ad ad

विचार


५१ प्रतिशत भोटको कमान्ड गर्ने सक्ने कांग्रेस किन बनाउन सकेनौँ?

५१ प्रतिशत भोटको कमान्ड गर्ने सक्ने कांग्रेस किन बनाउन सकेनौँ?

रामचन्द्र पौडेल
भदौ १३, २०७९ सोमबार १९:२५, काठमाडौँ

यो संविधान सम्झौता हो। संविधान सभामा माओवादी, मधेशी दल, राजावादी सबै थिए। ६ वर्षसम्म माथापच्छीपछि सम्झौतामा आएको दस्तावेज हो। तर, सम्झौताको दस्तावेज हुँदा पनि कांग्रेसले लोकतन्त्रका मूल्यमान्यताहरुलाई संविधानमा समेटेको छ। विश्वमा अरु व्यवस्था होइन, लोकतन्त्र नै उत्तम व्यवस्था हो भन्ने निष्कर्षमा पुगेको छ। हाम्रो पनि संविधानले लोकतन्त्रको ग्यारेन्टी गरेको छ। जनताको मागअनुसार समावेशी सिद्धान्त समेत अवलम्बन गरेको छ। त्यसैले यो संविधानलाई कार्यान्वयन गर्न आवश्यक छ। नेपालको वास्तविकतामा आधारित विकासलाई सोच्न सक्नुपर्छ।

गठबन्धन अहिलेको व्यावहारिक आवश्यकता हो। कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने हो भने एमाले र माओवादीबीच गठबन्धन हुन्छ। हामीले नगरे अर्कोले गर्छ। कांग्रेसले पहिले आफूलाई टिकाउनुपर्छ। पहिले कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, यसका लागि गठबन्धन आवश्यक छ। कांग्रेसले एक्लै लडेर जित्ने अवस्था छैन। माओवादीसँग गठबन्धन गर्नुहुँदैन भने के हामीले आफैँ लडेर जित्ने पार्टी बनायौँ त? हामीले अहिलेसम्म जति काम गरेका छौँ, त्यो कामबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत मत आफ्नो पक्षमा बनाएका छौँ त? ५१ प्रतिशत मतको कमान्ड गर्न सक्ने कांग्रेस छ त? त्यसैले गठबन्धन गर्नै पर्ने आवश्यकता छ। नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ।

म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावी मैदानमा छु। देशमा नैतिकता र सुशासनको खडेरी परेको छ। यसमा केही भूमिका खेल्न चाहेको हुँ मैले। यसका लागि जनताको म्यान्डेट आवश्यक परेकोले म त्यो लिन तनहुँबाट उमेदवार बन्न चाहेको हो। मर्नुभन्दा अगाडि केही गरेर मरौँ भन्ने इच्छा छ। केही गर्न सकिन्छ कि भनेर चुनाव लड्न खोजेको छ।

आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुनुपर्छ। मैले पहिलेदेखि अरु पार्टीहरुलाई पनि भनेको छु। नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो। १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ। चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस्। त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन्। कांग्रेसले आफ्नो समानुपातिकको भोट जोगाउनका लागि र गठबन्धनलाई बलियो बनाउन र भोट साटासाट गर्नका लागि पनि सबै निर्वाचन क्षेत्रमा रुख चुनाव चिन्ह हुनुपर्छ।

हामी भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा छौँ। हामी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौँ। त्यसैले उनीहरुसँगको प्रतिस्पर्धालाई हामीले छल्न पर्छ। हामीले भारत र चीनसँग प्रतिस्पर्धा नहुने उत्पादन गरेर हामीले निर्यातलाई बढाउनुपर्छ। अन्यथा हामी आयात मात्र गर्ने अवस्थामा पुग्छौँ। हामीले के के चिज निर्यात गर्न सक्छौँ, ती चिजहरुको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले सोच्न पर्छ।

नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा ठूलो कुरा सुशासन हो। सुशासनको पक्षमा सबैले वकालत गर्न जरुरी भएको छ। सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ। नैतिक शक्ति नहुँदा सुशासन दिन सकिँदैन। नैतिक शक्ति जोसँग हुन्छ, त्यो मात्र भ्रष्टचार, विसंगति, बेथितिका विरुद्ध आक्रामक हुन सक्छ। नेपालको दुर्भाग्य नै सुशासन दिनुपर्नेहरु नै कुशासनमा डुबेका हुन्छन्। यसो हुँदा सुशासन नारामा मात्र सीमित हुन्छ। फेरि सत्ता र शक्तिमा यस्तैयस्ताको बहुमत र हाबी हुने गरेको छ। आफूलाई विकृत हुनबाट जोगाएर देशलाई बनाउँछु भन्नेहरु पाखा परेका छन्। नेपालको राजनीतिमा यो सबैभन्दा ठूलो विडम्बना नै हो।

राष्ट्रका समस्यालाई हल गरेर मुलुकलाई अगाडि बढाउनका लागि लोकप्रिय नारा र भावनात्मक कुराहरुका पछाडि लागेर मात्र सम्भव छैन। लोकप्रिय नाराका पछि त हामी सबै लाग्छौ। तर यथार्थमा यो कति व्यावहारिक हुन्छ, यो हामीले सोचेका हुँदैनौ। लोकप्रिय नाराभन्दा व्यावहारिक सोच आवश्यक छ।  

मिडियाले दुृर्घटना पनि गराउँछ। मिडियाले ‘मिसगाइड’ गर्यो भने दुर्घटना गराउँछ। अहिले मिडियाभन्दा पनि सोसल मिडिया बढी शक्तिशाली देखिन्छ। सोसल मिडियाले वास्तविकता एकातिर, मान्छेको दिमाग अर्कैतिर मोडिदिन्छ। मिडिया सचेत नहुँदा ऋतिक रोशन काण्डजस्ता घटना धेरै हुन्छन्। त्यो त एउटा उदाहरण हो। हल्लैहल्लामा यस्ता घटना भएका छन्। हल्लैहल्लाले मुलुक दुर्घटनामा पुग्नबाट जोगाउनका लागि मिडियाको भूमिका ठूलो छ। देश सम्हाल्ने जिम्मा मिडियाको हातमा छ। सूचना दिएर मात्र हुँदैन। आफ्नो मिडियालाई लोकप्रिय बनाउनेभन्दा पनि आफ्नो जिम्मेवारी बहन गरेर मुलुकलाई जोगाउन लाग्नुपर्छ।

अहिले मुलुक कुन अवस्थामा छ? पृथ्वीनारायण शाहले त्यो बेलामा नै नेपाल दुई ढुंगाबीचको तरुल भनेका थिए। अहिले त्यो भन्दा डरलाग्दो अवस्थामा हामी छौँ। भारत र चीन दुई ठूला शक्ति त छन् नै। विश्वका शक्ति राष्ट्रहरुको लडाइँमा कसरी जोगिने भन्ने चुनौती पनि छ। विश्वका शक्ति राष्ट्रहरु केही न केही देखाएर हामीलाई आफ्नो पक्षमा तान्ने पक्षमा देखिन्छन्। उनीहरुले हामीलाई कुनै न कुनै बहानामा प्रयोग गर्ने खतरा छ। यतिबेला हामी कसरी जोगिने भन्ने छ। यो अवस्थामा पनि देशलाई जोगाउन मिडिया सचेत हुनुपर्यो। खबरदारी गर्न पर्यो। 

भरखरै कुलमान घिसिङले एउटा विज्ञप्ति निकाले। उनले भनेका छन्, जलविद्युत आयोजना बनाउँदा नै महङ्गो हुन थाल्यो, हामीले जे बेच्ने हो, त्यही महङ्गो भएपछि हामीले के गर्ने? विद्युत आयोजना निर्माणको लागत नै महङ्गो भएपछि महङ्गोमा कसले किन्ने? तनहँुमा नै हाइड्रो छ। तनहुँका जनतालाई मैले यस्तो आयोजना रोक्नुपर्छ भन्दा आयोजना आउन दिऊँ भने। जग्गा अतिक्रमण लगायतका काम गर्दा पनि सहज बनाउन पर्यो। जग्गाको मूल्य दिँदा वास्तविक मूल्य दिऊँ। हामी राजनीतिक दलले भनौँ, वास्तविक मूल्य लिएर यस्ता आयोजना बनाऔँ। राजनीतिक पार्टीका नेताकार्यकर्ताहरुले पनि यस्ता काममा नागरिकलाई नउचालौँ। यस्ता आयोजना बनेपछि हामीलाई दीर्घकालीन फाइदा हुन्छ। राज्यले पनि अलि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छ। यस्ता आयोजना बनाउदा पनि सुशासन आवश्यक छ। सुशासन भएपछि यस्ता आयोजना सस्तोमा बन्छन्। सुशासनलाई प्रथामिकतामा राख्न सकियो भने मुलुकको आर्थिक समृद्धि प्राप्त हुन्छ। आर्थिक समृद्धिको बाटो समात्यौँ भने मात्र राष्ट्रियता जोगिन्छ।

(सोमबार राजधानीमा सम्पादकहरुसँगको अन्तर्क्रियामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको धारणा)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .