विचार


यसकारण खतरनाक छ ट्विटरमाथि इलोन मस्कको नियन्त्रण

यसकारण खतरनाक छ ट्विटरमाथि इलोन मस्कको नियन्त्रण

डेविड नासाव
कात्तिक १२ ,

इलोन मस्क ट्विटरका मैमत्त मालिक बनिसकेका छन्। यहाँनेर खतरनाक कुरो हाम्रो माझमा एक दुष्ट अर्बपति हुनु होइन। यस्तो हिजो पनि भएको थियो, भोलि पनि हुनेछ। खतरनाक कुरा के हो भने मस्कले नै भनेको हाम्रो ‘डिजिटल चौतारी’ अब यी अर्बपतिको नियन्त्रणमा हुनेछ।

२१ औँ शताब्दीको प्रविधिमा आधारित चरम पुँजीवादको अनुहार हुन् मस्क। जसरी अमेरिकामा रेलमार्ग बनाउने व्यापारीहरु र सो रेलमार्ग तथा आधुनिक सहर निर्माताहरुलाई स्टिल आपूर्ति गर्ने एन्ड्रयु कार्नेगीले १९ औँ र २० औँ शताब्दीको विस्तृत औद्योगिक पुँजीवादको प्रतिनिधित्व गर्थे।

मस्कले तीव्र गतिमा विघटन भइरहेको नियमनकारी राज्य संयन्त्रका बीचमा उदाउँदो अवसरको फाइदा उठाएका छन्। उनले लगानीकर्ताहरुको एउटा सानो फौज र लबिइस्ट, वकिल तथा प्रशंसकहरुको एउटा जत्था जुटाएका छन्। उनले आफूलाई प्रविधिमा प्रतिभावान त्यस्ता व्यक्तिका रुपमा उभ्याउन खोजिरहेका छन्, जसले नियम तोड्न सक्छ, आफ्ना लागि काम गर्नेहरुलाई शोषण गर्न र निचोर्न सक्छ, अवरोध गर्न खोज्नेहरुलाई उपहास गर्न सक्छ र आफ्नो सम्पत्तिलाई मनलाग्दी ढंगले खर्च गर्न सक्छ किनभने त्यसले मानवतालाई फाइदा गर्छ। आफ्नो विद्युतीय कारका माध्यमले उनले यो ग्रहको उद्धार गर्नेछन् र स्याटलाइट प्रणालीका माध्यमले युक्रेनको रक्षा गर्नेछन्। तर, यी असल कर्म गर्न उनलाई सरकारी हस्तक्षेपबाट उन्मुक्ति दिइनैपर्छ।

दुई शताब्दीभन्दा लामो समयदेखि मस्कजस्ता अमेरिकी महाजनहरुले सरकारसँग मिलेर अमेरिकाको अर्थतन्त्र र दैनिक जीवनलाई बदलेका छन् (र, आफूलाई अझ धनी बनाएका छन्)। उनीहरुले सरकारबाट विशाल अनुदान र संरक्षण प्राप्त गरेका छन्। अर्कोतिर, व्यवसाय आफूखुसी सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग हुन्छ। रेलमार्ग निर्माताहरुले सरकारले उपलब्ध गराएको जमिनमा लिक ओछ्याए र त्यसवापत हरेक माइलको हिसाबले सरकारी अनुदान कुम्ल्याए। यसरी उनीहरुले सम्पत्ति जम्मा गरे।

कार्नेगी र स्टिल व्यापारीहरुले रिपब्लिकन सांसदहरु र राष्ट्रपतिहरु चुने। जो विदेशी प्रतिस्पर्धीहरुमाथि कर थोपरेर तिनको कम्पनीको नाफाको रक्षा गरिदिन प्रतिबद्ध थिए। सरकारले मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई दिएको अर्बौं अनुदानको सहयोगमा उनले कम्पनीहरु विस्तार गरे, सम्पत्ति थुपारे। अमेरिकी अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष पुर्याउन नासाले दिएको ठेक्का, स्याटलाइट प्रक्षेपण तथा उच्च गतिको इन्टरनेट सेवामार्फत उनले अरु अर्बौं कमाए। अन्तरिक्षमा उनका करिब ३ हजार स्याटलाइट छन्।  

तर, मस्क औद्योगिक युगका महाजनहरुभन्दा ज्यादा शक्तिशाली र खतरनाक छन्। त्यसको कारण के हो भने उनी एक ट्विटका भरमा आफ्नो व्यवसाय र राजनीतिक सोचको प्रचार गर्न सक्छन्। ‘मिम स्टक’, ‘डे ट्रेडिङ’ र कुसूचनाको यो युगमा सञ्चारमाध्यम र बजारका आयामहरुको गतिलो बुझाइका कारण उनी यस्तो तत्क्षणको सञ्चारको असरलाई अझ प्रभावकारी बनाउँछन्। 

अमेरिकी स्टिल उद्योग विस्तारको नेतृत्व गरेका कार्नेगीले आफ्ना कम्पनीहरुलाई निजी नै राखिरहे। किनभने उनी बाहिरी लगानीकर्ता, प्रभाव र बजारका सर्तहरुको पकडमा पर्न चाहँदैनथे। मस्कले भने त्यसको ठिक उल्टो काम गरेका छन्। मस्कको सम्पत्ति उनले बनाएका कारखाना, उनले बेच्ने उत्पादन वा उनले किनेको घरजग्गाबाट प्राप्त भएको होइन। बरु उनी टेस्ला, स्पेसएक्स, क्रिप्टोकरेन्सी कम्पनीहरु र ट्विटरमा रहेका अर्बौं डलरको सेयरका कारण धनी भएका हुन्। 

अगस्ट २०१८ मा मस्कले ट्विट गरे– म टेस्लाको सेयर प्रतिगोटा ४२० डलरका दरले किनेर कम्पनीलाई निजी बनाउने सोच्दैछु। अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले मस्कको ‘भ्रामक ट्विट’ले टेस्लाको सेयरको मूल्य ६ प्रतिशत बढेको बतायो। जसका कारण उनमाथि ठगीको आरोप लाग्यो। त्यसपछि उनी टेस्लाको अध्यक्षबाट हट्न राजी भए र उनले २ करोड डलर जरिबाना तिरे। टेस्लाले थप २ करोड डलर तिर्यो।

केनेडी परिवारका पितामह जोसेफ पी केनेडी चलखेल गरेर सेयर मूल्य तलमाथि पार्न अत्यन्त निपुण थिए। तर, सो कमिसनको पहिलो अध्यक्ष भएपछि चलखेलकर्ताहरुलाई आफूखुसी गर्न दिने हो भने पुँजीवाद कहिल्यै पनि महामन्दीबाट तंग्रिन नसक्ने डर उनले व्यक्त गरेका थिए। केनेडीकै नेतृत्वमा सो कमिसनले सर्ट सेलिङ र इन्साइडर इन्फर्मेसनजस्ता कयौँ अभ्यासहरुलाई गैरकानुनी घोषित गरिदियो। जबकि तिनै अभ्यासको फाइदा उठाएर केनेडी धनी भएका थिए।

मस्कलाई न त त्यस्तो डर छ, न संकोच। अप्रिलमा दि इकोनोमिस्टले जनाएअनुसार मस्क ‘लगानीका सामान्य नियम लागू हुँदैन भन्ने विचार प्रबद्र्धन गर्छन्। उनी नियामक तथा बोर्डजस्ता स्वच्छता कायम राख्नेहरुलाई प्रगतिको अवरोध भन्छन्।’ सो कमिसनका अधिकारीहरुलाई मस्क ‘ती हरामी’ भनेर पुकार्छन्।

मस्कले ट्विटरको स्वामित्व लिँदाको नतिजास्वरुप राजनीतिकसँगै आर्थिक व्यवधान पनि पैदा हुनेछ। डोनाल्ड ट्रम्पलाई ट्विटरमा फिर्ता ल्याउने घोषणा गरेर उनले राजनीतिक कुसूचना र मिथ्या सूचना नियन्त्रणको विरुद्धमा आफू रहेको संकेत गरेका छन्। उनले आफूलाई ‘कट्टर वाक् स्वतन्त्रता पक्षधर’ भनेका छन्। उनले अनेक पटक सेन्सरसिपको विरोध गर्ने स्पष्ट पारिसकेका छन्। त्यसैले ट्विटरका सामग्रीसम्बन्धी नियमलाई उनले खुकुलो बनाउने सम्भावना ज्यादा छ।

मस्कको स्वामित्व र नियन्त्रणमा रहेको ट्विटरले वाक् स्वतन्त्रताको नाममा तबसम्म मिथ्या सूचना र कुसूचना पोस्ट गर्न दिइरहनेछ, जबसम्म त्यसले मस्कका राजनीतिक विरोधीहरुलाई बद्नाम गरिरहनेछ र उनी तथा उनका आसेपासेको गुनगान गाउने तथा उनीहरुलाई धनी बनाउने काम गरिरहनेछ। यस्तो अपेक्षा राख्नु अब अनुचित छैन।

‘वाक् स्वतन्त्रता’ को सम्मान र संरक्षण गरिनैपर्छ, यसमा मस्क सही छन्। तर, जनता र एउटा राष्ट्रका रुपमा वाक् स्वतन्त्रताले कहिले र कसरी स्पष्ट खतरा उत्पन्न गर्छ र त्यसलाई रोक्न सरकारले कानुन, नियमका माध्यमबाट कुनै बाटो खोज्न आवश्यक छ कि छैन भन्ने विषयमा सार्वजनिक रुपमा सहभागितामूलक बहस गर्ने बेला यही होइन र?

इलोन मस्क उनको र हाम्रो समयको उत्पादन हुन्। उनको प्रभावको विषयमा बहस र भर्त्सना गर्नुको सट्टा हामीले के कुरा बुझ्न जरुरी छ भने सञ्चारमाध्यमका अघिल्तिर अभिनय गरेजस्तो मस्क स्वनिर्मित प्रतिभाशाली व्यवसायी होइनन्। बरु, उनको सफलता करदाताको पैसाबाट खरिद गरिएको हो। र, सरकारी अधिकारीहरुले मस्क र अन्य अर्बपति व्यापारीहरुलाई हाम्रो अर्थतन्त्र र राजनीतिमा झनझन् बढी नियन्त्रण गर्न दिएर उनीहरुलाई बढावा दिएका छन्।

(द न्युयोर्क टाइम्सबाट)

कात्तिक ११, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.