन्ने नेपाली युवाले रियल, दिराम र रिंगिट ल्याउन थालेपछि सहरबजारमा घडेरी किन्न सुरु गरे। केही दशकयताको यो ट्रेन्डले देशको जनसांख्यिक बनोटमै परिवर्तन ल्यायो।

लाउरबाट गाउँ फर्किंदा स्थानीय क्लब र आमा समूहलाई सय–हजार चन्दा दिने, दोहोरी क्यासेट किनेर लाउर फर्किने युवाको अर्को पुस्ताले तेस्रो मुलुक पुगेपछि कलाकारलाई नै दुबई, कतार झिकाएर त्यहाँका विशाल थिएटरमा कार्यक्रम आयोजना गर्न थाले।

जनसम्पर्क समिति, प्रवासी संघ, एकता समाज, पत्रकार संघसंस्थाका शाखाहरुले नेता कलाकारलाई आफैँ रहेका देश र ठूला सहरमा बोलाउने प्रतिस्पर्धा गर्न थाले। उनीहरुलाई फर्किंदा आईफोन, सामसङ लगायत महंगा ब्रान्ड र नयाँ मोडलका फोन दिएर पठाउन थाले।

यसले गर्दा अमेरिका, युरोप मात्र होइन, पश्चिम एसिया र पूर्वी एसियाली देशमा हुने कार्यक्रमप्रति पनि नेता, कलाकारहरुको आकर्षण बढ्यो। पछिल्ला वर्षमा त नेताहरुको चुनावी खर्च समेत यिनीहरुले ठूलैमात्रामा जोहो गर्ने गरेका छन्।

राष्ट्रिय ढुकुटी यिनै लाखौं युवाको पसिनाले आर्जित विदेशी मुद्राले धानेको छ। भारत, खाडी र मलेसियाका युवाले पैसा पठाउन छाडेको दिन उनीहरुको आफ्नो परिवारको चुलोमा बल्ने आगो मात्रै निभ्ने छैन, नेपालको राष्ट्रिय अर्थतन्त्र पनि सँगसँगै थला पर्ने निश्चित छ। राष्ट्रिय अर्थतन्त्र टिकाउने यो उचित र दिगो बाटो होइन। तर तत्काललाई अर्थतन्त्र धराशायी हुनबाट बचाएको छ।

विदेशमा बस्ने नेपालीले पठाउने रकमलाई देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकारसँग तुलना गर्दा त्यसको २५ प्रतिशत हुन आउँछ।

यो राष्ट्रिय अर्थतन्त्रका लागि एउटै क्षेत्रबाट आउने निकै ठूलो योगदान हो। नेपालमा ठूलाे सम्भावना भएको भनी निकै प्रचार गरिने पर्यटन क्षेत्रको जीडीपीमा योगादन अहिलेसम्म ५ प्रतिशतभन्दा कम भएको बताइन्छ।

त्यसैगरी बहुसंख्यक नेपाली संलग्न रहेको कृषि क्षेत्रको गत आर्थिक वर्ष जीडीपीमा झण्डै २७ प्रतिशत योगदान थियो।

आयातमा आधारित हाम्रोजस्तो अर्थतन्त्रलाई विदेशी मुद्रा सञ्चिती उत्तिकै महत्वपूर्ण कुरा हो। नेपालमा तयारी पोसाक, कार्पेट लगायतको निर्यात ओरालो लागेपछि अर्थतन्त्र धर्मरायो। त्यसपछि संकटमा परेको विदेशी मुद्रा सञ्चितीको एउटा प्रमुख आधार रेमिटेन्स नै बनिरहेको छ।

अमानवीय व्यवहार र पीडाको पहाड
अहिले आवागमनको समस्या विदेशबाट फर्किने श्रमिक नेपालीले मात्र भोगेका होइनन्। संसारभर नै राष्ट्रिय र अन्तर्राष्ट्रिय यातायात प्रभावित भयो। अर्को देशमा रहेका प्रायः सबै देशका मानिसहरु त्यहीँ नै अड्किए। स्वदेशमै रहेका नागरिक अहिले पनि उत्तिकै पीडित छन्।

तर, आफ्नो देशको सीमामा आएर नेपाली नागरिकहरु जसरी बिचल्लीमा परे र स्वदेश आएपछि पनि उनीहरु क्वारेन्टिनमा जुन अव्यवस्थाको शिकार बने, त्यो उनीहरुमाथि गरिएको अमानवीय व्यवहार हो।

उनीहरुको आर्जनबाट घरको चुलोदेखि राष्ट्रिय अर्थतन्त्र चलाउने परिवार, समाज र सरकारले उनीहरुलाई समयमै, सही ढंगबाट ससम्मान नेपाल नल्याएर राज्यले उनीहरुको पीडामा नुनचुक थप्यो।

gadda alapatra1
भारतबाट आउँदा नेपालमा प्रवेश नपाएर कञ्चनपुरस्थित गड्डाचौकी नाकामा बिचल्लीमा परेका नेपालीहरु।

नेतृत्वको निराशाजनक रवैया
प्राकृतिक आपत विपतका बेला नेतृत्वले सही निर्णय लिन नसक्दा कुनै समस्या कतिसम्म बिग्रन्छ भन्ने ज्वलन्त दृष्टान्त बनेर रहनेछ यो काण्ड। विपतको सामना गर्ने कुनै बनिबनाउ सूत्र हुँदैन। यो त नेतृत्वमा रहेका व्यक्तिहरुको तत्कालको सुझबुझपूर्ण निर्णय क्षमताबाट सुल्झिने कुरा हो। जसमा सरकार चुक्यो।

सरकार, राजनीतिक दलका नेतृत्व र अन्य निकायका प्रमुखहरुले निरन्तर विज्ञहरुसँग परामर्श र तिनका सुझावका आधारमा युद्धस्तरमा तयारी गर्ने बेला नेताहरुबीच भने आआफ्नै पद र अधिकार क्षेत्रसम्बन्धी विवादबारे वाकयुद्ध चलिरहेको थियो।

कोरोना संकट नआउँदै पर्याप्त समय पाउँँदा पनि काम नगर्नु महाभूल थियो। समय छँदा सरकार अलमलियो। सत्तारुढ दलका प्रमुख नेताहरुले अत्यन्तै असान्दर्भिक र व्यक्तिगत मुद्दामा समय खेर फाले। प्रधानमन्त्रीले आफ्नो पार्टी नेता र अरु दललाई समेत एकजुट बनाएर महामारी सामना गर्न जुट्नुपर्नेमा नेकपाका प्रमुख नेताहरु बैठकमा कसको कुर्सी कहाँ र बैठकमा टेबल छोप्ने कपडाको रङबारे विवाद गरेर महत्वपूर्ण साता बिताए।

जनता वास्तविक संकटमा पर्दा अहिलेको नेतृत्वमा रहेका प्रमुख नेताहरु पटक्कै संवेदनशील र सक्षम छैनन् भन्ने प्रमाणित गर्न योभन्दा अर्को कुनै प्रमाण चाहिँदैन।

नेपालको सरकार, निजी क्षेत्र र आफ्नै समाजबाट उनीहरुले न्याय पाएनन् भने तिनका सन्तानले नेपालप्रतिको मोह त्याग्ने छन्। एकातिर विदेशमा राम्रो सामाजिक सुरक्षा व्यवस्थाको अवसर, अर्कोतर्फ नेपालसँगको नातालाई तोड्न नसक्ने दोधारमा रहेका नेपालीको संख्या बढ्दो छ।

उसैपनि विकसित देशप्रतिको मोह हुने नयाँ पुस्तालाई अभिभावकले पाएको हन्डर देखेर नेपालप्रति वितृष्णा जाग्नेछ। विदेशमा प्राप्त राम्रा अवसरको उपभोग गर्ने वा तुलनात्मक रुपमा कम लाभदायी भएपनि आफ्नै देश फर्किने भन्ने अन्योलमा रहेकालाई अहिलेको जस्तो रवैयाले पक्कै नेपाल आउन निरुत्साहित गर्नेछ।

अब के गर्ने?
यो संकट महिनौं लम्बिने निश्चित छ। अझैपनि ठूलो संख्यामा नेपाली नागरिकहरु नेपाल आउने पर्खाइमा छन्।

तीनलाई स्वदेश आउने स्वीकृति दिन सरकारले तीन महिना पर्खिसकेको छ। अब प्राथमिकताका आधारमा ल्याउने नीतिगत निर्णय त गरेको छ तर बिचल्लीमा परेका कतिको उद्धार हुने हो अझै अन्यौल छ।

उनीहरुको आगमन र यहाँको बसाइ व्यवस्थित हुनेछ भनी ढुक्क हुने स्थिति छैन।

लाखौं नेपााली स्वदेश फर्किंदा उनीहरु ससम्मान आफ्नो घर र समाजमा बस्ने स्थिति सिर्जना गर्न नसके समाजमा स्वास्थ्य समस्याले विकराल रुप लिनसक्छ भने सामाजिक समस्या पनि देखापर्नेछन्।

त्यो परिस्थिति आउन नदिन राज्य र समाजका सबै तप्काले ख्याल गर्न जरुरी छ। त्यसका लागि सरकारी निकाय र विज्ञहरुले एउटा प्रस्ट निर्देशिका बनाएर त्यसकै आधारमा स्थानीय तह, विद्यार्थी, युवा संगठन, कलाकार, सबैले आआफ्नो क्षेत्र र क्षमता अनुसार निश्चित भूमिका खेल्नै पर्छ।

दुबईमा गएर कन्सर्ट गर्ने कलाकारले सहयोग जुटाएर कम्तीमा केही सय नेपाली युवाहरुको स्वदेश फिर्तीमा सहजीकरण किन नगर्ने?

नेपाली श्रमिकको कमाइमा दुबईका बुर्ज खालिफा र क्वालालम्पुर टावरमा गएर फोटो खिच्ने नेता, कलाकारले यो संकटमा आफ्नो संयोजनमा देश फर्केका नेपाली कामदारसँग फोटो खिचे कसो होला?

देशमा हजारौं कार्यकर्ताको नेतृत्व गर्ने युवा संगठनहरुले आफ्ना विदेशमा रहेका शाखा र यहाँका पार्टी प्यालेससँग संयोजन गरी केही सय युवालाई ल्याउन संयोजन, सहजीकरण किन नगर्ने?

संकटको बेला लुकेका ती संगठनहरु अरु बेला चन्दा उठाएर जुलुस निकाल्नका लागि मात्र किन चाहियो?

म त जनताबाट चुनिएको जनप्रतिनिधि, म चाहिँ लोकसेवा पास गरेको राष्ट्रसेवक, हामी बौद्धिक, समाजका सचेत नागरिक समाज, हामी चौथो अंग भनेर घुर्क्याउनेहरुबाट मात्र देश चल्दैन।

घरको चुलो र राष्ट्रिय ढुकुटीलाई टिकाइरहेका असली नागरिकहरु अहिले पनि कि त खाडीमा पसिना बगाइरहेका छन् कि मधेस र पहाडमा खेत–खोल्सा खनिरहेका छन्।

ती अझै अन्यायमा नपरुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .