ad ad

विचार


अमेरिकामा दुई चिज गुमाएर फर्किए प्रधानमन्त्री ओली

अमेरिकामा दुई चिज गुमाएर फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् (तस्बिरः सरोज बैजु)


सन्जय घिमिरे
असोज १४, २०८१ सोमबार १८:१७, टेक्सास (अमेरिका)

खासमा म आज टाढाबाट नजिकको कुरा लेख्न बसेको हुँ। नजिकको अर्थात् यतै अमेरिकातिरको। 

नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिका आए, गए– संयुक्त राष्ट्रसंघको कर्मकाण्ड सकेर।

छिटो आए, ढिलो गए। 

छिटो किन आए? आएर के गरे? 

ढिलो किन गए? ढिलोसम्म बसेर के गरे? 

यो म त्यति जान्दिनँ, जति सल्लाहकारहरू र कार्यकर्ताहरूले जान्दछन्। 

के म अलि ठाडो भएँ? 

परराष्ट्रमन्त्री आरजु राणा, जसले सुदूरपश्चिमेलीसँग विवाह गर्नुभयो, उहाँका लागि ‘आए–गए’ शब्द सायद नौला र ठाडा होइनन्, यी आदरार्थी शब्द नै हुन्। 

नेपालका अहिलेका प्रधानमन्त्री केपी ओली भने भाषामा अलि बढी ‘चुजी’ हुनुहुन्छ। भन्नुहोला– ‘आए–गए’, भाषा अलि ठाडो भयो।

भाषामाथि अरु कुनै बेला संवाद गरौँला। अहिलेलाई यत्ति भनौँ– भाषाको अर्थ र मान्छेको मर्यादा माग्ने कुरा होइन, अरुले दिने कुरा हो। 

नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अमेरिकामा कति मर्यादा भयो–भएन वा मर्यादा प्राप्त गर्ने खालको व्यवहार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका तर्फबाट भयो भएन म अलि पछि भनौँला।

त्यो भन्दा अगाडि मलाई छोटो कुरा गर्न मन छ– नेपालको बाढी पहिरोको र त्यसपछिका दृश्यहरूको। 

दीप श्रेष्ठको एउटा कालजयी गीत छ– 

हर रात सपनीमा ऐँठन हुन्छ, 
गाउँमा सायद पहिरो गयो कि...

यसपालि साँच्चिकै पहिरो गयो। नेपालतिरका दृश्यहरू हेरिनसक्नुका छन्। 

प्रकृतिले सिर्जना गरेका दृश्यहरू जतिसुकै कुरूप भए पनि प्रकृतिमाथि पौँठेजोरी खोज्ने वा टिप्पणी गर्ने ताकत मसँग छैन। 

मसँग तीमाथि मात्र टिप्पणी गर्ने ताकत छ– जसले प्रकृतिको तागतलाई बुझ्न खोजेनन्, जसले प्रकृतिको तागतमाथि पनि खेल्न खोजे वा त्यसलाई सम्हाल्न सकेनन्। 

तीमाथि टिप्पणी पनि कति गरौँ? के गरौँ? कहिलेसम्म गरिरहूँ?

आफनो छाप्रोको छतमा उभिएर चारैतिर हेरेर जीवनको भिख मागिरहेको एउटा मान्छेलाई सम्झेर आज मलाई पत्रकार दीर्घराज उपाध्यायले अमेरिकाको डलासमा सुनाएको एउटा कविता तपाईंहरूलाई पनि सुनाउन मन छ :

हामीले भेन्टिलेटर माग्यौँ,
सरकारले छैन भन्यो
हामीले आईसीयु माग्यौँ,
सरकारले सम्भव छैन भन्यो
हामीले अक्सिजन माग्यौँ, 
त्यो त असम्भव भन्यो
हामीले बेड माग्यौँ, 
सरकारले दिन सकिन्न भन्यो 
र, 
मृत्युले भन्यो, म छु नि त।

बस्, यो भन्दा म अरु के कुरा गरौँ, त्यतातिरको। आँसु आउँछन्, यो भन्दा बढी कुरा गर्न खोज्दा। 

भो, भैगो। शोकका दिनहरूमा यहाँभन्दा बढ्ता के छुच्चो हुनु? 

फर्कन चाहन्छु– यतैतिर, अमेरिकातिरै, जहाँ नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अरु पनि आए, गए। 

यो विषयमा थप केही लेख्नुअघि म मेरो स्वार्थ वा चाहनाका बारेमा प्रष्ट पार्न चाहन्छु। होइन भने अनावश्यक गालीको वर्षा हुन सक्छ। 

मेरो स्वार्थ वा चाहना– नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री, भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीभन्दा माथि होऊन्। नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका कुरा सुन्न न्युयोर्कमा मान्छेको भिड लागोस्। एक खालको क्रेज होस। हामीले पनि ओहो, भन्न पाऊँ। अरुले पनि, ओहो नेपाल, भनून्। मेरो मातृदेशका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफू मात्र होइन, मलाई पनि मेरो कर्मभूमिमा जिताएर जाऊन्। 

के मैले यस्तो चाहना राखेर गल्ती गरेँ? 

मेरो चाहनामा गल्ती छैन भने मलाई अहिले यति चाहिँ छातीमाथि ढुंगा राखेर भन्न दिनुस्– फेरि पनि मैले हामी हारेकै महसुस गरेँ। 

जुन दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको नेपाली समुदायसँग तय भएको कार्यक्रम सुरक्षाका कारण रद्द भएको खबर आइरहेको थियो, त्यही साँझ छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हजारौँ भारतीयहरूलाई उद्वेलित गर्ने भाषण गरिरहेका थिए। नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको कार्यक्रम आयोजना कांग्रेस वा एमालेका संगठनहरूले गरिरहेका थिए, भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रमको नाम दिइएको थियो– इन्डियन डायस्पोरा मेगा इभेन्ट। त्यहाँ भारतीय जनता पार्टीको कुरा थिएन, त्यहाँ कांग्रेस आईको कुरा थिएन। 

के तपाईंहरूले मोदीले न्युयोर्कमा इन्डियन डायस्पोरा मेगा इभेन्टमा गरेको भाषण सुन्नु भयो? 

सुन्नु भएको थिएन भने मलाई केही वाक्य उद्धृत गर्ने अनुमति दिनुस्, भलै मोदी हाम्रा मान्छे होइनन्। त्यहाँ मोदी भनिरहेका थिए– ‘जब म कुनै सरकारी पदमा थिइनँ, त्यतिबेला पनि र आज पनि, तपाईंहरू सबै मेरो लागि सदैव भारतका सबैभन्दा बलिया ‘ब्रान्ड एम्बासडर’ हुनुहुन्छ। यसकारण म तपाईंहरू सबैलाई ‘राष्ट्रदूत’ भन्न चाहन्छु। तपाईंहरूले अमेरिकालाई भारतसँग र भारतलाई अमेरिकासँग जोड्नु भएको छ। भलै, तपाईंहरू सात समुन्द्रपारि आउनु भएको छ, तर कुनै पनि समुन्द्र दुनियाँमा यति गहिरो छैन, जसले मुटुको गहिराइमा बसेको हिन्दुस्तानलाई तपाईंहरूबाट टाढा बनाउन सकोस्।’

वाह मोदी! 

मैले ‘वाह’ जसलाई भनेँ, ती हाम्रा होइनन्, जो हाम्रा हुन् तिनले मलाई यसरी ‘वाह’ भन्ने मौकै दिएनन्। 

हो, म ठिक मोदीको जस्तै भाषण नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुन्न चाहन्थेँ।

म अलिक भावुक मान्छे हुँ। म र मजस्तै अमेरिकामा बसिरहेका नेपालीका अनुहारतिर फर्केर प्रधानमन्त्री ओलीले मोदीले जस्तै ठयाक्कै त्यही भनेको भए, निश्चित हो– मेरा आँखा भरिने थिए, सायद अरुका पनि। 

मौका गुम्यो।

यो मौका गुमेकोमा म यसै पनि सोचमग्न छु, त्यसमाथि न्युयोर्कमा हुने भनिएको तर हुन नसकेको नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपालीसँगको कार्यक्रमलाई लिएर नेपालतिर गरिएका टिप्पणीहरूले मलाई बढ्ता सोचमग्न बनाएका छन्। 

ती टिप्पणीहरू असाध्यै सतही छन्, भलै ती जानेबुझेका मान्छेले गरेका होऊन्। 

पहिलो त, कार्यक्रमस्थल र कार्यक्रमका आयोजकहरू नै प्रश्नको घेरामा थिए। 

दुई, प्रधानमन्त्रीको व्यस्तता अन्तै थियो। 

तीन, नेपालका प्रधानमन्त्रीलाई नेपालतिर चर्चा गरिएजस्तो जुत्ता हानिएको वा विरोध गरिएकै होइन। त्यसकारण प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपालीसँगको संवाद कार्यक्रम रोकिएकै होइन। 

चार, लौ कसैले विरोध प्रदर्शन गर्छु भन्यो नै, के भयो त? के यसैका कारण कार्यक्रम रोकिनु पर्थ्यो? 

शान्तिपूर्ण विरोध प्रदर्शन यसै पनि सामान्य प्रजातान्त्रिक अभ्यास हो। अमेरिकाले त झन् यस्ता अभ्यासहरूलाई यसैपनि स्वाभाविक रूपमा लिन्छ। 

ह्वाइट हाउसको गेटमै गएर उफ्रिन पाइन्छ, न्युयोर्कको कुनै होटल वा सामान्य इभेन्ट सेन्टर वा रेस्टुराँआगाडिको के कुरा? 

तपाईंहरूलाई भनौँ– मोदीको कार्यक्रमस्थलबाहिर पनि उनको विरोध भएको थियो। 

कतिपय नेपालतिरका लालबुझक्कडहरूले यहीबेला अमेरिकामा बस्ने नेपालीलाई पाठ पढाउन खोजेको र गाली गरेको सुनेर म अवाक् छु। पाँच लाख नेपालीमध्ये दुईजनाले नेपालका प्रधानमन्त्री ओलीको विरोध गर्न चाहे। गर्न दिनुस्। 

उनीहरूको विरोध र आक्रोशको तह र विषय मनन गर्नुस, खेल जित्नु हुनेछ। 

के नेपालका प्रधानमन्त्री ओली भगवान हुन्? के उनको विरोध अक्षम्य हो? 

कतिपयले भनेको सुन्छु– विदेशमा भएका बेला आफ्ना प्रधानमन्त्रीको विरोध गर्नु अपराध हो। सामान्य मर्यादा विपरीत हो। 

होइन। यस्तो भैरहन्छ। 

अमेरिकी राष्ट्रपति, अरु देशमा जाँदा अमेरिकी नागरिकले नै विरोध गरेका उदाहरणहरू पनि छन्। 

कसैले कसैलाई अनुशासन वा शिष्टाचारको पाठ नपढाए हुन्छ। अनुशासन वा शिष्टाचार अरुलाई सिकाउने भन्दा पनि आफूले सिक्ने कुरा हो। 

एउटा मान्छेको आक्रोश र सोचको ठेक्का अर्को मान्छेले लिने नै होइन। को मान्छे, कुन बेला, के कारणले सन्किन्छ? सन्किन दिनुस्। 

जनतालाई गुनासो गर्न दिनुस्, आक्रोशित हुन दिनुस्। नेताको काम नै जनताको गुनासो र आक्रोशलाई कम गर्नु हो। 

जुन देशका नेता वा तथाकथित बुद्धिजीबी जनतामाथि गुनासो गर्न थाल्छन्, मान्नुस् त्यो देश सक्किने दिशामा छ। 

नेताले जनतासँग गुनासो गर्ने नै होइन, जनताको मन जित्ने हो। 

धिक्कार छ ती नेता तथा बुद्धिजीबीहरूलाई, जो जनताले विरोध गर्न खोजे भनेर जनताको खेदो गरिरहेका छन्। 

यसो भनेर म अमेरिकामा बस्ने सबै नेपालीको बचाउ गरिरहेको छैन। अमेरिकी नेपालीमाथि सबैभन्दा बढी गुनासो कसैसँग छ भने सायद मसँग छ। यो अर्कै लफडाको विषय हो। 

म यति मात्र भन्छु– एउटा मान्छेको चरित्र, सोच, स्वभाव, बाध्यता र परिस्थिति अर्को मान्छेसँग मिल्दैन। 

बस्, यत्ति कुरा बुझे धेरै कुरा बुझिन्छ। 

मेरो आपत्ति त, विरोध गर्न खोज्ने एकादुई नेपालीप्रति होइन, तीप्रति छ, जसले एमालेको प्रवासी मञ्च वा कांग्रेसको जन सम्पर्क समितिको कोटरीभित्रै देशका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई अल्मल्याउन खोजे। 

अलमलिने प्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि उस्तै। 

यसमा म र मजस्तै अमेरिकामा बस्ने नेपाली कति दोषी हौँ, भन्नुहोला। यो दोष सच्याउन म तयार छु। 

तर यसको बढ्ता दोष म नेपालीको मन जित्न नसक्ने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणामा बढ्ता देखिरहेको छु। 

लौ, जे कारणले होस्, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपालीसँगको संवाद कार्यक्रम हुन सकेन, कोलम्बिया युनिभर्सिटीको कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले हामीलाई हुरुक्क पार्नेगरी बोलिदिएको भए हुन्थ्यो नि त। 

अहँ। 

त्यहाँ त झन् उनले हाम्रो बेइज्जत गरे। कन्टेन्ट र भाषा दुवै झुर। 

म विष्णु रिमालका ठाउँमा भएको भए प्रधानमन्त्री ओलीलाई त्यहाँ नजान भन्थेँ। जाने नै भए अर्कै तरिकाले तयार गराउने थिएँ। 

अहिले त मलाई यस्तो लाग्न थालेको छ– हार्वड वा कोलम्बिया युनिभर्सिटीहरूले हाम्रा प्रधानमन्त्रीहरूलाई बेइज्जतीका लागि मात्र बोलाउँछन्। चाहे शेरबहादुर देउवा होऊन् वा ओली। 

नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री यतै भएको बेला मैले एकजना मित्र, जो अमेरिकी विदेश मन्त्रालयमा काम गर्छन्, लाई सोधेको थिएँ– नेपाली प्रधानमन्त्रीको अमेरिका भ्रमणको बारेमा तिमी के सोच्छौ?

उनले जे सुनाए, त्यसपछि मैले आफैँलाई गरेको प्रश्न थियो– हामी कहाँ छौँ? 

ठिक यही प्रश्न मैले मोदीको भाषणपछि फेसबुक र एक्समा पोस्ट गरेको थिएँ। 

जुन दिन नेपाल बाढी र पहिरोको कहरमा थियो, त्यही दिन वा एकदुई दिन पछिसम्म पनि नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिकामै हल्लिरहेका थिए, फेरि मेरो मनले मलाई सोध्यो– हामी कहाँ छौँ? 

हल्लिरहेको भन्ने शब्द अलि कडा भयो भन्ने म जान्दछु। प्रधानमन्त्री ओली, तपाईं, तपाईंको परराष्ट्रमन्त्री, सल्लाहकार र कार्यकर्ताहरू, तपाईंहरूलाई लागेको होला अमेरिकामा यो बीचमा महत्त्वपूर्ण र अर्थपूर्ण बैठकहरू भएका छन्। मलाइ थाह छैन, ती कति महत्त्वपूर्ण र अर्थपूर्ण थिए। 

यति चाहिँ मलाई लागेको छ प्रधानमन्त्री ओली– यसपटकको अमेरिकाको भ्रमणबाट तपाईं दुई चिज गुमाएर फर्कनुभो– एक, अमेरिकी नेपालीको आशा। दुई, बाढी–पहिरोपीडित नेपालीको भरोसा। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .